१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

करको असर इन्धनको मूल्यमा

प्रतिलिटर पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढ्यो

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले भन्सार महसुल बढाइएकै कारण इन्धनको मूल्यमा असर नगर्ने दाबी गरे पनि मूल्य बढेको छ । आर्थिक वर्ष ०७७/७८ को बजेटमा पेट्रोल, डिजेल र मट्टीतेलमा लगाइँदै आएको भन्सार शुल्कमा थप १० रुपैयाँ बढाइएको छ ।

करको असर इन्धनको मूल्यमा

पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्कबाट २५ रुपैयाँ २० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँबाट बढाएर १२–१२ रुपैयाँ पुर्‍याइएको छ । उच्च महसुल र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपालमा इन्धनको मूल्य बढेको हो ।

आयल निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र मट्टीतेलमा २ रुपैयाँ बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । सरकारले केही महिनाअघि पूर्वाधार करमा ५ रुपैयाँ थपेर १० बनाएको थियो । पूर्वाधार कर र भन्सार शुल्क वृद्धिले उपभोक्तालाई भार नपर्ने तर तस्करी नियन्त्रण हुने सरकारको दाबी थियो । बजेट भाषणको एक महिना नबित्दै सरकारले इन्धनको मूल्य बढाएको छ । ‘अहिले अन्तर्राष्ट्रिय बजारमा पनि इन्धनको मूल्य बढेको छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘कर बढेकै कारण पनि मूल्य बढाउनुपर्ने बाध्यता भयो ।’

मूल्य समायोजनपछि थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १ रुपैयाँ, डिजेल ८७ रुपैयाँ र मट्टीतेल ८७ रुपैयाँ पर्नेछ । पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर सय रुपैयाँ ५० पैसा, डिजेल ८६ रुपैयाँ ५० पैसा र मट्टीतेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मट्टीतेल ८५ रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ ।

भारतीय आयल निगम (आईओसी) ले १ र १५ तारिखमा मूल्यसूची पठाउने गरेको छ । निगमले सोहीअनुसार मूल्य समायोजन गर्दर्ै आएको छ । यसपटक भने झन्डै १५ दिनपछि समायोजन गरेको छ । आईओसीले १६ जुनमा पठाएको मूल्य ३० जुनमा समायोजन भएको छ । ‘लकडाउन र अनुकूल नभएर समायोजन गर्न ढिलाइ भयो,’ प्रवक्ता उपाध्यायले भने, ‘अन्तर्राष्ट्रिय बजारमा अझै बढ्ने देखिन्छ । आईओसीले पठाएको मूल्यअनुसार समायोजन हुन्छ ।’

आईओसीले बुधबार फेरि नयाँ मूल्य पठाउँदै छ । यो मूल्य भने तत्काल समायोजन नगरिने निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाह बताउँछन् ।

प्रकाशित : असार १७, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?