मोरङमा सलहसँगै ‘वेस्टर्न टेन्ट क्याटरपिलर’को डर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङमा सलहसँगै ‘वेस्टर्न टेन्ट क्याटरपिलर’को डर

जितेन्द्र साह

विराटनगर — सलह समस्याको समाधान नहुँदै खेतबारीमा ‘वेस्टर्न टेन्ट क्याटरपिलर’ नामक नयाँ झुसिलकीराको प्रकोप सुरु भएको छ । मोरङको जहदा गाउँपालिकाको खेतबारीमा यो कीरा देखिएको छ । प्रदेश १ को राजधानी विराटनगरबाट यो गाउँपालिका करिब १३ किमि पूर्वदक्षिणमा पर्छ ।

कर्कलाको पातमा देखिएको ‘वेस्टर्न टेन्ट क्याटरपिलर’ नामक नयाँ झुसिलकीरा । तस्बिर सौजन्य : सौरभसिंह राजपुत

बोटबिरुवामा माकुरोको जालो लगाई बस्ने यो कीरा अहिले विशेषगरी आँपका बोट र कर्कलोमा देखिएको गाउँपालिका कार्यालयका कृषि प्राविधिक सौरभसिंह राजपुतले जानकारी दिए । ‘आँपका बोटमा यसको असर बढी छ,’ उनले भने, ‘आँपको पात गुलियो भएर पनि हुन सक्छ ।’ पूर्वका खेतबारीमा दुई सातादेखि यो कीरा देखापरे पनि स्थानीयले वास्ता नगरेको उनको भनाइ छ ।

गाउँपालिकाको कृषि शाखाको प्राविधिक टोलीले स्थलगत अवलोकन गरेर कीराको पहिचान गरेको जहदाका किसान एवं जेटीए राजेन्द्र साहले बताए । ‘यो कीराले पात खाइरहेको पाएका छौं, फैलिएर अन्य बालीनालीलाई पनि असर पार्ने हुनाले नियन्त्रणमा लागिसकेका छौं,’ राजपुतले भने । झुसिलकीराको यो नयाँ प्रजाति नेपालमा हालै भित्रिएको हुन सक्ने विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका अधिकृत मुकेश यादवको भनाइ छ । यो कीरा क्यानडाको दक्षिण, अमेरिकाको पश्चिम र मेक्सिकोमा पाइने गरिए पनि यहाँ कहाँबाट आयो भन्ने यकिन हुन नसकेको उनले बताए ।

‘यो कीरालाई विषादीले सहजै मार्ने हुनाले चिन्ता गर्नुपर्दैन,’ यादवले भने । यसलाई मार्न क्लोरोपायरिहपोस २० प्रतिशत इसी नामक सम्पर्क विषादी प्रयोग गर्नेबारे किसानलाई जानकारी दिइसकेको उनले जानकारी दिए । ‘यो कीरा आगोले पनि मर्छ तर बोटलाई असर पार्ने हुनाले विषादीकै प्रयोग गरिरहेका छौं,’ प्राविधिक राजपुतले भने ।


अत्यधिक वर्षाले मकै, तरकारी र धान खेत डुबानमा परेर यहाँको किसान मर्कामा छन् । त्यसमाथि यो कीराले पात खाएर आँपको बोटलाई नष्ट गरेको उनले जनाए । एउटा बोटको पात सखाप पारेपछि यो कीराहरु अर्को बोटतिर लाग्ने गरेको राजपुतले बताए । ‘कटहरको बोटमा भने यो कीरा देखिन्न, पात नमिठो भएर होला,’ उनले भने ।

कृषक बहुल जहदाका हरेक घरमा एक/दुई आँपका बोट छन् । कृषि प्राविधिक राजपुतकै दुई बिघा जग्गामा आँपका बोट छन् । यो गाउँपालिकानजिकैको पारी बिहारको सुन्दरी मठमा बर्सेनि फागुनमा लाग्ने धार्मिक मेलामा सस्तोमा आँपका बिरुवा पाइने हुनाले स्थानीयले किनेर ल्याउने गरेका छन् ।

अन्य मुलुकमा मे र जुनमा यो कीरा देखिने गरेको प्राविधिक बताउँछन् । जीउभरि रौं हुने यो कीरा ४/५ सेमि लामो हुन्छ । टाउको नीलोकालो र शरीरको रङ कालो, सुन्तला एवं नीलोको मिश्रण हुन्छ । यो विशेषगरी रातिपख जालोबाट बाहिर निस्केर आहार खान्छ ।

प्रकाशित : असार १७, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिणपूर्वी माेरङमा भाग्यकै भरमा रोपाइँ

जितेन्द्र साह

मोरङ — कोही बिउ उखेल्दै थिए त कोही रोप्दै । कोहीचाहिँ रोपाइँका लागि खेत तयार पार्दै थिए । मुंग उखेलेर खेत जोत्ने तयारी पनि चल्दै थियो । कोहीचाहिँ जलमग्न खेततिर हेर्दै चिन्तित देखिन्थे ।

आइतबार मोरङका दक्षिणीपूर्वी भेगका कृषकबहुल गाउँपालिका कटहरी, जहदा र धनपालथानतिर यस्तै दृश्य थियो ।

यसपालि कोरोनाका कारण भारतमा मजदुरी गएकाहरू पनि घर फर्किएकाले रोपाइँलाई मजदुरको अभाव छैन । स्थानीय सहरबजारका उद्योग–कारखानामा काम गर्नेहरू पनि फुर्सदिला छन् । तर, पनि किसानका दुःख घटेका छैनन् ।

जहदा–४ का किसान जागेश्वर मण्डललाई मल अभावले पिरोलेको छ । यद्यपि यसकै कारण उनी रोपाइँ नगरी बस्ने छैनन् । ‘मल कुरेर बस्यौं भने रोपाइँ गर्नै सकिन्न,’ उनले भने, ‘रोपाइँ सकेपछि मलको बन्दोबस्ती गरेर छरौंला, यो त हरेक वर्षको दुःख हो ।’ मोरङको यो भेगमा जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको हो । मण्डलको अनुमानमा यो क्षेत्रमा २५ प्रतिशतजति रोपाइँ सकिएको छ ।

किसानले दलहन बाली मुंग उखेलेर खेत तयार पार्नुपर्ने भएकाले साउनसम्मै रोपाइँ जारी रहने स्थानीय कृष्ण महतो बताउँछन् । रोपाइँ सकिसकेका उनलाई भने आवश्यकभन्दा बढी वर्षा भएकाले लगाएको बीउ मासिने हो कि भन्ने चिन्ता छ ।

‘खेत जलमग्न भएकाले बीउ मरेको छ कि बाँच्यो, पानीको स्तर घटेपछि थाहा हुन्छ,’ उनले भने ।

यसपालि चाँडैदेखि वर्षा हुँदा रोपाइँका लागि तयार पारेको बीउ गलेकाले फेरि तयार पार्नुपरेको किसानहरूले बताए । ‘मुंग उखेल्न नपाउँदै खेत पूरै डुब्यो, धानको बीउ गल्यो,’ कटहरी–४ का मोहम्मद खलिलले भने, ‘पुनः बीउ छरेका छौं ।’ खेतमा कम्मरसम्म पानी जमेकाले रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्ता पनि रहेको उनले सुनाए ।

खलिलका अनुसार डुबानको कारण अत्यधिक वर्षा मात्र होइन । निर्माणाधीन हुलाकी मार्गको विराटनगर–रंगेली खण्ड ठाउँठाउँमा खनिँदा बाटो ब्लक भएकाले पानी खेत, सडक र बस्तीतिर पसेको छ । ‘ठेकेदारको लापरबाहीले वर्षाअगाडि काम नसकिँदा अहिले यो समस्या आइलाग्यो,’ उनले भने ।

प्रकाशित : असार १५, २०७७ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×