कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजार यसै साता खुल्ने

‘सोमबारदेखि बजार सञ्चालन हुन्छ, कुनै कारणले सोमबार नेप्सेले तयारी सकेन भने मंगलबारदेखि होला’
यज्ञ बञ्जाडे

काठमाडौँ — लकडाउनका कारण चैत ११ देखि बन्द भएको पुँजीबजार यसै साता सञ्चालनमा आउने भएको छ । लकडाउन खुकुलो भए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार अझै सञ्चालन नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार खोल्ने तयारी गरेको हो ।

सेयर बजार यसै साता खुल्ने

‘सोमबारदेखि बजार सञ्चालन हुन्छ, कुनै कारणले नेप्सेले सोमबार तयारी सकेन भने मंगलबारदेखि होला,’ बोर्ड स्रोतले भन्यो, ‘अब लकडाउनअघिकै अवस्थामा बजार सञ्चालन हुन्छ ।’

बजार सञ्चालनका लागि वस्तुस्थिति बुझ्न भन्दै बोर्डले गत साता गठन गरेको समितिले शनिबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको सुझावका आधारमा बजार सञ्चालन गर्ने तयारी भएको सेबोनका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । ‘आइतबार सञ्चालक समितिको बैठक बस्दै छ,’ उनले भने, ‘समितिको निर्णयअनुसार बजार सञ्चालन गर्न नेप्सेलाई निर्देशन दिन्छौं ।’ सम्भव भएसम्म छिटो बजार खोल्ने आफूहरूको योजना रहेको उनले बताए । नेप्सेले कारोबार सिस्टममा केही परिमार्जन गर्नुपर्ने हुन सक्छ । त्यो काम सकिएलगत्तै बजार सञ्चालनमा आउने उनको भनाइ छ ।

सेबोनले लगानीकर्ताबाट बजार सञ्चालनमा अवरोध नगर्ने विषयमा लिखित प्रतिबद्धता प्राप्त भएको पनि अध्यक्ष ढुंगानाले बताए । ‘अब कुनै पनि अवस्थामा बजार बन्द नगर्ने भन्ने विषयमा लगानीकर्ताले लिखित प्रतिबद्धता दिएका छन्,’ उनले भने, ‘बजार केही तलमाथि हुँदा पनि आन्दोलन गर्ने प्रवृत्ति अब रोकिने छ ।’ अब सामान्य अवस्थामा दैनिक ५ घण्टा (११ बजे देखि ४ बजेसम्म) बजार सञ्चालन हुने ढुंगानाले जानकारी दिए ।

उता नेप्सेले बोर्डले निर्देशन दिएको लगत्तै बजार सञ्चालन गर्न सकिने बताएको छ । ‘लकडाउनअघिकै सामान्य अवस्था (समय र सर्किट ब्रेक) मा बजार खोल्ने हो भने कुनै समस्या हुँदैन,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘सर्किट ब्रेक र समय परिवर्तन गर्नुपर्ने अवस्थामा २/४ घण्टा लाग्न सक्छ ।’ कारोबार प्रणालीसहित आफूहरू तयारी अवस्थामा रहेकाले सेबोनको निर्देशन आउनासाथ बजार खोलिने उनले बताए ।

लामो समय बजार बन्द रहँदा नियामक निकाय धितोपत्र बोर्ड र अग्रणी नियामक निकाय नेप्सेले चर्को आलोचना खेप्नुपरेको थियो । बजार घट्ने डरले बन्द गरियो भन्ने आरोप उनीहरूलाई लागेको थियो । यद्यपि यसबीचमा केही नीतिगत काम पनि भएका छन् । राष्ट्र बैंकले सेयर कारोबारमा अनलाइन माध्यम (मोबाइल र इन्टरनेट) बाट भुक्तानी गर्दा विद्यमान कारोबार सीमा नलाग्ने व्यवस्था गरेको छ । अब सेयर लगानीकर्ताले प्रतिपटक मोबाइल बैंकिङमा १ लाख र इन्टरनेट बैंकिङमा १० लाख रुपैयाँ बराबर कारोबार गर्न सक्छन् । यसअघिको मासिक १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न नपाउने सीमा सेयर लगानीकर्ताका लागि हटाइएको छ ।

लगानीकर्ताले तिर्दै आएको ५ प्रतिशत पुँजीगत लाभकर टीडीएस नभई अन्तिम कर भएको आन्तरिक राजस्व विभागले प्रस्ट्याएको छ । यसअघि लगानीकर्ता यो कर अन्तिम हो वा टीडीएस हो भन्नेमा अन्योल थियो । लकडाउनका कारण चैत ११ देखि बन्द भएको बजार ५१ दिनपछि गत वैशाख ३० र ३१ मा सञ्चालन गरिएको थियो । सरकारले उत्पादनमूलक उद्योग व्यवसायलाई सञ्चालन गर्न दिने भएपछि धितोपत्र बोर्डले पनि कारोबार अवधि घटाएर दैनिक २ घण्टा बजार खोलिएको थियो । दुवै दिन बजार घटेपछि कोरोनाको सन्त्रास देखाउँदै पुन: बन्द गरिएको थियो । संक्रमणकालीन अवस्था भन्दै त्यति बेला साविकको कारोबार अवधि घटाएर दैनिक २ घण्टा (११ देखि १ सम्म) बजार चलेको थियो । सामान्य अवस्थामा दैनिक ५ घण्टा (११ देखि ४ बजेसम्म) सञ्चालन हुने गथ्र्याे ।

वैशाखसम्म नेप्सेमा २ सय १२ कम्पनी सूचीकृत छन् । तीमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका छन् । ०७६ असारमा सूचीकृत कम्पनी संख्या २ सय १५ थियो ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८०.३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ५.८, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७, होटलको हिस्सा १.५, व्यापारिक संस्थाको हिस्सा ०.३ तथा अन्य समूहका कम्पनीको हिस्सा ८.५ प्रतिशत छ । ०७६ वैशाखसम्म सूचीकृत संस्था ४ अर्ब ७० करोड कित्ता रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : असार १४, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?