कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानी नखुल्दा क्लिंकर आयात बढ्दै

सिमेन्ट उत्पादनलाई आवश्यक क्लिंकर पहाडका खानीहरूबाट ढुवानी गर्न नसक्दा समस्या
माधव ढुंगाना

भैरहवा — चुनढुंगा खानी सञ्चालन र ढुवानीमा सरकारी सहजीकरण नहँुदा सिमेन्टको कच्चा पदार्थ क्लिंकरमा आत्मनिर्भर बनिसकेको नेपालले फेरि आयात सुरु गर्नुपरेको छ । परनिर्भरतासँगै सिमेन्ट महँगो हुने भए पनि यसको असर लगानीकर्तादेखि उपभोक्तासम्मलाई पर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै उद्योग सञ्चालनमा आएका छन् ।

खानी नखुल्दा क्लिंकर आयात बढ्दै

मागअनुसार स्वदेशमै क्लिंकर उत्पादन नभएपछि व्यवसायीले भारतबाट आयात सुरु गरिसकेका छन् । आयातित क्लिंकरबाट उत्पादित सिमेन्टको मूल्यमा प्रतिबोरा एक सय रुपैयाँ वृद्धि भइसकेको छ । यसबाट लकडाउनका कारण आर्थिक रूपमा थलिएका सर्वसाधारण तथा निर्माण क्षेत्र थप मारमा परेका छन् ।

ठूला सिमन्ट उद्योगले पहाडमा खानी सञ्चालन गरी क्लिंकर उत्पादन गर्थे । विगतका वर्षमा कात्तिकदेखि वर्षा लाग्नुअगावै जेठसम्ममा आवश्यक परिमाणको चुनढुंगा उद्योग परिसरमा संकलित हुने गथ्र्यो । वर्षा सुरु भएपछि खानीसम्म जाने सडक पहिरोले अवरुद्ध हुने भएकाले खानी सञ्चालन र ढुवानी हुन सक्दैन । यो समस्या देखाउँदै उद्योगीहरूले लकडाउनका बेलासमेत ढुवानी प्रबन्ध मिलाइदिन अनुरोध गरे । सरकारले सुनेन । सुरक्षा प्रक्रिया अपनाएर खानी सञ्चालन र चुनढुंगाको ढुवानी गर्न व्यवसायीले बारम्बार माग गर्दा पनि सरकार र प्रशासनिक निकायबाट अनुमति पाएनन् ।

अब वर्षा लागिसकेकाले खानीबाट उद्योगसम्म क्लिंकर ढुवानी गर्न झन् सम्भव छैन । यसकारण भारतबाट क्लिंकर आयात गर्नुपरेको उद्योगहरूको भनाइ छ । ‘सरकारले खानी सञ्चालन र ढुवानीका लागि कम्तीमा एक महिनाअघि अनुमति दिएको भए पनि क्लिंकर आयात गर्नुपर्ने अवस्था आउने थिएन,’ बृज सिमेन्ट उद्योगका सञ्चालक गौरव अग्रवालले भने । नेपालमा मेचीदेखि महाकालीसम्मका सिमेन्ट उद्योगबाट क्लिंकरको उच्च माग छ । लकडाउन खुकुलो भएसँगै निर्माण क्षेत्रले तीव्रता लिएको छ । त्यसका लागि आवश्यक सिमेन्टको माग उच्च रहेको र नेपालबाट आयातका लागि माग बढ्न थालेपछि भारतीय क्लिंकर व्यवसायीले समेत मूल्य बढाएका छन् ।

सञ्चालनमा रहेका ६१ सिमेन्ट उद्योगमध्ये १४ वटाले ठूला उद्योग रोटरी प्रविधिबाट आफ्नै खानी सञ्चालन गरी क्लिंकर उत्पादन गर्छन् । यी उद्योगले आफू र अन्य उद्योगलाई समेत बिक्री गर्ने गरी क्लिंकर उत्पादन गर्दै आएका छन् । भीएसके प्रणाली (आफूलाई मात्र पुग्ने गरी सानो परिमाणमा क्लिंकर उत्पादन गर्ने) उद्योग सात र बाँकी ग्रान्डिङ प्रविधि (तयारी क्लिंकर पेल्ने)मा आधारित छन् ।

प्रदेश ५ मा ३० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये पश्चिम नवलपरासीमा तीन, रूपन्देहीमा ११, कपिलवस्तुमा १०, दाङमा तीन, बाँकेमा दुई र रोल्पामा एक उद्योग सञ्चालननमा छन् । अर्घाखाँची, सर्वोत्तम, शुभअग्नि, घोराही, सोनापुर र पाल्पा सिमेन्ट उद्योग रोटरी प्रविधिबाट क्लिंकर उत्पादन गर्छन् । गत असोजदेखि नै भारतबाट हुने क्लिंकर आयात बन्द भई नेपाल आत्मनिर्भर बनिसकेको अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव कार्कीको दाबी छे । अपवादका रूपमा कसैले सामान्य रूपमा क्लिंकर आयात गरेको भए पनि नेपाल आत्मनिर्भर बनिसकेको र लगभग सिमेन्ट नै विदेश निर्यातको तयारीमा रहेका बेला सरकारी स्तरबाट उपयुक्त निर्णय नगरिनुले क्लिंकरमै परनिर्भर हुनुपर्ने अवस्था आएको उनले बताए ।

एक वर्षको अवधिमा १५ अर्ब ७५ करोड रुपैयाँ मूल्य बराबरको आयातलाई नेपाली क्लिंकरले प्रतिस्थापन गरेको थियो । ‘चुन ढुंगाबाट कोरोना आउँदैन भन्दै सुरक्षाका उपाय अवलम्बन गरेर खानी सञ्चालन गर्ने अनुमति लिन धेरै पहल गर्‍यौं,’ कार्कीले भने, ‘प्रदेशदेखि केन्द्र र सबै जिल्लाका प्रशासनिक निकायमा बारम्बार धाउँदा पनि कतैबाट पनि सुनुवाइ भएन ।’

भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार आव ०७५/७६ मा यस नाकाबाट २ अर्ब ३२ करोड रुपैयाँको २ लाख ९७ हजार ८ सय ३ मेट्रिक टन क्लिंकर भारतबाट आयात भइरहेकामा गत असोज महिनादेखि आयात बन्द थियो । लकडाउनयता २१ करोड ७४ करोड रुपैयाँको २४ हजार ९ सय ४ मेट्रिक टन क्लिंकर आयात भइसकेको छ । नेपालमा क्लिंकर उत्पादन सुरु भएदेखि नै भैरहवा नाकाबाट यसको आयात हुने क्रम बर्सेनि घट्दै गएको थियो ।

कपिलवस्तुमा रहेका सिमेन्ट उद्योगलाई कृष्णनगर नाकाबाट क्लिंकरको आयात भइरहेको छ । कृष्णनगर नाकाबाट एक वर्षअघिदेखि आयात रोकिएको क्लिंकर नेपालमा आन्तरिक उत्पादनले अपुग हुने थालेपछि आयात हुुन थालेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता वासु नेपालले बताए । वैशाख १ देखि असार ९ सम्म २५ हजार १ सय ७ मेट्रिक टन क्लिंकर आयात भएको छ । ‘आत्मनिर्भर भइसकेको अवस्थामा क्लिंकरका लागि स्वदेशी पुँजी बिदेसिने यो क्रम सरकारी अदूरदर्शी नीतिले गर्दा भएको हो,’ अर्घाखाँची सिमेन्टका महाप्रबन्धक कार्कीले प्रतिप्रश्न गरे, ‘भारतबाट कोइला र क्लिंकर आयात हुँदा कोरोना नआउने, स्वदेशी व्यवसायीले सुरक्षा अपनाएर आफ्नो खानीबाट ढुंगा निकालेर ढुवानी गर्दा कोरोना आउने हुन्छ र ?’

प्रकाशित : असार १३, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?