कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किस्ता बुझ्न ताकेता गर्दै प्राधिकरण

४६ हजारले गरेनन् अनुदान सम्झौता
साउन मसान्तसम्म पहिलो, मंसिर मसान्तसम्म दोस्रो र चैत मसान्तसम्म तेसो किस्ता लिइसक्नुपर्ने
विमल खतिवडा

काठमाडौँ — भूकम्प गएको पाँच वर्ष पुगे पनि अझै निजी आवास निर्माणका लागि अनुदान सम्झौता सकिएको छैन । गुनासो सम्बोधनसहित अहिलेसम्म लाभग्राहीको संख्या ८ लाख ३२ हजार ४ सय ८ छ । यसमा ७ लाख ८५ हजार ६ सय ७३ ले मात्र अनुदान सम्झौता गरेका छन् । ६ हजार ७ सय ३५ जनाले अहिलेसम्म अनुदान सम्झौता गरेका छैनन् । त्यसमा १५ हजार गुनासो सम्बोधनपछि थप भएको लाभग्राही संख्या हो ।

किस्ता बुझ्न ताकेता गर्दै प्राधिकरण

‘केही गुनासोबाट थपिएका र केही पुरानै संख्या हो,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘जसले अहिलेसम्म अनुदान सम्झौता गरेका छैनन् ।’ उनका अनुसार गुनासो सम्बोधनबाट थपिएकाले मात्र अनुदान सम्झौता गर्न पाउनेछन् । ‘विविध कारणले कसैको जग्गा, घरायसी समस्या, झैझगडा र कोही विदेशतिर गएकाले अनुदान सम्झौता नगरेका हुन सक्छन्,’ उनले भने, ‘यस्तो समस्या भएकालाई सम्बन्धित स्थानीय तहले सिफारिस गरेर पठाए मात्र पुनर्विचार गर्न सकिन्छ ।’

प्राधिकरणका अनुसार अहिलेसम्म ७ लाख ७९ हजार ४ सय ५५ जनाले पहिलो किस्ता, ६ लाख ६५ हजार ४ सय ४५ जनाले दोस्रो र ५ लाख ८४ हजार ३ सय १९ जनाले तेस्रो किस्ता सम्झौता गरिसकेका छन् । अहिलेसम्म अनुदान सम्झौता नगर्नेलाई लिस्टबाट हटाउन भन्दै विभिन्न जिल्लाबाट सिफारिस आउन थालेको छ ।

‘लकडाउनअघि पहिलो, दोस्रो र तेस्रो किस्ता लिने समय सीमा तोके पनि यसमा पुनर्विचार हुँदै छ,’ उनले भने, ‘तर छिटो सम्झौता भए राम्रो हुने भन्ने थियो, अहिले बजेटको समस्या छैन, त्यसैले हाम्रो अनुरोध, सम्झौता नगर्नुभएकाले अब गर्नुस् ।’ गाउँ र जिल्ला सबैतिर रकम सम्झौता चाँडो गर्न भनेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । यसमा समयावधिसहितको नयाँ कार्यतालिका किटान गरिएको छ । गैरलाभग्राही फाइनल गर्ने, अनुदान सम्झौता गर्ने कुरालाई टुंगो लगाउने र असार मसान्तसम्म सामान्य सम्झौता सम्पन्न गरिसक्नुपर्नेछ ।

साउन मसान्तसम्म पहिलो, मंसिर मसान्तसम्म दोस्रो र चैत मसान्तसम्म तेस्रो किस्ता लिएर निजी आवास निर्माणको काम सक्ने गरी ढाँचा बनाइरहेको उनले जानकारी दिए । ‘अब निर्देशक समिति, कार्यकारी समितिलगायत विभिन्न तहको छलफलपछि निर्णय हुन्छ,’ उनले भने ।

प्रकाशित : असार १०, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?