कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पुँजीबजार राज्यको प्राथमिकतामा परेन’

काठमाडौँ — पुँजीबजार राज्यको प्राथमिकतामा नपरेकाले अपेक्षित रूपमा विकास हुन नसकेको विज्ञहरूले बताएका छन् । छरिएर रहेको रकम पुँजीबजारमार्फत संकलन गरी राष्ट्रिय हितमा उपयोग गर्न सकिन्छ भन्ने विषय राज्यले नबुझेकै कारण स्थापनाको साढे दुई दशकसम्म पनि प्रारम्भिक (शिशु) अवस्थामै रहेको उनीहरूको भनाइ छ ।

‘पुँजीबजार राज्यको प्राथमिकतामा परेन’

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावकारी रूपमा काम नगरेर जेमा पनि मौद्रिक नीतिको मुख ताक्न थालेकाले समस्या भएको राष्ट्र बैंकका पूर्वनिर्देशक एवं सेयरविज्ञ गोपाल भट्टले बताए । ‘धितोपत्र बोर्ड आफैंले बजारको विकासका लागि आवश्यक उपकरण, लगानीकर्ताको सुरक्षा, तरलता व्यवस्थापनलगायत विषयमा काम गर्नुपर्छ,’ उनले भने ।

नेपालमा कर्जा दिने, पुँजीबजारको वित्तीय उपकरण जारी गर्ने, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक चलाउनेलगायत काम बैंक तथा वित्तीय संस्थाको भएकाले समस्या आएको उनले बताए । ‘सेयर ब्रोकरलगायत पुँजीबजारको सबै काम बैंकलाई जिम्मा दिन थालियो,’ उनले भने, ‘नीति बनाउने र कार्यान्वयन गर्ने निकाय एउटै हुनु राम्रो भएन ।’ बजारमा अन्य निजी क्षेत्र पनि रहेकाले बजार विकासमा उनीहरूलाई पनि भूमिका दिनुपर्ने भट्टको भनाइ छ । पुँजीबजारमा इक्विटी मात्र कारोबार हुँदै आएकाले अब दोस्रो बजारमा ऋणपत्रको कारोबारलाई व्यवस्थित बनाउनुपर्ने उनले सुझाए ।

राज्यको प्राथमिकतामा नपरेकै कारण बजारको अवस्था कमजोर रहेको धितोपत्र बोर्डका पूर्वअध्यक्ष सुरवीर पौड्यालले बताए । ‘बजारलाई राष्ट्र बैंक, सरकारले कम प्राथमिकतामा मात्र राखेनन्, यसलाई जुवाघर, सट्टेबाजी बजारकै रूपमा हेरियो,’ उनले भने, ‘पुँजीबजारबाट संकलित पुँजी राष्ट्रको हितमा लगाउन सकिन्छ भनेर सोहीअनुसार प्राथमिकता दिइएन ।’

अब वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा भित्र्याउन ढिलाइ भइसकेको उनले बताए । सूचीकृत हुन आउनेलाई कर्जामा सहुलियत दिने नीति आवश्यक रहेको र यो भएको खण्डमा बजारको विकासमा सघाउ पुग्ने उनको भनाइ छ । राष्ट्र बैंक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको प्रभाव बजारमा पर्ने उनको दाबी छ ।

सरकारले लकडाउन खुकुलो बनाइसक्दा पनि पुँजीबजार सञ्चालन हुन नसक्दा विश्व बजारमा राम्रो सन्देश नगएको सेयर विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले बताए । ‘अर्थतन्त्रका सबै क्षेत्र सञ्चालनमा आइसक्दा पनि पुँजीबजार बन्द छ,’ उनले भने, ‘यस्तै हो भने अब लामो समय बन्द हुने बजार भनेर चिनिने सम्भावना छ ।’ सेयर बजारले पुँजी निर्माण र तरलता सिर्जना गर्नुपर्ने भए पनि नेपालमा त्यस्तो हुन नसकेकाले राज्यको प्राथमिकतामा नपरेको उनको भनाइ छ । ‘नेपालको पुँजीबजारबाट लिक्विडिटी भन्ने चिज नै हराउने अवस्थामा पुगेको छ,’ उनले भने ।

नियामक निकायको कमजोरीका कारण लामो समयसम्म पनि बजार बन्द हुन पुगेको उनको आरोप छ । बजार सञ्चालनका लागि केही लगानीकर्ताले लबिइङ गरिरहेको स्मरण गर्दै उनले भने, ‘सरकार, धितोपत्र बोर्ड, नेप्सेलगायतका नियमनकारी निकायबाट नभई पुँजीबजार खोल्ने वा बन्द गर्ने निर्णय केही सीमित लगानीकर्ताको पहुँचमा पुग्नु बजारको सबैभन्दा कमजोर र दु:खद पक्ष हो ।’ पछिल्ला दिनमा सेयर बजार स्वार्थ समूहको कब्जामा पुगेको उनको आरोप छ ।

स्थापनाको साढे २ दशकसम्म पनि बजारमा इक्विटीबाहेक अरू औजार बोन्ड मार्केट, डेरिभेटिभ्स दिन नसकिएको, रियल सेक्टरका कम्पनी भित्र्याउन आवश्यक पहल नभएको उनले बताए । बजारलाई व्यवस्थित र विश्वसनीय नबनाउँदासम्म गैरआवासीय नेपाली भित्र्याउन नसकिने उनको भनाइ छ । ‘यही बस्ने लगानीकर्ताले सहज रूपमा लगानी गर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्ता भित्र्याउँछु भन्ने विषय कोरा कल्पना मात्र हो,’ उनले भने ।

आगामी मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनुपर्ने, मार्जिन कलमा सहुलियत दिनुपर्नेलगायत विषय समेट्नुपर्ने स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सुझाए । सेयर धितोमा गएको कर्जाको ब्याज तिर्ने समय थप गर्नुपर्ने पनि उनको भनाइ छ । ‘लामो समयदेखि बन्द छ, यो अवस्था अब लम्ब्याउनुहुँदैन, कुनै पनि हालतमा अब बजार सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आवश्यक सहयोग गर्न ब्रोकर तयार छौं ।’ धितोपत्र बोर्ड र बिमा समितिलगायत नियमनकारी निकाय राष्ट्र बैंकमा नै निर्भर भएकाले बजार सञ्चालन हुन नसकेको उनले बताए ।

विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमालाई हटाउनसमेत उनले सुझाएका छन् । अध्यक्ष रानाभाटले अहिले मार्जिन ल्यान्डिङको सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । दोस्रो बजारमा पनि ऋणपत्रको सहज रूपमा कारोबार गर्ने व्यवस्था मिलाउन, गैरआवासीय नेपालीलाई पनि दोस्रो बजारमा कारोबार गर्न उपयुक्त वातावरण बनाउन पनि उनले सुझाए ।

प्रकाशित : असार ८, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?