२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

बस गुड्दैनन्, बैंकले पैसा छोड्दैनन्

‘थन्काउँदा थन्काउँदा बस बिग्रँदै गएका छन् । बस नचल्दाको ब्याज र किस्ता कसरी बुझाउने भन्ने एकोहोरो चिन्ता यसैको छ ।’
अमृता अनमोल

बुटवल — बुटवलकी रचना पन्थका सानाठूला ११ वटा बस छन् । सबैजसो बस बैंक ऋणमा छन् । लकडाउनअघि बसको कमाइ जम्मा गरेर मासिक करिब ७ लाख ब्याज र किस्ता बुझाउँथिन् । लकडाउनसँगै उनका सबै बस बसपार्क परिसरमा थन्किएका छन् ।

बस गुड्दैनन्, बैंकले पैसा छोड्दैनन्

बैंकको ब्याज र किस्ता भने घटेको छैन । ब्याज र किस्ता बुझाउन ताकेता गरिरहेको छ । सुको आम्दानी नभएका बेला कसरी बुझाउने उनी विलखबन्दमा छन् । ‘थन्काउँदा थन्काउँदा बसहरू बिग्रँदै गएका छन् । तर, कहिलेबाट कसरी चल्ने हुन्, थाहा छैन,’ रचनाले गुनासो गरिन्, ‘बस नचल्दाको ब्याज र किस्ता कसरी बुझाउने भन्ने एकोहोरो चिन्ता यसैको छ ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार देशभरमा बस र जिप गरी २ लाख ५० हजार सार्वजनिक सवारी साधन छन् । लकडाउनसँगै ठप्प भएका देशभरका सार्वजनिक सवारीका साधन अझै चलेका छैनन् । अब कहिले कसरी चल्ने हुन्, टुंगो छैन । तर, ऋण लिएर सवारी चलाएका व्यवसायीहरू बैंकको ब्याज र किस्ता कसरी बुझाउने, नवीकरण इन्स्योरेन्सलगायत लामो समयदेखि थन्किएका सवारीसाधनको मर्मत खर्च कसरी जुटाउने भन्ने पिरलोमा छन् ।

यातायात क्षेत्रका धेरै व्यक्तिले सवारीसाधन खरिद गर्दा बैंकको ऋणमा लिने र आफैं चलाएर स्वरोजगार बन्ने प्रकृतिका छन् । मध्यम र मजदुर वर्गको वर्चस्व रहेको यो क्षेत्र कोरोना भाइरसको महामारी र लकडाउनका कारण सबैभन्दा बढी मारमा परेको छ । तर, सरकारले सार्वजनिक सवारीसाधनका लागि कुनै सहयोग र राहतका कार्यक्रम ल्याएको छैन । यस्तोमा बन्दको मार खेपेर व्यवसायमा पुन: कसरी फर्कने भन्ने अन्योलमा छन् उनीहरू । यस्तै अवस्था रहे धेरै जना व्यवसायबाटै पलायन हुने अवस्था आउने व्यवसायीको गुनासो छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका वरिष्ठ उपाध्यक्ष जीवनकुमार बन्जाडेले लकडाउनले सबैभन्दा धेरै प्रभावित भएको सार्वजनिक यातायात क्षेत्रलाई सरकारले नहेरेको गुनासो गरे । ‘आगामी वर्षको बजेटमा उद्योग, पर्यटन, होटल, व्यवसायसम्ममा छुट र राहतका कार्यक्रम ल्याइए,’ उनले भने, ‘तर, कोरोना महामारी सुरु भएसँगै ठप्प रोकिएको सार्वजनिक सवारीसाधनका लागि कुनै कुरा आएन ।’ लकडाउनपछि के हुने र व्यवसायलाई धराशायी हुनबाट कसरी बचाउने भन्ने सरकारबाट आधिकारिक धारणा नआउँदा व्यवसायी पिरोलिएका छन् ।

उद्योग व्यवसायमा ब्याज छुटका कुरा ल्याउँदा यातायातलाई नछोएको उनले बताए । यही कारण बैंकहरूले ब्याजदर बढाउने र भुक्तानीलाई ताकेता गर्ने गरेको उनले दु:खेसो पोखे । ‘तीन तहकै सरकारले सार्वजनिक सवारीका क्षेत्रमा बेवास्ता गरे,’ वरिष्ठ उपाध्यक्ष बन्जाडेले भने, ‘उपाय नलागेकाले देशभरका सार्वजनिक सवारीसाधनका व्यवसायीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत आफ्ना गुनासा सरकारसित लैजाने तयारीमा छौं ।’

प्रकाशित : जेष्ठ ३२, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?