कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार सहयोगी भनिने समूहबाटै आयातमा अवरोध

माधव ढुंगाना

भैरहवा — भन्सार सहयोगी भनिने बिचौलियाको समूहले नेपाल आयातमा पुन: अवरोध गरेका छन् । भारतबाट सहज रुपमा नेपाल छिरी भैरहवा भन्सार परिसरमा काम गर्न पाउनु पर्ने माग राख्दै उनीहरुले शुक्रबार आयात अवरुद्ध पारेका हुन् । ती समूहले गत मंगलबार सिमावर्ती भारतको सुनौलीमा रहेर नेपालका लागि हुने मालवाहक गाडीसहितको सबै आयातमा अवरोध गरेका थिए । 

भन्सार सहयोगी भनिने समूहबाटै आयातमा अवरोध

लकडाउनका बेलामा पनि भारतबाट दैनिक भन्सार कार्यालय परिसरमा आउने र भारत फर्किने गर्दा कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै बेलहियाका स्थानीयले उनीहरुको आगमनलाई रोक्नु पर्ने माग सुरक्षा निकायमा राखेका थिए । त्यसपछि उनीहरु खुलेआम नेपाल आउन पाएका थिएनन् । उनीहरु नेपाल आउने ट्रकमा खलासी बनेर सीमा पार गर्ने र साँझ ट्रकबाटै फर्किने गर्थे ।

भारतमा लकडाउन खुकुलो भएपछि नेपाल आउने मालवाहक गाडीको चाप बढेसँगै उनीहरु नेपाल आउन चाहन्छन् । यो समूह भैरहवा र भारत सुनौली भन्सारका लागि भन्सार जाँच पास गराउने अधिकार प्राप्त व्यक्ति भने होइनन् । उनीहरुले आयात निर्यातकर्ता खोज्ने, ढुवानीका लागि गाडी खोज्ने, दुवैतर्फका भन्सारमा जाँचपासका लागि सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्ने र अन्तिममा आधिकारिक भन्सार एजेन्टको सही गराएर भन्सार जाँचपास गराउने काम गर्छन् । यो प्रक्रिया दुवैतर्फका भन्सारमा र एजेन्टमा हुने गरेको थियो ।

जाँचपास गर्दा भन्सार प्रज्ञापनपत्रमा दस्तखत गरेबापत एजेन्टले उनीहरुबाट निश्चित रकम पाउने गर्छन् । ‘फेरि आज बिहानैदेखि उनीहरुले सुनौली भन्सारमा जाँचपास नगराउनाले नेपालका लागि आयात भएका सामान भारतको भन्सारबाट पास नभएकाले नेपाल आएको छैन’ भैरहवा भन्सार प्रमुख कमलकुमार भट्टराईले भने, ‘नेपालको भन्सार एजेन्टले प्रमाणित गरेको व्यक्तिलाई यहाँ आएर काम गर्नमा कुनै समस्या छैन ।’

यसरी नै अवरोध गर्दै आफ्नो माग पूरा गराउन मंगलबार भैरहवा भन्सार प्रमुखसमक्ष डेलिगेसन आएका थिए । भैरहवा भन्सार प्रमुख भट्टराईले यसका लागि नेपालका भन्सार क्लियरिङ एजेन्टले कुन व्यक्ति आफ्नो कर्मचारी तथा सहयोगी हो ? भन्ने बारेमा आधिकारिक परिचयपत्र जारी गरिनु पर्ने त्यसको आधारमा भन्सार परिसरमा काम गर्न पाइने जवाफ दिएपछि उनीहरु फर्केका थिए । फर्केको केही वेरपछि सुनौलीबाट आयात सुचारु हुन थालेको थियो ।

भन्सारमा धेरैजना आउन थालेपछि उनीहरुको परिचयपत्र छानबिन गरिएको थियो । त्यसक्रममा २५ वटा गलत भेटिएको भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष अशिम न्यौपानेले बताए । उनीहरुलाई कुनै अवरोध नभएको तर नयाँ परिचयपत्र नबन्दासम्म पुरानोकै आधारमा बिनाकाम नेपाल छिरेर घुमडुल गर्दा जोखिम बढेको उनले बताए । उनीहरुले सुरुमा अवरोध गरेपछि संघले नेपाली नागरिकताको आधारमा मात्र आवश्यक पर्ने नेपाली एजेन्टले कर्मचारी राखेर परिचयपत्र दिने निर्णय गरेको छ । हाल यस नाकाबाट दैनिक साढे २ सयभन्दा धेरै मालवाहक गाडी नेपाल भित्रिन थालेका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?