तातोपानी नाका पुनः सञ्‍चालनको एक वर्ष : तिब्बत उत्साहित, नेपाल चुपचाप

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल-चीन तातोपानी नाका पुनः खुल्लाको प्रथम वार्षिकोत्सवमा तिब्बतले वार्षिक आयात निर्यात सन्तोषजनक रहेको समीक्षा गरेको छ । नेपालमा २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले बन्द भएको ४ वर्षपछि तातोपानी नाका गत वर्ष मे २९ तारिखका दिन पुनः खुल्ला गरिएको थियो ।

एक वर्षको अवधिमा तातोपानी माल ढुवानी च्यानलबाट प्राप्त उपलब्धिलाई तिब्बतले उत्साहका साथ मूल्यांकन गरेको छ भने नेपालतर्फ वर्षगाँठको कुनै सम्झना गरिएको छैन। वर्षगाँठको अवसरमा ल्हासास्थित न्यालम भन्सारका अधिकारीले आयात निर्यातको मात्रा चिनियाँ मुद्रा ५७३ मिलियन युआन पुगेको सार्वजनिक गरेका छन्।

भूकम्पका कारण बन्द भएको रणनीतिक महत्वको तातोपानी नाका खुलाउन नेपालले तत्कालीन उच्चस्तरीय भ्रमणका दौरानमा पनि निकै ताकेता गरेको थियो। अन्ततः माल ढुवानीका लागि मात्रै भनेर गत वर्ष जेठ १५ मा नाका खुला गरिँदा चीनबाट ४ वटा ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गरेका थिए। त्यसबीचमा तिब्बतबाट अधिक मालसामान नेपालतर्फ ढुवानी भएकाले तिब्बतका लागि फलिफापको नाका बनेको छ।

हाल कोरोना महामारीका कारण तातोपानी नाका पूर्ववत् सक्रिय नभए पनि गत मे ३१ सम्ममा १०० मिलियन युआन बराबरको कोरोना रोकथाम तथा नियन्त्रणका सामग्री नेपाल पठाएको तिब्बतको भनाइ छ। ल्हासा भन्सारले भनेको छ, ‘महामारीका कारण हवाई मार्ग बन्द भएकाले तिब्बतको तातोपानी नाका हुँदै हालसम्ममा ८.३ मिलियन पिस कोभिड-१९ रोकथामका सामग्री नेपाल निर्यात भएको छ।’

कोरोना भाइरसको फैलावट रोक्नका लागि तिब्बतले गत मार्चको २४ तारिखदेखि अन्तर्राष्ट्रिय उडानहरू ठप्प पारेको छ। हवाई उडान रोकिएपछि तिब्बतको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक गतिविधि स्थलमार्गबाट चलेको हो। तिब्बतसँग नेपालको केरूङ र तातोपानी नाकाबाट व्यापारिक कारोबार हुने गर्दछ । कोरोना महामारीका कारण ती नाकाहरूमा निर्वाध व्यापार हुन सकिरहेको छैन।

ल्हासास्थित भन्सार कार्यालयका तिब्बती अधिकारीहरूले तातोपानी नाकालाई महामारीका अवधिमा निकै महत्वका साथ ढुवानी च्यानलको रूपमा प्रयोग गरिएको बताए। उनीहरूले भने, ‘हप्तादिने र चौबीस घण्टे ग्रीन च्यानलका रूपमा तातोपानीलाई प्रयोगमा ल्याउन महामारी रोकथामका मापदण्ड लागू गरिएको छ।’

सामान लोड अनलोडका क्रममा ‘जिरो कन्ट्याक्ट’को अवधारणाका साथ दुवै तर्फबाट होसियारी अपनाइएको तिब्बती अधिकारीहरूको दाबी छ। चीनले निर्धारण गरेको मापदण्ड नुसारका सामग्री मात्रै निर्यात गर्ने कुरालाई तिब्बतले कडाइका साथ पालना गरिरहेको छ।

महामारीपछिका दिनहरूमा ल्हासाले तातोपानी नाकाको पुनः खुलापनलाई गति दिन सुपरीवेक्षण तह तथा सेवास्तरमा सुधार गर्ने बताएको छ। तिब्बतले नेपालसँगको आर्थिक तथा व्यापारिक विकासलाई प्रवर्द्धन गर्न यस नाकाको सुदृढीकरणमा गहिरो नजर पुर्‍याएको उनीहरूले बताएका छन्।

प्रकाशित : जेष्ठ २३, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

ठमेलमा निस्किन थाले रिक्सा

लकडाउनकै बीच यात्रुको खोजीमा निस्किएका रिक्सा चालक भन्छन्, ‘हातमुख जोर्नै मुस्किल भएपछि बाध्य भइयो ।’
अब्दुल्लाह मियाँ

काठमाडौँ — मध्यरातसम्मै मान्छेको चहलपहल हुने ठमेल करिब ७५ दिनदेखि सुनसान छ । लकडाउनअघि नै यहाँका सबैजसो व्यवसाय लगभग बन्द भइसकेका थिए । 

हातमुख जोर्न ठमेललाई केन्द्रविन्दु बनाएर खटिने मजदुर यति बेला घर–डेराभित्रै थुनिन बाध्य छन् । तर, नुवाकोटका विशाल तामाङलाई लकडाउनले पनि छेक्न सकेको छैन । खर्च अभावमा दैनिकी चलाउनै नसक्ने अवस्था आएपछि केही दिनदेखि उनी रिक्सा लिएर बिहान ६ बजे नै ठमेल पुग्ने गरेका छन् ।

यही रिक्सा चलाएर विशालले दस वर्षदेखि ४ जनाको परिवार पाल्दै आएका थिए । ‘हातमुख जोर्न मुस्किल भएपछि बाध्य भएर सडकमा फर्किएँ हजुर,’ उनले सुनाए, ‘लकडाउनअघि जेनतेन चलेको जीवन अहिले धकेल्नै गाह्रो भयो, मागेर खानुभन्दा परिश्रम गरौं भन्ने सोचेर फर्केको ।’

ठमेलका सबैजसो चोक र गल्ली सुनसान छन् । एकाध प्रहरी र ट्राफिकबाहेक सडकमा कोही छैनन् । तैपनि विशाललाई दुई पैसा कमाइ हुने आशा मरेको छैन । ‘कमाइ हुँदैन भन्ने थाहा छ तर काम गर्ने ठाउँ नै यही सडक भएपछि कहाँ जाने ?,’ रिक्सा पुछ्दै उनले भने । लकडाउनअघिसम्म दैनिक २ हजारदेखि २५ सयसम्म कमाइ हुने गरेकोमा अहिले डेढ सय रुपैयाँ हात पर्दा पनि खुसी हुनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

रिक्सा चलाएरै गुजारा चलाउँदै आएका मंगल तामाङको पीडा पनि उस्तै छ । लकडाउनले ५० दिनजति घरभित्र बसेका उनले पनि केही दिनअघि रिक्सा सडकमा निकालेका हुन् । ‘कोठामा बसेर ज्यान धान्न नसकेपछि कर्मक्षेत्रमा फर्किएँ,’ मंगलबार ठमेल, पीपलबोटमा सुस्ताइरहेका उनले भने, ‘तर के गर्नु, यात्रु पाउनै मुस्किल छ ।’

एक दिन रिक्सा चलाएबापत साहुलाई १ सय ५० रुपैयाँ अनिवार्य बुझाउनुपर्छ । ‘अहिलेको कमाइ साहूलाई बुझाउनै ठिक्क छ,’ मंगलको गुनासो छ, ‘दुई छाक टार्न सकिएला भनेर रिक्सा निकालेको, मान्छे नभएपछि केही सीप लाग्दो रहेनछ ।’

ठमेलमा रिक्साका मुख्य यात्रु पर्यटक हुन् । लकडाउनअघि नै सबैजसो पर्यटक आआफ्ना देश फर्किसकेका छन् । त्यसमाथि लकडाउन थपिएको थपियै भएपछि अन्य यात्रु पनि बाहिर निस्किने अवस्था छैन । त्यसैले लकडाउनकै बीच यात्रुको खोजीमा सडकमा निस्किएका २०–२५ वटा रिक्सा खाली छन् । सामान्य अवस्थामा ठमेलमा दैनिक करिब ४ सय रिक्सा चल्थे ।

‘कहिलेकाहीँ तरकारी ओसार्नबाहेक अरू काम पाएको छैन,’ चार दशकदेखि ठमेलमा रिक्सा चलाउँदै आएका मानबहादुर तामाङले भने, ‘हिजो ५० रुपैयाँ कमाएँ, आज के हुन्छ थाहा छैन ।’ उनीहरूलाई थाहा छ, अप्रिलदेखि जुन महिनासम्म पर्यटक खचाखच हुने समय हो । तर कोरोनाले यो वर्ष तहसनहस पारेको गोरखाका रामबहादुर सार्कीले सुनाए । ‘अब पहिलाजस्तो पर्यटक देख्न कहिले पाइने हो थाहा छैन, पर्यटक नआए हाम्रो व्यापार के होला र ?,’ २० वर्षदेखि ठमेलमा रिक्सा चलाउँदै आएका उनले भने ।

ठमेल आएका पर्यटक रिक्सा चढ्न निकै हौसिन्छन् । उनीहरू रिक्सामै ठमेलबाट स्वयम्भू, वसन्तपुर दरबार स्क्वायर, न्युरोड, दरबारमार्गलगायत स्थान घुम्छन् । सबै रिक्सा चालकमा अहिले एउटै चिन्ता थपिएको छ– पर्यटक नै नभए जीवन कसरी धकेल्ने ?

कमाइ शून्यप्रायः भएपछि जीवन धान्न धौधौ परेका रिक्सा चालकलाई केही मनकारीले लकडाउन सुरु भएदेखि नै दिनहुँ निःशुल्क खाना खुवाइरहेका छन् । ‘बिहानको खाना ठमेलमै खान पाइने भएकाले पनि दिनहुँ रिक्सा लिएर आउने गरेको छु,’ ठमेल सातघुम्तीमा मिन्हाज खानकहाँ बिरयानी खाने गरेका रमेश कार्कीले भने, ‘अहिलेको जस्तो अवस्था विगतमा कहिल्यै बेहोर्नुपरेको थिएन ।’

हुन पनि १० वर्षे द्वन्द्व, विभिन्न राजनीतिक आन्दोलन, राजाको शासन, भूकम्पका बेला समेत बजार अहिलेजस्तो सुनसान थिएन । पर्यटकको आउजाउ संख्यात्मक हिसाबले घटे पनि ठप्प थिएन ।

ठमेल पर्यटन व्यवसायी परिषद्का महासचिव ध्रुव अधिकारीका अनुसार कोरोनाका कारण प्रत्यक्ष–अप्रत्यक्ष रूपमा १० लाख मान्छेले रोजगारी गुमाएका छन् । ‘रिक्सा चालकदेखि होटल, मजदुर, रेस्टुरेन्ट, ट्रेकिङमा गरी १० लाखजतिको आर्थिक स्रोत चौपट भएको छ,’ उनले भने ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का सचिव दामोदर ढकालले कोरोनाको महामारीका कारण पर्यटन क्षेत्र वर्षौं पछि धकेलिएको र लाखौंले रोजगारी गुमाउन पुगेको बताए । ‘नेपालको पर्यटन क्षेत्र लयमा फर्किन वर्षौं समय लाग्ने हाम्रो अनुमान छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २३, २०७७ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×