कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित बढेपछि कोरोना बिमा स्थगित

हचुवाको कार्यक्रम ल्याएको र संक्रमण बढिरहेको बेला बिमाबाट वञ्चित गरेको भन्दै आलोचना
यज्ञ बञ्जाडे

काठमाडौँ — कोभिड–१९ को जोखिम सुरक्षण गर्न भन्दै ल्याइएको बिमा कार्यक्रम स्थगन भएको छ । बिमा समितिको निर्देशनअनुसार शुक्रबारदेखि केही समयका लागि यो बिमा स्थगन भएको बिमा कम्पनीहरूले बताएका छन् । समितिले भने बिमा कम्पनीहरूकै प्रस्तावमा केही समयका लागि स्थगन गरिएको जनाएको छ ।

संक्रमित बढेपछि कोरोना बिमा स्थगित

नेपाल बिमक संघको आग्रहमा कोरोना बिमा स्थगन गर्न निर्देशन दिइएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘सरकारले कोरोना बिमामा अनुदान दिने कार्यक्रम ल्याएको, बिमा कम्पनीको पुँजीभन्दा दायित्व धेरै भएपछि जोखिम बढेकोलगायत कारण केही समय स्थगन गरिएको हो,’ उनले भने, ‘बिमालेखको मोडालिटी परिमार्जन गरी छिट्टै सञ्चालन गर्छौं ।’

कोरोना बिमा गर्नेको संख्या बढेपछि पछिल्ला केही दिनदेखि बिमा कम्पनीले थप बिमा गर्न चासो देखाएका थिएनन् । मंगलबारसम्मको तथ्यांकअनुसार २० बिमा कम्पनी र नेपाल पुनर्बिमाको पुँजीभन्दा कोरोना बिमाबापतको दायित्व धेरै भएको छ । यसकारण जोखिम धेरै हुने भएपछि कम्पनीहरू पछि हटेका हुन् । कम्पनी पछि हटेपछि स्थगन गर्न बिमा समिति पनि बाध्य भएको हो ।

‘कोरोना बिमाको पुनर्बिमा गर्न विदेशी कम्पनीले पनि चासो देखाएनन्,’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘सरकारले कसरी सञ्चालन गर्न खोजेको हो निश्चित भएन, दायित्व दिनानुदिन बढिरह्यो, यसले जोखिम बढ्यो अनि स्थगन गर्न बाध्य भइयो ।’ कोरोना संक्रमित संख्या थोरै हुने अनुमानका आधारमा बिमालेख ल्याइएकोमा अहिले संक्रमण धेरै फैलिएकाले कम्पनीहरू डराएको ती अधिकारीले बताए ।

पर्याप्त अध्ययनबिना कोरोना बिमालेख जारी गर्न समितिले निर्देशन दिएकाले डेढ महिनामै बन्द गर्नुपरेको विज्ञहरूले बताएका छन् । ‘नयाँ बिमालेख जारी गर्दा पर्याप्त अनुसन्धान हुनुपथ्र्यो,’ बिमाविज्ञ रवीन्द्र घिमिरेले भने, ‘हचुवाका भरमा बिमा लेख ल्याइएकाले टिक्न सकेन ।’ नीति निर्माताले भविष्य नसोची हचुवाका भरमा बिमालेख ल्याएकाले संक्रमण बढिरहेको बेला नागरिकलाई कोरोना बिमाबाट वञ्चित गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘बिमा समिति र कम्पनीले दुई महिनासम्मको पनि पूर्वानुमान गर्न सकेनन्,’ उनले थपे, ‘यसले नागरिकको बिमा गर्न पाउने अधिकार खोसेको छ ।’ बिमालेखको बिक्री सुरु भएको एक/डेढ महिनामै मोडालिटी परिमार्जन गर्दा नियामक निकायको परिपक्वता नदेखिएको उनले बताए । संक्रमित कम हुँदा बिमा गर्ने अनि बिमा गर्ने धेरै हुँदा बन्द गर्ने, यो त माछा हुँदा दुलोभित्र हात र सर्प हुँदा बाहिर भन्ने उखान जस्तै भयो,’ उनले थपे ।

केही दिनका लागि स्थगन गरिएको कोरोना बिमा छिट्टै सुरु गर्ने समितिका कार्यकारी निर्देशक पौडेलको दाबी छ । ‘कोरोना बिमा बन्द नै भएको भनेर हल्ला फैलाइयो,’ उनले भने, ‘कुनै पनि हालतमा बन्द हुँदैन ।’ पछिल्ला दिनमा अपेक्षाभन्दा धेरैले कोरोना बिमा भएको उनले स्विकारे । ‘सुरुमा यति धेरै बिरामी होलान् भन्ने अनुमान थिएन, यसकारण कम्पनीको पुँजीले दायित्व थेग्ने अनुमान थियो,’ उनले थपे, ‘अहिले अनुमानभन्दा धेरैको बिमा भयो, यो क्रम बढ्दो छ, कम्पनीको दायित्व बढ्यो । कम्पनीको जोखिम कसरी सुरक्षण गर्ने भन्न पनि अहिले स्थगन गर्नुपरेको हो ।’ कोरोना बिमालाई पुनर्बिमा गर्न नेपाल पुनर्बिमा कम्पनीले पनि नयाँ मोडालिटी तयार पारेको र त्यसबारे शुक्रबार छलफल हुने पौडेलले जानकारी दिए ।

‘सरकारले एक लाख रुपैयाँसम्मको कोरोना बिमा शुल्कमा ५० प्रतिशत अनुदान र स्वास्थ्यकर्मीको दायित्व आफैं बेहोर्ने घोषणा गरेको छ,’ उनले भने, ‘यो कार्यक्रमलाई कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा सरकारसँग पनि छलफल भइरहेको छ ।’ अब केही दिनमै सरकारको निर्देशनअनुसार बिमालेखको मोडालिटी परिमार्जन, पुनर्बिमाको खोजी गरी नयाँ ढाँचामा बिमा सुरु गरिने उनले बताए ।

‘आगामी आर्थिक वर्षको बजेटमार्फत अस्थायी, करारलगायत सबै राष्ट्रसेवकको एक लाख रुपैयाँसम्मको कोरोना बिमा नि:शुल्क गर्ने र एक लाख रुपैयाँसम्मको सामूहिक कोरोना बिमा गर्दा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था भएको हुँदा थप बिमा गर्दै जाँदा दोहोरो हुन सक्ने सम्भावना छ,’ समितिले बिमा कम्पनीलाई पठाएको पत्रमा भनिएको छ, ‘हालसम्म बिक्री भएको बिमाको दायित्व अधिक भएकाले पुनर्बिमासमेत गर्नुपर्ने देखिएकाले जेठ २३ देखि केही समयका लागि कोरोना बिमा स्थगन गर्ने निर्णय भएको छ । सोहीबमोजिम कोरोना बिमा स्थगन गर्न अनुरोध छ ।’ कोरोना बिमामा हालसम्म सहभागी भएका सबै बिमितको जोखिम सुरक्षित भएको पनि समितिले प्रस्ट्याएको छ ।

बुधबारसम्म करिब ३ लाख ७ हजार २ सय २१ जनाले कोरोना बिमा गरेका छन् । कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेखको बिक्री सुरु गरिएको थियो । उक्त बिमामा १६ करोड ८७ लाख ३६ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सो अवधिमा २६ हजार ६ सय २३ वटा बिमालेख बिक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका थिए ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर सामूहिक रूपमा घर परिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

५० हजार रुपैयाँको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । अस्पतालबाट कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै दाबी भुक्तानी पाइन्छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?