कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनले आजित व्यवसायी

आर्थिक गतिविधि रोकिँदा ठूलो क्षति बेहोरेका उद्योगी व्यवसायी लकडाउन उल्लंघन गर्ने मनस्थितिमा

काठमाडौँ — दुई महिनाभन्दा लामो लकडाउनलाई सरकारले लगातार लम्ब्याउँदै लगे पनि व्यापार–व्यवसाय चौपट भइरहँदा सुविधा दिने प्रयाससम्म नगरेको देखेर उद्योगी व्यवसायी आजित भएका छन् । सधैं आर्थिक गतिविधि ठप्प पारेर बस्दा आफैंलाई ठूलो क्षति भएको भन्दै उनीहरू अब लकडाउन उल्लंघन गर्ने मनस्थितिमा पुगेका छन् ।

लकडाउनले आजित व्यवसायी

काठमाडाैं र विभिन्न जिल्लाका उद्योगी व्यवसायीहरूका संघसंगठनले सम्बद्ध प्रमुख जिल्ला अधिकारीहरूलाई भेटेर लकडाउनले परेको मर्कामा निकास दिन आग्रह गरेका छन् । विभिन्न जिल्लाका उद्योगी व्यवसायीका संस्थाहरूले बुधबार प्रेस विज्ञप्तिमा लकडाउनलाई उल्लंघन गर्ने तयारी गरेको देखिएको छ ।

काठमाडौंको नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि बिहान ११ बजेसम्म पसल खुला गर्ने निर्णय गरेको छ । ‘७१ दिनदेखि जारी लकडाउनका कारण उद्योग व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याज र किस्ता, कर्मचारीलाई तलब भुक्तानी गर्न समस्या परिरहेका बेला सरकारले कर तिर्न ताकेता गरिरहेको अवस्था छ । तर लकडाउन खोल्ने विषयमा भने कुनै तदारुकता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरू पलायन मात्रै हैन रोजीरोटी नै गुम्ने खतरा देखिएकाले बिहीबारदेखि बिहान ११ बजेसम्म दैनिक पसल खुला गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउँछाैं ।’

विराटनगरमा बिहीबारदेखि बिहान व्यवसाय सञ्चालनमा आएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका बजार पनि बिहीबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर बजार खोल्न लागिएको हो । इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी र स्थानीय प्रशासनको बैठकले बुधबार बजार खोल्ने निर्णय गरेको हो । सामाजिक दूरी कायम गर्ने गरी बिहान ७ देखि १० बजेसम्म बजार खोल्न पाइने उपमहानगरले जनाएको छ । निजी सवारीसमेत चलाउन पाइने भएको छ । लकडाउनका कारण नगरमा अत्यावश्यक र औषधि पसल मात्र खुल्दै आएका छन् । शैक्षिक संस्था, होटल, मन्दिर, सैलुन, ब्युटी पार्लर, फिटनेस क्लब, सिनेमा हललगायत भने खुल्ने छैनन् ।

तालाचाबी बुझाउँछौं : पोखरेली व्यवसायी

पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी सबै प्रकारका कर बुझाउने समयसीमा लकडाउन तत्काल खुलेको अवस्थामा कम्तीमा असार मसान्तसम्म थप गर्न माग गरेको छ । संघका अध्यक्ष दामु अधिकारीले जेठ ३२ सम्म लकडाउन भएको, व्यवसाय बन्द भएको र सडकमा सवारी निषेध गरिएको परिस्थितिमा कर तिर्न नसक्ने बताए ।

‘एक त, हाम्रो व्यवसाय बन्द छ र कर चुक्ता गर्ने पैसा छैन, अर्कोतर्फ हाम्रो उद्योग–प्रतिष्ठानका लेखा हेर्ने कर्मचारीहरू पनि बिदामा छन् । कतिपय व्यवसायीहरू त उद्योग प्रतिष्ठानमा ताला लगाएर अन्यत्रै गएका छन्,’ उनले भने, ‘उनीहरू कसरी आउने ? कसरी हिसाब किताब गर्ने र कसरी आन्तरिक राजस्व कार्यालयसम्म पुग्ने ?’

लकडाउनलाई खुकुलो बनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुलाउन पोखराका उद्योगी व्यवसायीले माग गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले लकडाउनले सिर्जना गरेको विषम परिस्थितिमा बाँच्नकै लागि भए पनि यसको प्रकृति खुकुलो बनाउनुको विकल्प नरहेको बताए ।

संघ अध्यक्ष अधिकारीले सुरक्षा प्रबन्ध मिलाएर आलोपालो रूपमा समय तालिकाअनुसार सबै व्यवसाय खुलाउनुपर्ने बताए । संघले पोखराका व्यवसायीसँग गरेको वेबिनारबाट उक्त निष्कर्ष निकालेको उनले जनाए । ‘यही निष्कर्षका साथ गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरिसकेका छौं,’ उनले भने, ‘हामी समय तालिकाअनुसार व्यवसाय खोल्नुपर्ने पक्षमा छौं । समय तालिका मिलाइदिए हामी त्यहीअनुसार अघि बढ्छौं । सुरक्षाका सबै प्रबन्ध मिलाउन हामी तयार छौं ।’

लकडाउन खुकुलो बनाउन माग गर्दै उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश समिति, पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार गण्डकीको मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले लकडाउनले व्यवसायीको ढाड भाँचिएको जिकिर गरे । २ जनाभन्दा बढी भीड नहुने पसल र केही कामदार हुने उद्योगलाई पनि बन्द गरेर राख्नु लज्जास्पद भएको उनको भनाइ थियो । ‘सरकारले आमनागरिकलाई घरमा राखेर पाल्न सक्छ भने पालोस्,’ उनले भने, ‘नत्र लकडाउन अवज्ञा गर्न बाध्य नपारियोस् ।’

प्रकाशित : जेष्ठ २२, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?