कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाली हाइब्रिड मकैको बीउको व्यावसायिक उत्पादन सुरु

रमेशकुमार पौडेल

चितवन — मकै नेपालको मुख्य बालीभित्रै पर्दछ । तर धेरै उत्पादन हुने हाइब्रिड मकैको बीउ देशभित्र उत्पादन हुन सकेको छैन । हाइब्रिड मकैको बीउ विकासमा सक्रिय चितवन रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले केही हाइब्रिड जातहरु विकास गरे पनि व्यवसायिक बीउ उत्पादन सुरु नहुँदा किसानसम्म पुगेको थिएन । पछिल्लो पटक विकास भएको हाईब्रिड रामपुर–१० ले यो अवस्था तोडेको छ ।

नेपाली हाइब्रिड मकैको बीउको व्यावसायिक उत्पादन सुरु

भरतपुर–२६ दिव्यनगरका नरेन्द्र दवाडीले यो सिजनमा मकै लगाउँदा भारतीय हाइब्रिड जातसँगै आठ कट्ठामा नेपाली हाइब्रिड मकै रामपुर–१० पनि लगाए । नयाँ जात के कसो हुने हो भन्ने संशय थियो नै । तर उम्रँदा, हुर्कंदा र फल्दा भारतीय जातकै बराबरीमा नेपाली हाइब्रिड पनि उत्तम सावित भएको उनले बताए । ‘हामीले पोलेर पनि खायौं । मिठो पनि रहेछ,’ किसान नरेन्द्र दवाडीले भने ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रममा प्रमुख केशवबाबु कोइरालाका अनुसार देशभर ९ लाख ५४ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । प्राय: स्थानीय जातकै मकै लगाउने चलन छ । आवश्यक पर्ने हाइब्रिड बीउ भारत र अन्य देशबाट आयात गर्नु पर्ने बाध्यता छ । बीउ व्यवसायी संघका पूर्व अध्यक्षसमेत रहेका मित्रराज दवाडीका अनुसार नेपालमा वर्षमा १५ सयदेखि दुई हजार मेट्रिक टन मकैको हाइब्रिड बीउ आयात हुन्छ ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले पहिलो पटक १७ वर्षअघि सन् २००३ मा नेपालमै ‘गौरव’ नामको मकैको हाइब्रिड जात विकास गरेको थियो । तर त्यसको व्यावसायिक उत्पादन फस्टाउन सकेन । त्यसपछि पनि रामपुर हाइब्रिड–२, रामपुर–४, रामपुर–६ र रामपुर–८ तयार भए । तीन वर्षअघि सन् २०१७ मा तयार भएको रामपुर–१० भने किसानले रुचाएको पाइएपछि व्यावसायिक रुपमा बीउ उत्पादन सुरु भएको हो ।

रामपुर–१० नामक हाइब्रिड मकै फलेको नरेन्द्र दवाडीको खेती तस्बिर : रमेशकुमार पौडेल कान्तिपुर

भरतपुरमा रहेको दवाडी एग्रोभेटले प्याकेजिङसहित बीउ बेच्न सुरु गरेको छ । राष्ट्रिय बीउ बिजन समितिका सदस्यसमेत रहेका मित्रराज दवाडी सञ्चालक रहेको यो एग्रोभेटले तत्काल साढे ६ क्विन्टल बीउ बजारमा लैजाने भएको छ । अझै ६० क्विन्टल जति बीउ तयार हुर्ने प्रक्रियामा छ । ‘नेपाली हाइब्रिड मकैको बीउ प्याकेजिङसहित यो परिमाणमा उत्पादन सुरु भएको यो पहिलो पटक हो,’ बीउ व्यवसायी मित्रराज दवाडीले भने ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका प्रमुख केशवबाबु कोइरालाले झापाको महारानी झोडा कृषि सहकारी, गोरखा सिड्स, लुम्बिनी सिड्स, युनिक सिड्स र पञ्चशक्ति सिड्स जस्त अन्य कम्पनीले पनि व्यावसायिक रुपमा रामपुर–१० को बीउ उत्पादन सुरु गरेको जानकारी दिए । ‘पाँच ६ वटा निकायले बीउ उत्पादन सुरु गर्नु सुखद हो । यसले नेपाली हाइब्रिडलाई फैलाउन सघाउ पुग्छ,’ कोइरालाले भने ।

यो बीउको उत्पादन प्रतिहेक्टर सातदेखि आठ टन रहेको उनले जानकारी दिए । आयातित हाइब्रिड बीउको उत्पादन क्षमता पनि यही हाराहारीमा रहेको छ । किसान नरेन्द्र दवाडी यो मकैमा नेपाली रैथाने जातको स्वाद पाइने हुँदा आफूलाई मन परेको बताउँछन् । समुन्द्र सतहदेखि ७ सय मिटर उचाइसम्म यो मकैको खेती गर्न सकिन्छ । नेपालमै विकास भएको कारण नेपाली हावापानी सुहाउँदो छ ।

‘विदेशबाट ल्याएको जातले कहिलेकाहीँ यहाँको ताप सहन सक्दैन । तापक्रम तलमाथि भए दाना लाग्दैन । यस्तो समस्या पटक–पटक आउने गरेको छ । तर नेपाली हाइब्रिड यहीँकै तापमानमा आधारित रहेर विकास गरेको हुँदा यस्तो समस्या आउँदैन,’ मकैबाली अनुसन्धान कार्यक्रमका प्रमुख कोइरालाले भने । विदेशको हाइब्रिड नफल्दा सरकारले २३ करोड रुपैयाँसम्म राहत वितरण गर्नु परेको थियो ।

‘बीउ देशमै उत्पादन भएको राम्रो हो । यसले धेरै फाइदा पुर्‍याउँछ, किसानलाई पनि फाइदा देशलाई पनि फाइदा हुन्छ,’ कोइरालाले भने । रामपुरले पहाडी क्षेत्रका लागि उपयुक्त हुने हाइब्रिड खुमलटार–२ पनि विकास गरेको छ । तत्कालका लागि थोरै परिमाणमा उत्पादन सुरु भए पनि बीउमा नेपाल आत्मनिर्भर हुने सम्भावना रहेको कोइरालाले बताए । हाइब्रिड बाहेकका जातहरु रामपुरले विकास गरेका नै धेरै जसो प्रचलनमा छन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?