कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बिचौलिया’को आन्दोलनले आयात अवरुद्ध

सुनौली भन्सारमा मालवाहक गाडी तथा वस्तुको जाँचपास भएन
माधव ढुंगाना

भैरहवा — भन्सार जाँचपासका सहयोगी (बिचौलिया)को आन्दोलनका कारण मंगलबार बिहानबाट सम्पूर्ण आयात अवरुद्ध भएको छ । भन्सार प्रमुखसमक्ष मागपत्र बुझाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले लकडाउनपूर्वकै अवस्थामा जस्तो नेपाली भन्सार कार्यालय परिसरमा आएर काम गर्न पाउनुपर्ने माग राखेका छन् ।

‘बिचौलिया’को आन्दोलनले आयात अवरुद्ध

माग पूरा गराउन बिचौलियाहरूले सीमावर्ती भारतको सुनौली भन्सारमा मुलुकतर्फ आउने मालवाहक गाडी तथा वस्तुको जाँचपास गरेका छैनन् । भारतले लकडाउन खुकुलो बनाएपछि आयात बढ्न थालेको छ । त्यसले आफ्नो कारोबार बढ्ने भएपछि उनीहरूले निर्बाध भैरहवा भन्सार परिसरमा आएर काम गर्न पाउनुपर्ने माग गरेका हुन् । उनीहरू आउँदा कोरोना भाइरस संक्रमणको खतरा बढ्ने भन्दै बेलहियाका स्थानीयले आपत्ति जनाएका थिए । उनीहरू आधिकारिक भन्सार क्लियरिङ एजेन्ट होइनन् । अवरोधका कारण मंगलबार बिहानबाट तरकारी, फलफूललगायत उपभोग्य वस्तुको आयात भएको छैन । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, एलपी ग्यासका बुलेटलगायत अत्यावश्यक वस्तुसहितका गाडीसमेत रोकिएका छन् । लकडाउन अवधिमा पनि नाकाबाट दैनिक २ सय ५० भन्दा धेरै मालवाहक गाडी मुलुक भित्रिने गरेका थिए ।

भारततर्फ बसोबास गर्ने र भन्सार एजेन्टको सहयोगीका रूपमा काम गर्नेले विरोध गरेको भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष असिम न्यौपानेले बताए । उनका अनुसार बिचौलियाहरू सहजै भन्सार कार्यालय परिसरमा आएर काम गरी साँझ घर फर्किने गर्थे । अहिले पहिलाजस्तो सहज छैन । कोरोना जोखिम न्यूनीकरण गर्न लकडाउन र सीमा सिल गरिएको छ । तैपनि उनीहरू भन्सार परिसरमा काम गरी स्थानीय समुदायमा घुलमिल हुने गरेका थिए । दिनभरि काम गरेर साँझ फर्किने गरेका थिए । सीमावर्ती नेपालका स्थानीय बासिन्दाले उनीहरूको आगमनलाई रोक्नुपर्ने माग सुुरक्षा निकायसमक्ष गरिरहेका थिए । त्यसपछि उनीहरू खुलेआम नेपाल आउन पाएका थिएनन् ।

यसअघि बिचौलियाहरू भारतको सुनौली भन्सारमा काम गरिसकेपछि नेपाल आउने ट्रकमा सहयोगीका रूपमा प्रवेश गर्थे । कतिपयले नेपालतर्फ आफू जस्तै अन्य सहयोगी खोजेर भैरहवा भन्सारमा काम गर्दै आएको स्थानीयले बताए । लकडाउन र सिमाना सिल भए पनि खुलेआम आफ्ना सवारीसाधनमा मुलुक प्रवेश गरी काम गर्न पाउनुपर्ने माग उनीहरूको छ । दुवैतर्फको भन्सार कार्यालयमा आ–आफ्नो सरकारले मान्यता दिएको भन्सार क्लियरिङ एजेन्ट वा उसले आफ्नो कारोबारका लागि मञ्जुरी दिएको प्रतिनिधिबाहेक अन्यले गरेको भन्सार जाँचपासका कागजातले मान्यता पाउँदैनन् । तर यस्ता व्यक्ति नेपाल र भारतका आधिकारिक भन्सार क्लियरिङ एजेन्टबाट मञ्जुरी प्राप्त गरेका प्रतिनिधि होइनन् ।

यसबारे भन्सार विभागमा सबै जानकारी गराइसकिएको भैरहवा भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए । ‘लकडाउन अवधिमा पनि सहजै आएर काम गर्न पाउनुपर्ने माग छ,’ उनले भने, ‘उनीहरू आधिकारिक एजेन्ट नभएकाले नेपालका आधिकारिक एजेन्टबाट आफ्नो सहयोगी भएको आधिकारिक जानकारी भन्सारलाई दिनुपर्छ । त्यसपछि मात्र मैले सुरक्षा प्रबन्ध मिलाएर सहजीकरण गर्ने जवाफ दिएको छु ।’

प्रकाशित : जेष्ठ २१, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?