कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नबालीमा असर

धान, तेलहनको क्षेत्रफल घट्यो, मकै र गहुँको बढ्यो
समग्र बाली लगाइएको क्षेत्रफल ०.९ प्रतिशत घट्यो

काठमाडौँ — खाद्यान्न बाली लगाइएको क्षेत्रफल २.२ प्रतिशतसम्म घटेको छ । भूमिको खण्डीकरण, युवाहरू विदेश पलायन भई श्रम अभावले खेतीयोग्य जमिनको क्षेत्रफल घटेको हो । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार धान बालीको क्षेत्रफल २.२ र तेलहनको १.५ प्रतिशत घटेको छ । मकै र गहुँ बालीको क्षेत्रफल भने सामान्य बढेको छ ।

अन्नबालीमा असर

‘मौसम प्रतिकूलताका कारण समयमै रोपाइँ हुने सकेन । सोही कारण आव ०७५/७६ र ०७६/७७ को तुलनामा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको क्षेत्रफल २.२ प्रतिशत घटेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘समग्र खाद्यान्न बाली लगाइएको क्षेत्रफल ०.९ प्रतिशत घटेको छ ।’

धान बालीको उत्पादकत्व अघिल्लो आवमा ८.९ प्रतिशत बढेको थियो । चालु आवमा १.१ प्रतिशत घटेको सर्वेक्षणमा उल्लेख छ । तेलहन बाली लगाइएको क्षेत्रफल १.५ प्रतिशत घटेर उत्पादनमा पनि १.४ प्रतिशत कमी आएको छ । ‘अघिल्लो आवको तुलनामा १.४ प्रतिशत ह्रास आएर २ लाख ७८ हजार ३ सय २५ टन पुग्ने अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ,

‘तरकारीको उत्पादन पनि ४.३ प्रतिशत घटेर ४० लाख ८९ हजार हेक्टर टन रहने अनुमान छ ।’ सर्वेक्षणअनुसार ०७५/७६ मा तरकारीको उत्पादन ४ प्रतिशत बढेको थियो ।

मकै र गहुँ बाली लगाइएको क्षेत्रफल भने सामान्य बढेको छ । मकै बालीको क्षेत्रफल ०.२ प्रतिशत बढेर ९ लाख ५८ हजार १ सय ५० हेक्टर पुगेको छ । गहुँ बाली लगाएको क्षेत्रफल ०.३ प्रतिशत बढेर ७ लाख ५ हजार ८ सय ८७ हेक्टर कायम भएको छ ।

आव ०७६/७७ मा मसुरो, चना, गहत, मास, भटमासलगायत दलहन बालीको उत्पादन ५.८ प्रतिशत बढेर ४ लाख ४ हजार २ सय १० टन रहने अनुमान गरिएको छ । सर्वेक्षणअनुसार पछिल्लो दशकमा नेपालको कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशत बढेको छ । आव ०७५/७६ मा कृषि क्षेत्रको उत्पादन ५.१ प्रतिशत वृद्धि भएकोमा आव ०६७/७७ मा यस क्षेत्रको वृद्धि २.६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । धान उत्पादनमा आएको कमी र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएका उपायले आपूर्ति प्रणालीमा आएको असहज परिस्थितिका कारण तरकारी, मासु र दूध उत्पादनमा असर परेको छ । गहुँ, मकै तथा फलफूल बाली उत्पादनमा सामान्य वृद्धि हुने अनुमान छ ।

प्रदेश ५ र कर्णालीमा उन्न्त बीउबिजन कार्यक्रम

खाद्यान्न तथा तरकारी बालीको बीउ विकास र मासु तथा दूध उत्पादन बढाउन प्रदेश ५ र कर्णालीमा उन्नत बीउबिजन कार्यक्रम सुरु गरिएको छ । सर्वेक्षणअनुसार कर्णालीका ६ जिल्लाका किसानका लागि उन्नत बीउबिजन कार्यक्रम सञ्चालनमा छन् । यसअन्र्तगत ५ सय ७२ उपआयोजनामा चालु आवको फागुनसम्म ३१ करोड पूरक अनुदान उपलब्ध गराइएको छ । आयोजनाका लक्षित कार्यक्रम सम्पन्न भएर धान, गहुँ, मकै र तरकारी गरी कुल २२ हजार ७ सय ४८ टन मूल बीउ तथा संकेतपत्र बीउ उत्पादन भएको छ । चालु आवको फागुनसम्म २ सय ७१ सिँचाइ पूर्वाधारबाट करिब १ हजार ३ सय ९ हेक्टरमा थप सिँचाइ सुविधा पुगेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?