कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सफा नोट छुट्याउन निर्देशन

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले नोटलाई नयाँ, सफा र काम नलाग्ने गरी तीन वर्गमा विभाजन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई सफा नोटका सम्बन्धमा ९ बुँदे निर्देशन दिएको हो ।

निर्देशनअनुसार नोटलाई एटीएमलगायत मेसिनका माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी विभाजन गर्नुपर्नेछ । यसअनुसार बैंक तथा वित्तीय संस्थाले एटीएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङको स्लिप प्रयोग गर्नुपर्नेछ ।

चलनचल्तीमा पठाउन अयोग्य नोट नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ । यी संस्थामा पहुँच नभएका वित्तीय संस्थालाई आफ्नो खाता रहेको बैंकमा जम्मा गर्न भनिएको छ । भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोटलाई निश्चित प्रक्रिया अपनाई भाइरसरहित गर्नुपर्नेछ । स्लिपमा कार्यालयका शाखाको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारी परिचय नम्बर, सही र मिति अनिवार्य भर्नुपर्नेछ ।

नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन । झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको पानीले भिजेको, छपाइ बिग्रिएको, नोटमा रहेको अक्षर अंक, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रने गरी रङ लागेको वा पूर्वराजाको तस्बिर भएको नोटलाई पुनः निष्कासन अयोग्य नोटका रूपमा वर्गीकरण गर्नुपर्नेछ । त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?