कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्दै छ अत्यावश्यक वस्तुको आयात

५६ दिनमा भित्रियो ६५ अर्ब ७१ करोड रुपैयाँ बराबरको सामान
समग्र वस्तुको आयात भने ७० प्रतिशत घट्यो
राजु चौधरी

काठमाडौँ — कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरे पनि खाद्यान्न आयातमा कमी आएको छैन । लकडाउनको ५६ औं दिन (चैत ११ देखि जेठ ५) सम्म १ लाख ८३ हजार २ सय टन खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांक छ । ‘गत वर्ष वैशाखमा ९० हजार टन खाद्यान्न आएको थियो । लकडाउनका बेला दुई महिनामा पनि त्यति नै परिमाणमा आयात भएको छ,’ विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीले भने, ‘तथ्यांक विश्लेषण गर्दा खाद्यान्न आयातमा कमी छैन । लकडाउनमा बढेकै देखिन्छ ।’

बढ्दै छ अत्यावश्यक वस्तुको आयात

खाद्यान्नबाहेक अन्य अत्यावश्यक वस्तुको आयात पनि बढ्दै गएको छ । विभागका अनुसार चैत ११ देखि २० सम्म दैनिक ७५ करोड रुपैयाँ बराबरको अत्यावश्यक वस्तु आयात भएको थियो । चैत २१ देखि ३० सम्म दैनिक आयात ८५ करोड रुपैयाँ पुगेको थियो । वैशाख १ देखि १० सम्म दैनिक ९० करोड र वैशाख ११ देखि २० सम्म दैनिक १ अर्ब ३० करोडको आयात भएको छ । ‘वैशाख २१ देखि ३१ सम्म पुन: बढेर दैनिक १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ,’ पुडासैनीले भने, ‘अहिले पनि आयात उस्तै छ ।’

उद्योगी व्यवसायी पनि खाद्यान्नमा समस्या नभएको बताउँछन् । उनीहरूका अनुसार लकडाउनको केही साता माग अत्यधिक बढे पनि अहिले त्यस्तो छैन । माग घटेकाले खाद्यान्नमा आात्तिनुपर्ने अवस्था नभएको व्यवसायीको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी र निजीसहित करिब ५/६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारी खाद्यान्नको मौज्दात घट्ने क्रममा रहे पनि निजीसँग पर्याप्त रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन् । ‘लकडाउनको पहिलो साता सरकारसँग करिब २३ हजार टन खाद्यान्न मौज्दात थियो । अहिले १६ हजारमा झरेको छ । खाद्यान्न आयात रोकिएको छैन,’ उनले भनिन्, ‘निजी क्षेत्रसँग पनि राम्रै मौज्दात छ ।’

लकडाउनका बेला ६५ अर्ब ७१ करोड रुपैयाँको अत्यावश्यक वस्तु आयात भएको विभागको तथ्यांक छ । यो अवधिमा २ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । एलपी ग्यास ५८ हजार ७ सय ५ टन, डिजेल ८६ हजार २ सय ८८ किलोलिटर र पेट्रोल ४६ हजार ७ सय ३६ किलोलिटर आयात भएको छ । गेडागुडी तथा दलहन ५१ हजार ८ सय ३६ टन, दूधजन्य पदार्थ ११ हजार २ सय १ टन आयात भएको विभागको तथ्यांक छ ।

तरकारी तथा फलफूलको आयातमा भने केही आएको विभागले जनाएको छ । स्वदेशमा पर्याप्त उत्पादन नभएपछि प्राय: फलफूल आयात गरिन्छ । फलफूल मुख्यत: चीन र भारतबाट आउँछ । गत डिसेम्बरमा चीनमा कोरोना देखिएपछि व्यवसायीले संक्रमण फैलिने डरले कम आयात गरेका हुन् । ‘तरकारी भने नेपालमै प्रशस्त उत्पादन हुन्छ,’ पुडासैनीले भने, ‘जसले गर्दा आयातमा केही कमी देखिएको हो ।’ तथ्यांकअनुसार लकडाउन अवधिमा ६९ हजार २ सय ५५ मेट्रिक टन तरकारी र २६ हजार ८ सय ८१ मेट्रिक टन फलफूल आयात भएको छ ।

जेठ ३ र ४ गते आयात नभएको फलफूल जेठ ५ मा ४ सय ७० टन आएको सहप्रवक्ता केसीले जानकारी दिइन् । ‘कोभिड–१९ संक्रमण देखिएपछि बन्द रहेको तातोपानी नाका वैशाख २५ देखि सञ्चालनमा आएको छ,’ उनले भनिन्, ‘अहिले समस्या छैन ।’ पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद पनि सुरु गरेको छ । जेठ ५ सम्म ५ सय ३५ मेट्रिक टन गहुँ किनेको छ । यसले पनि खाद्यान्न मौज्दातमा केही सहयोग पुग्ने केसीको दाबी छ ।

सरकारी तथ्यांकले आयातमा कुनै समस्या नभएको दाबी गरे पनि बिक्री प्रणाली भने बिग्रिएको छ । व्यवसायीका अनुसार वितरण प्रणाली रोकिएको छ । यसले गर्दा व्यवसायीका उत्पादन बिक्री नभएर म्याद सकिएर करोडौं रुपैयाँका वस्तु फाल्नुपरेको छ ।

‘बजारमा पसल नखुल्दा बिक्रीवितरणमा समस्या भयो । सामान पुर्‍याउन सकिएन,’ नेपाल वितरण संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘खाद्यान्न ढुवानी गर्न चालक पनि भएनन् । त्यसैले विभिन्न वस्तुको उपभोग म्याद गुज्रिने समस्या भयो ।’

लकडाउनअघिको तुलनामा समग्रमा वस्तुको आयात भने घटेको छ । विभागका अनुसार दैनिक करिब ४ अर्ब रुपैयाँको वस्तु आयात हुन्थ्यो । ‘समग्र वस्तुको आयात भने करिब ७० प्रतिशत घटेको छ,’ पुडासैनीले भने ।

लकडाउन अवधिमा आएको वस्तु

खाद्यान्न : १,८३,२०० मेट्रिक टन

तरकारी : ६९,२५५ मेट्रिक टन

गेडागुडी/दलहन : ५१,८३६ मेट्रिक टन

फलफूल : २६,८८१ मेट्रिक टन

दुग्ध पदार्थ : ११,२०१ मेट्रिक टन

एलपी ग्यास : ५८,७०५ मेट्रिक टन

डिजेल : ८६,२८८ किलोलिटर

पेट्रोल : ४६,७३६ किलोलिटर

औषधिको कच्चा पदार्थ : ६१ करोड ४९ लाख

तयारी औषधि : २ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबरको

कुल आयात : ६५ अर्ब ७१ करोड ८० लाख

स्रोत : भन्सार विभाग

प्रकाशित : जेष्ठ ८, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?