कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५१ दिनपछि खुल्यो सेयर बजार

नेप्से परिसूचक २५.३० अंक घटेर १ हजार २ सय २६.१५ बिन्दुमा आएको छ
यज्ञ बञ्जाडे

काठमाडौँ — लकडाउनका कारण बन्द भएको सेयर बजार ५१ दिनपछि खुलेको छ । कोभिड–­१९ को संक्रमणको जोखिमबाट बच्न भन्दै चैत दोस्रो सातादेखि सेयर बजार बन्द गरिएको थियो ।

५१ दिनपछि खुल्यो सेयर बजार

बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र बजारलगायत अत्यावश्यक क्षेत्र सञ्चालन गर्ने सरकारको पछिल्लो निर्देशनपछि मंगलबारदेखि धितोपत्रको दोस्रो बजार पनि सञ्चालनमा ल्याइएको हो । संक्रमणकालीन अवस्था भएकाले साविकको कारोबार अवधि घटाएर दैनिक २ घण्टा (११ देखि १ बजेसम्म) बजार सञ्चालन गरिएको थियो । लकडाउनअघि दैनिक ५ घण्टा (११ देखि ४ बजेसम्म) सञ्चालन हुँदै आएको थियो ।

बजार खुलेदेखि नै मंगलबार सेयर बजार निरन्तर ओरालो लाग्यो । यही कारण १२ बजेर २० मिनेट जाँदा नेप्सेको दैनिक कारोबार सीमा २ प्रतिशत नाघ्यो । नेप्से २ प्रतिशत बिन्दुले घटेपछि सर्किट ब्रेकरमार्फत सो दिनको कारोबार बन्द गरियो । कारोनाका कारण विश्वभरका सेयर बजारमा उच्च गिरावट आएका बेला मंगलबार घरेलु सेयर बजारले पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन नेप्से परिसूचक २५.३० अंकले घटेको छ । योसँगै नेप्से परिसूचक १ हजार २ सय २६.१५ बिन्दुमा ओर्लेको छ । लकडाउनअघिको अन्तिम कारोबारमा नेप्से १ हजार २ सय ५१.४६ बिन्दुमा बन्द भएको थियो ।

मंगलबार १० करोड ४३ लाख ७२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । करिब ३ सयवटा कारोबारबाट ८७ कम्पनीका १ लाख ६ हजार ४ सय १२ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब साढे १० करोड रुपैयाँबराबरको सेयर कारोबार भयो ।

चैत ११ मा सरकारले लकडाउन गरेसँगै बन्द भएको सेयर बजार मंगलबारदेखि खुलेको हो । अप्ठ्यारो परिस्थितिमा बजार सञ्चालन गर्नुपरेपछि नेपाल धितोपत्र बोर्डले साविकको दैनिक कारोबार समय घटाएर २ घण्टा बनाएको छ । यस्तै सर्किट ब्रेकरको व्यवस्था पनि परिमार्जन गरी दैनिक २ प्रतिशत मात्र बनाइएको छ ।

सामान्य अवस्थामा कारोबार सुरु भएको पहिलो घण्टामा सेयर बजार ४ प्रतिशत घट्दा/बढ्दा १५ मिनेट, दोस्रो घण्टामा ५ प्रतिशत घट्दा/बढ्दा ३० मिनेट र त्यसपछि ६ प्रतिशत घट्दा/बढ्दा सो दिनको कारोबार नै रोक्नुपर्ने कानुनी व्यवस्था थियो । मंगलबार सेयर कारोबारमा सहभागी १ हजार ६ सय ७१ लगानीकर्तामध्ये ८ सय ८४ जना (५२.९० प्रतिशत) ले अनलाइनमार्फत कारोबार गरेको नेप्सेले जनाएको छ । अनलाइन कारोबार गर्न मंगलबारसम्म २७ हजार १ सय १ जना लगानीकर्ताले लगइन (युजर नेम र पासवर्ड) लिइसकेको नेप्सेको तथ्यांक छ ।

मंगलबार कारोबारमा आएकामध्ये सबै उपसमूहका परिसूचक घटे । जसमध्ये बैंकिङ, जीवन बिमा र अन्य उपसमूहका परिसूचक २ प्रतिशतभन्दा धेरैले घटे । जलविद्युत्, निर्जीवन बिमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी र बाँकी उपसमूहका परिसूचक १ प्रतिशतभन्दा कमले घटेको नेप्सेले जनाएको छ ।

गत फागुनसम्म नेप्सेमा २ सय १२ कम्पनी सूचीकृत छन् । तीमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका छन् । ०७६ असारमा सूचीकृत कम्पनी संख्या २ सय १५ थियो ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८०.३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ५.८, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७, होटलको हिस्सा १.५, व्यापारिक संस्थाको हिस्सा ०.३ तथा अन्य समूहका कम्पनीको हिस्सा ८.५ प्रतिशत छ । ०७६ माघसम्म सूचीकृत संस्थाको सेयर ४ अर्ब ६६ करोड कित्ता रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?