कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएको छैन बन्दरगाह निर्माण

कामदार थोरै भएकाले मेसिनले गर्ने काम बढी भइरहेको छ
बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट साढे दुई किलोमिटर वर टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा लकडाउनका बेला पनि काम भइरहेको छ । यहाँ थोरै कामदारमार्फत काम जारी छ । लगातार काम गर्न पाएको भए अहिलेसम्म ३० प्रतिशतभन्दा बढी काम सकिने प्रोजेक्ट म्यानेजर याङ अन लिनले बताए । ‘अहिलेसम्म १० प्रतिशत मात्र निर्माण सकिएको छ,’ उनले भने । तीन जना नेपाली र १३ जना चिनियाँ कामदारबाट निर्माणको काम भइरहेको छ । उनीहरूलाई मास्क, ग्लोब्स, साबनपानी र सेनिटाइजर व्यवस्था गरिएको छ ।

रोकिएको छैन बन्दरगाह निर्माण

काममा निर्माण सामग्रीको अभाव भने छैन । मानिसभन्दा मेसिनबाट हुने काम बढी गरिएको याङले बताए । एक्स्काभेटरबाट खन्ने, सम्याउने, ढुंगा निकाल्ने तथा क्रसरबाट गिट्टी, बालुवा तयार पर्ने काम भइरहेको छ । नयाँ वर्ष मनाउन चीन गएका कामदार तथा प्राविधिक उतै रोकिएका कारण आयोजनामा कामदार अभाव भएको हो ।

चीन सरकारका तर्फबाट तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको छ । गत मंसिर ४ देखि सुरु भएको बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग छ । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । यसको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन छ । निर्माण सुरु गरेको ३० महिनामा काम सक्ने चिनियाँ निर्माण कम्पनीले बताएको छ ।

कोभिड–१९ को कारण बन्दरगाह निर्माणमा त्यति धेरै असर भने नगरेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवराज ढकालले बताए । ‘लकडाउन सहज भएपछि कामलाई अझ तीव्रता दिनपर्छ,’ उनले भने । नेपाल र चीनबीच हुने द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न बन्दरगाह निर्माण गर्न लागिएको हो । ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुने बन्दरगाहको संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधारणको ३.५ हेक्टर जमिन अधिग्रहण गरिएको छ ।

बन्दरगाहमा ५ हजार स्क्वायर वर्गमिटरको सुविधासम्पन्न ५ तले जाँचपास भवन निर्माण हुनेछ । भवनमा भन्सारका लागि अफिस र क्वार्टरसहितको सुविधायुक्त हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालय रहनेछन् । ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने पार्किङ स्थल पनि बन्नेछ ।

प्रकाशित : वैशाख २५, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?