कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा गुच्‍चीच्याउ टिप्‍ने चटारो

भारतीय बजारमा गुच्चीच्याउ प्रतिकिलो २५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–४, फोतुकी हरिशोभा शाही दुई सातायता बिहानदेखि साँझ अबेरसम्म नजिकैका सामुदायिक वनमा व्यस्त हुन्छिन् । उनकी छिमेकी कला शाहीलाई पनि च्याउ टिप्ने चटारोले एकछिन फुर्सद छैन ।

लकडाउनमा गुच्‍चीच्याउ टिप्‍ने चटारो

उनीहरु मात्र होइन, मुगुका अधिकांश बासिन्दा तीन सातायता जंगलमा गुच्चीच्याउ टिप्ने चटारोमा छन् । कोरोना संक्रमणको जोखिम र लकडाउनको प्रभाव नहुँदा गाउँमा च्याउ टिप्ने लहर चलिरहेको हो । ग्रामीण क्षेत्रका अधिकांश परिवारले गुच्ची च्याउलाई नै आयस्रोतको मुख्य माध्यम बनाएका छन् । ‘सिजनको बेला टिपेको गुच्चीच्याउ बिक्रीबाटै हाम्रो वर्षभरिको खर्च चल्छ,’ हरिशोभाले भनिन्, ‘बजारको समस्या नहुँदा र च्याउको भाउ बढ्दै जाँदा बर्सेनि आम्दानी बढिरहेको छ ।’

स्थानीयबासी च्याउ खोज्न जंगल जान थालेपछि अहिले सोरुका अधिकांश गाउँ सुनसान छन् । दैनिक एक सय ५० देखि दुई सय दाना च्याउ टिपेर ल्याउने गरेको कलाले बताइन् । ‘विद्यालय बन्द भएकाले बालबालिकादेखि वृद्धसम्म दैनिक जंगल आउँछौं,’ उनले भनिन्, ‘परिवारका सबै सदस्यले दिनमा आधा पाउसम्म च्याउ टिपिरहेका छौं ।’

ताजागाउँकी गंगादेवी शाहीले च्याउ टिप्ने चटारोले फुर्सद पाउन मुस्किल रहेको बताइन् । उनको परिवारका आठजना सदस्य नजिकैका सामुदायिक वनमा च्याउ टिप्न जान्छन् । च्याउ टिप्ने सिजन सुरु भएपछि फोतु, नेर, ताजा, लिब्रु, सोरुकोट, बन्जाहा, धैनकोट, कालै, रारा, रुमलगायत गाउँ केही सातायता सुनसान छन् । ‘खेतीको काम पनि सकिएकाले च्याउ टिप्न जंगल पस्नेको घुँइचो लागेको हो,’ उनले भनिन्, ‘गाउँमा लकडाउनको प्रभाव शून्य छ ।’

यो वर्ष धेरै हिमपात र वर्षा भएकाले गुच्चीच्याउको उत्पादन राम्रो भएको स्थानीयको भनाइ छ । स्थानीयलाई सतर्कता अपनाएर च्याउ संकलन गर्न आग्रह गरिएको सोरु गाउँपालिका–४ का वडाध्यक्ष डबलबहादुर शाहीले बताए । ‘सामुदायिक वनमा बढी घुँइचो हुन नदिन स्वयम्सेवक परिचालन गरिएको छ,’ उनले भने, ‘कोरोनाको संक्रमण हुन नदिन सबै घरधुरीमा मास्क, सेनिटाइजर र हात धुने साबुन पनि वितरण गरेका छौं ।’

२९ सयदेखि ३३ सय मिटरसम्मको उचाइमा च्याउ उम्रिने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन प्रमुख भरतबहादुर बुढथापाका अनुसार मुगुमा चैतदेखि बैशाख अन्तिम सातासम्म गुच्ची च्याउ संकलन हुन्छ । निगालो र पिपल भएको जंगलमा बढी गुच्ची च्याउ बढी पाइने उनले जानकारी दिए । कार्यालयका अनुसार रारारुम, गिलाहा, नेर, कालैलेक, माग्री र पिना गाउँका जंगल गुच्चीच्याउका भण्डार मानिन्छन् । गुच्चीच्याउ कालो र पँहेलो रंगमा उम्रिन्छ । कालो च्याउको माग विदेशमा बढी भएकाले बढी मूल्यमा बिक्री हुने डिभिजन वन प्रमुख वुढथापाले बताए ।

स्थानीय बजारमा प्रतिगोटा पाँच र प्रतिकिलो सात हजार रुपैयाँमा च्याउ बिक्री हुने गरेको छ । व्यवसायीका अनुसार च्याउको माग भारत र तिब्बत बढी छ । भारतीय बजारमा गुच्चीच्याउ प्रतिकिलो २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय व्यापारी कमल मल्लले बताए । उनका अनुसार स्थानीयले जंगलबाट टिपेर ल्याएको च्याउ केही दिन घाममा सुकाएर बिक्री गर्छन । ‘लकडाउनका कारण यो वर्ष च्याउ बिक्रीमा केही समस्या हुने देखियो,’ उनले भने, ‘लकडाउन थपिए असारपछि मात्र च्याउको खरिदबिक्री हुनेछ ।’

जिल्लामा बर्सेनि करिब ३५ क्विन्टल च्याउ उत्पादन हुने डिभिजन कार्यालयले जनाएको छ । डिभिजनले च्याउमा प्रतिकिलो तीन सय रुपैयाँ राजस्व लिइरहेको जनाएको छ । स्वादिलो हुने र विभिन्न उपचारमा प्रयोग हुने भएकाले गुच्चीच्याउको मुल्य बढ्दै गएको डिभिजन प्रमुख वुढथापाले जानकारी दिए ।

प्रकाशित : वैशाख २४, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?