कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारीको थोक बजारमा खुद्राको मूल्य

भीड नहोस् भनेर उपत्यकाका ११ ठाउँमा सुरु गरिएका बजार व्यवस्थित बनेनन्
विमल खतिवडा

काठमाडौँ — काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा सुरु गरिएको तरकारीको थोक बिक्री प्रभावकारी बन्न सकेको छैन । थोक भनेर सुरु गरिए पनि अहिले खुद्रा बजारकै मूल्य लिइएको छ । ती ठाउँमा कालीमाटी र बल्खुबाट मात्र नभई सबैतिरबाट ल्याएर तरकारी बिक्री गर्न थालेपछि उपभोक्ता आफैं किन्न जाने गरेका छन् ।

तरकारीको थोक बजारमा खुद्राको मूल्य

यहाँ लिइने मूल्यमा समेत एकरूपता छैन । कोभिड–१९ संक्रमण फैलिने डरले कालीमाटी र बल्खुको भीड कम गर्ने उद्देश्यले चैत २५ मा उपत्यकाका ११ स्थानमा तरकारीको थोक बिक्री सुरु गर्ने निर्णय गरिएको थियो । तर तोकिएका ठाउँमा भीड मात्र बढेको छैन, शारीरिक दूरीसमेत कायम हुन सकेको छैन ।

‘हाम्रो उद्देश्य एउटा थियो, तर काम अर्कै हुन पुग्यो,’ महानगरका कृषि प्रमुख हरिबहादुर भण्डारीले भने, ‘भीड हटाउने सोचअनुसार बजार सुरु गरेका थियौं, थोक भनेर थालिएको बजार खुद्रा भयो । जुन तरकारीको उत्पादन कम भएको छ, त्यसको मूल्य महँगो लिइएको छ ।’ बजार राम्रोसँग चले पनि मूल्यमा एकरूपता नहुँदा समस्या भएको उनको भनाइ छ ।

‘नयाँ खुलेका बजारमा कालीमाटीकै थोक मूल्य कायम गर्न खोजिएको हो, त्यो भएन,’ उनले भने, ‘एउटै बजारमा सहकारी, व्यक्ति र कालीमाटी बजारका व्यापारी हुन्छन् । त्यही भएर थोक बजार खुद्रा बने ।’ बजार व्यवस्थापनका विषयमा के गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए।

‘ती बजारले शारीरिक दूरी पनि कायम गर्न सकेका छैनन्,’ भण्डारीले भने, ‘कालीमाटीबाट बजारसम्म पुग्दा ५/१० रुपैयाँ फरक परेको छ । यो स्वाभाविक हो । तर यी बजारबाट लगेर बिक्री गर्नेले सय प्रतिशत नाफा लिने गरेका छन् ।’ यो समस्या चाँडै समाधान गर्न लागिपर्ने उनको भनाइ छ ।

टोलटोलमा तरकारीको माग छ । यसका लागि टोल सुधार क्लबले व्यवस्थापन गरेका छन् । ‘टोलमा नयाँ मान्छे भित्रिन नदिने, आफैं सावधानी अपनाएर तरकारी ल्याएर बिक्री गर्ने काम भएको छ,’ भण्डारीले भने, ‘हामीले समन्वय गर्ने काम गरेका छौं । सुरु गरिएका बजारमा बिहान ३ देखि ९ बजेसम्म बजार सञ्चालन गर्नेबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको छ ।’ सुरुका ११ स्थानमध्ये नजिकै तरकारी बजार भएकाले बाफलमा बिक्री सुरु नगरिएको उनले जानकारी दिए । चाबहिल र वसुन्धरामा थप दुई/दुई ठाउँमा बिक्री गरिएको छ । ११ मध्ये दुईवटा पार्टी प्यालेसबाट पनि तरकारी बिक्री सुरु गरिएको छ ।

६ ठाउँमा कालीमाटी तरकारी तथा फलफूल बजार, चार ठाउँमा बल्खु र एक ठाउँमा गैरआवासीय नेपाली संघअन्तर्गतको कृषि सहकारीले बिक्री गर्ने जिम्मा लिएका छन् । त्यसमा दुईवटा पार्टी प्यालेसबाट तरकारी उपलब्ध गराइएको छ । मदननगर, कलंकी, स्वयम्भुचोक, वनस्थली, नवदुर्गा पार्टी प्यालेस र चाबहिलमा कालीमाटीका व्यवसायीले तरकारी बिक्री व्यवस्थापन गरिरहेका छन् । लैनचौर, अस्थायी बसपार्क रत्नपार्क, तीनकुने र कोटेश्वरमा बल्खुका व्यवसायीले व्यवस्थापन गरेका छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले प्रचारप्रसारको कमीका कारण तरकारीका थोक बजारबारे सबैलाई थाहा भइनसकेको बताए । ‘कहाँ बजार खुलेको छ भन्ने कुरा सबैलाई थाहा छैन,’ उनले भने, ‘थोकबाट लगेको तरकारी खुद्रामा पुग्दा महँगोमा बिक्री भएको कुरा आएको छ, यसबारे अनुगमन गर्ने काम महानगरपालिकामार्फत नै भइरहेको छ ।’

प्रकाशित : वैशाख १७, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?