१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नागढुंगा सुरुङ निर्माण सुरु हुँदै

४२ महिनाभित्र निर्माण सक्ने गरी गत कात्तिकबाट सुरुङ निर्माण थालिएको हो
घर गएका कामदार ल्याएर आवासीय रूपमा राखिने
विमल खतिवडा

काठमाडौँ — दुई महिनादेखि निर्माण रोकिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम केही दिनभित्र सुरु गर्ने तयारी छ । सुरुङमार्गमा बर्खाअघि सक्नुपर्ने कामलाई प्राथमिकता दिइने आयोजनाले बताएको छ । जापानी निर्माण कम्पनी हाज्मा आन्दोलाई आइतबार पत्र लेखेर काम सुरु गर्नेबारे प्रस्ताव मागिएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

नागढुंगा सुरुङ निर्माण सुरु हुँदै

‘लकडाउनका बेला कसरी काम गर्न सकिन्छ भनेर निर्माण कम्पनीको परामर्शदातासँग रायसहितको प्रस्ताव मागेका छौं,’ उनले भने, ‘प्रस्ताव आइसकेको छैन, काम सुरु गर्ने कुरामा निर्माण कम्पनी सकारात्मक छ ।’ प्रस्ताव आउनासाथ निर्माण थालिने उनको भनाइ छ । अहिले निर्माणस्थलमा कामदार छैनन् । २ सय ८० जना कामदार घर गएका छन् । तीमध्ये केही कामदारलाई सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गर्दै ल्याएर काम अघि बढाइने खरेलले जानकारी दिए ।

धादिङतर्फ मुआब्जाको विषयले गर्दा लकडाउनअघि एक महिना काम रोकिएको थियो । यही बेला फेरि कोभिड–१९ ले समस्या निम्त्यायो । ‘काम गर्दै जाँदा साइटमा अवरोध र लकडाउनले गर्दा दुई महिना काम रोकियो,’ उनले भने, ‘जापानी र फिलिपिनो गरी १३ जना प्राविधिक मात्र छन् ।’ जापानबाट अन्य कामदार आइसकेका छैनन् ।

सिरहा र झापाबाट कामदार ल्याउनुपर्ने अवस्था रहेको प्रमुख खरेलले बताए । पास बनाएर काठमाडौंबाट गाडी लगेर ती कामदार ल्याउने उनको भनाइ छ । केही सीमित कामदार मात्र ल्याइने र आयोजनास्थलमा भीड पनि नगराइने उनले जानकारी दिए ।

काम अघि बढाउने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग छलफल भइरहेको खरेलले बताए । मन्त्रालयबाट सबै आयोजनालाई आवश्यक सुरक्षा अपनाएर काम पुन: सुरु गराउन भनिएको र त्यहीअनुसार आयोजनाको काम सुरु गर्न लागिएको हो ।

शारीरिक दूरी कायम गरेर कामदारलाई आयोजनामा खटाइने उनले जानकारी दिए । क्याम्पमा राखेर बाहिरका मान्छेसँग सम्पर्क गर्न नदिइने उनको भनाइ छ । ‘कामदारलाई मास्कको व्यवस्था गर्छाैं,’ उनले भने, ‘सेनिटाइजर र ह्यान्ड वासको व्यवस्था पनि हुन्छ । आवश्यकताअनुसार स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राख्छौं ।

४२ महिनाभित्र निर्माण सक्ने गरी गत कात्तिकबाट सुरुङ निर्माण थालिएको हो । समयमै साइट उपलब्ध हुन नसक्दा र लकडाउनले गर्दा बाधा पुगेको समय थप गर्नुपर्ने निर्माण कम्पनीको माग छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ मा सुरुङमार्गको शिलान्यास गरेका थिए ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सुरुङमार्गमा बर्खाअघि सक्नैपर्ने कामलाई प्राथमिकता दिइने जानकारी दिए । ‘काम रोकिएको धेरै भयो, बर्खा लाग्न लाग्यो,’ उनले भने, ‘त्यही भएर लकडाउनको समयमा गर्न सकिने काम अघि बढाउन लागिएको हो ।’

धादिङतर्फ १०९ रोपनीमध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्नेछ, जसमा ४४ मध्ये झन्डै २६ रोपनी वायु गुठीको नाममा छ । काठमाडौंतर्फ भने समस्या नरहेको आयोजनाले जनाएको छ । २ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्बको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।

प्रकाशित : वैशाख १६, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?