तीन तह वर्गीकरण गरी उद्योग सञ्चालन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

तीन तह वर्गीकरण गरी उद्योग सञ्चालन

सुरक्षा उपाय अपनाएर अत्यावश्यकबाहेक अन्य उद्योग पनि चलाउनुपर्छ – मोतीलाल दुगड,राज्यमन्त्री
राजु चौधरी

काठमाडौँ — सरकारले उद्योगलाई ‘तीन तह’ मा वर्गीकरण गरी सञ्चालन गर्ने तयारी थालेको छ । पहिलो चरणमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा विकास निर्माणलगायत कच्चापदार्थ उत्पादन गर्ने उद्योग र तेस्रो चरणमा निर्यात उद्योग सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले बताए ।

‘नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसहितको बैठकले यस्तो सहमति गरेको हो,’ आपूर्तिमन्त्री लेखराज भट्टका निजी सचिवसमेत रहेका बस्नेतले भने, ‘लकडाउनको अवधिमा खाद्य, औषधि, मास्कलगायत उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइनेछ ।’

मन्त्रालयका अनुसार मजदुरलाई उद्योगकै क्वारेन्टाइनमा राख्ने, एकै ठाउँमा राखेर खाने, बस्ने सुविधा मिलाउने सहमति भएको छ । एकै ठाउँमा राख्न सम्भव नभए सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाउन लगाइने बस्नेतले बताए । अर्थतन्त्रलाई चलायमान गराउन उद्योग सञ्चालन अपरिहार्य रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरको भनाइ छ ।

‘अत्यावश्यकबाहेक अन्य उद्योग पनि चलाउनुपर्छ,’ उनले भने, ‘सुरक्षा मापदण्ड भने अनिवार्य अपनाउनुपर्छ ।’ ग्रिन जोन क्षेत्रका उद्योग सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयकै तथ्यांकअनुसार सरकारबाट अनुमति पाएका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग क्षमताअनुसार चल्न सकेका छैनन् । दाल, चामल, तेललगायत उद्योग ४० प्रतिशत मात्रै सञ्चालन भइरहेका छन् । कच्चापदार्थ र स्पेयर पाटर््सको अभावमा उद्योगको क्षमता कम हुँदै गएको नेपाल चामल, तेल, दाल उद्योग संघले जनाएको छ ।

‘अहिले कुल ४० प्रतिशत मात्रै सञ्चालनमा छन् । कच्चापदार्थको आयात घटेको छ,’ संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भने, ‘केही उद्योग बन्द हुने क्रममा छन् ।’ यसका अतिरिक्त पोल्ट्री क्षेत्रमा अत्यावश्यक दाना उद्योग पूर्णरूपमा चल्न सकेका छैनन् । डेरी उद्योग पनि चलेका छैनन् । मुलुकको औषधिको कुल मागको ४५ देखि ५० प्रतिशत अंश स्वदेशी उत्पादनले धान्दै आएका छन् । ती उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।

खाद्यान्नको मौज्दात पनि घट्दै गएको छ । यी विविध कारणले पनि उद्योग सञ्चालन अपरिहार्य भएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताए ।

‘लकडाउन कति लम्बिने हो, थाहा छैन । खाद्यान्नको मौज्दात घटिरहेको छ,’ उनले भने,‘उद्योग सञ्चालनमा सहजीकरण गर्न र सुविधा दिन तयार छौं ।’

हावाहुरी, असिना जस्ता प्राकृतिक विपत्तिको सामना गर्न जस्तापाता, इँटालगायत उद्योग पनि चलाउने तयारी रहेको उनले बताए । सरकारले यसअघि पनि इँटा उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर पूर्णरूपमा चल्न सकेका छ्रैनन् । चलेका उद्योगले पनि ५० प्रतिशत हाराहारी क्षमतामा उत्पादन गरिरहेका छन् ।

‘सरकारले राष्ट्रिय गौरवका आयोजना, विकासका आयोजना पनि सञ्चालन गर्न दिने निर्णय गरेको उपसचिव बस्नेतले जानकारी दिए । त्यसका लागि इँटा उद्योग चलाउनैपर्छ,’ उनले भने, ‘तेस्रो चरणअन्तर्गत सिमेन्ट उद्योग सञ्चालन हुन्छन् ।’ लकडाउनले औद्योगिक क्षेत्र ठप्प भएपछि व्यवसायीले राहत प्याकेजसमेत मागिरहेका छन् । विद्युत्, ब्याज छुटलगायत आर्थिक प्याकेज हुनुपर्ने उनीहरूको भनाइ छ । ‘राहत प्याकेजका लागि प्रतिवेदन बुझाएका छौं । राज्यले आफ्नो क्षमताअनुसार दिनुपर्छ,’ परिसंघका अध्यक्ष मोरले भने ।

उद्योगीहरूका माग सम्बन्धमा आपूर्ति मन्त्रालय सकारात्मक छ । मन्त्रालयका तर्फबाट उक्त प्रस्ताव जस्ताको त्यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमा पेस गरिने जनाइएको छ । समितिबाट स्वीकृत गराएर मन्त्रिपरिषद्बाट निर्णय गरिने उपसचिव बस्नेतले बताए ।

प्रकाशित : वैशाख ११, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

जसले मास्क बाँडे, उसैबाट डर

जुन परिवारले ८२० वटा मास्क सिलाएर बाँडेको थियो, त्‍यो परिवारका दम्पती नै संक्रमण पुष्टि भई आइसोलेसनभर्ना भएपछि गाईघाटवासी भयभीत छन्
डिल्लीराम खतिवडा

उदयपुर — कोरोना भाइरसविरुद्ध सतर्कताका लागि भुल्के सामुदायिक वन उपभोक्ता समूहले मास्क सिलाउन लगाएर आफ्ना सदस्यका घरघरै बाँड्ने निर्णय गर्‍यो । मास्क सिलाउने जिम्मा आफ्नै गाउँका टेलरलाई दिइयो, जो केही समयअघि गाईघाटमा टेलरिङको काम गर्दै आएका थिए ।

चैत १९ मा समूहले मास्क बनाउन ठेक्का दिएपछि ४१ वर्षीय ती युवकले एक जना सहयोगी राखेर आफ्नो भुल्केस्थित घरैमा छिटै मास्क तयार मात्रै पारेनन्, समुदायमा परिवारै मिलेर बाँडे ।

अहिले उनैले सिलाएको मास्क सितैं पायौं भनेर खुसीसाथ लगाएकाहरू डराएका छन् । कारण, उनी र उनकी श्रीमतीमा कोभिड–१९ पोजेटिभ पाइयो । मस्जिदका जमाती र भुल्केका गाउँलेमा उनीसहितका २४ जना विराटनगरमा उपचाररत छन् ।

‘समूहले मास्क सिलाउने ठेक्का लोकललाई दिएको हो । हाम्रै भुल्केका मुस्लिम समुदायका टेलर हुन्,’ समूहकी सचिव दिलमाया राउतले भनिन्, ‘प्रतिगोटा ४ रुपैयाँका दरले ८ सय २० पिस मास्क सिलाउने ठेक्का दिएका थियौं । हामीले त्यो मास्क समूहको सदस्य ३ सय २० घरधुरीलाई २–२ वटाको दरले बाँडेका थियौं ।’

बजारमा टेलरिङ व्यवसाय गरेकाले चिनिएका उनी सपरिवार संक्रमित भएको खुलेपछि भयले परीक्षण गराउन चाहने बढेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित पुष्टि गरेको ११ जनामध्ये एउटै घरमा बसेका बाबु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाइँ र १८ वर्षीय भान्जा पनि छन । उक्त घरका छोरा भारतको उत्तर प्रदेशमा उर्दू भाषा पढ्न गएका थिए । उनी लकडाउन सुरु हुनुभन्दा चार दिनअघि चैत ७ गतेमात्रै भुल्केस्थित घर आएको स्थानीयले बताए । गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएकी बैनी लकडाउन लम्बिँदा व्यापार नहुने र बजारको घरमा बस्न अप्ठ्यारो हुने भन्दै श्रीमान र छोरासहित माइती आएकी थिइन । बजारभन्दा गाउँ सजिलो भनेर उनीहरू भ्ल्के गएको गाईघाटका छिमेकीले बताए ।

मास्क सिलाएर बाँड्नेका दम्पती नै संक्रमित रहेको थाहा पाएपछि मास्क लगाउने घरधुरीका सबै परिवार त्रसित छन् । ‘मास्क मुस्लिम बस्ती र बाहिरका पनि धेरैलाई बाँडिएको थियो,’ स्थानीय शम्भु थापाले भने,’ सामुदायिक वन उपभोक्ता समूहले तिनैलाई दिएको रहेछ, उनैले सबै मास्क अर्का एकजना सहयोगी राखेर तयार गरेका थिए ।’

साढे तीन किलोमिटर वरपर छ उदयपुर सदरमुकाम गाईघाट र २४ जना संक्रमित भेटिएको गाउँ भुल्के । आसपासका सबै गाउँको मुख्य बजार गाईघाट नै हो । गाउँमा फलेका कृषिउपज बेच्नेदेखि ज्यालाबनी गर्न र सानोतिनो खुद्रे व्यवसाय गर्न भुल्केबाट गाईघाट आउजाउ नगर्ने कोही छैनन् । संक्रमितको संख्या बढेसँगै भुल्के र आसपासको क्षेत्रमा त्रास छँदै छ, गाईघाटका बासिन्दा पनि डराएका छन् ।

पछिल्लोपटक संक्रमण पुष्टि भएका भुल्केका बासिन्दा बराबर गाईघाट आउजाउ गरिरहनेहरू परेकाले त्रास बढेको हो । त्रियुगा नगरपालिका–२ भुल्केको नूरी मस्जिदमा बस्दै आएकासँगै स्थानीयमा कोरोना पोजिटिभ भेटिँदा गाईघाटवासी संक्रमितसँग कतै भेट भएको थियो/थिएन भन्ने हिसाब केलाइरहेका छन् । सुरुमा मस्जिदमा बस्दै आएका जमाती र त्यसपछि स्थानीयमा संक्रमण पुष्टि भएपछि आफू पनि संक्रमित भइयो कि भन्ने सर्वसाधारण त्रास छ ।

भुल्केमा फल्ने अन्न, तरकारी र दूधको मुख्य बजार गाईघाट नै हो । तरकारी पकाएर खाइन्छ । दूध उमालेर मात्रै पिउने गरिन्छ । त्यसैले खाएकोमा खाएपिएकोमा संक्रमण नहोला भन्दा पनि स्थानीय ढुक्क छैनन् । ‘त्यही तरकारी र दूध ल्याउनेसँगै भाइरस त आएन भन्ने शंका लागिरहन्छ,’ गाईघाट बजारकी निर्मला कार्कीले भनिन्, ‘लकडाउन सुरु भएपछि पनि धेरै दिन भुल्केको दूध र हरियो तरकारी किनियो ।’

भुल्केको मुस्लिम समुदाय अन्य पेसा व्यवसायसँगै बाह्रैमास तरकारी खेती गर्छन् । युवाहरू भारत, कतार, दुबई, मलेसिया र साउदी अरब लगायतमा वैदेशिक रोजगारमा छन् । केही महिला गाउँघरतिर डुलेर चुरा बेच्छन् । केही पुरुष बुधबार गाईघाट बजारमा लाग्ने साप्ताहिक हटियामा बसेर छाता बनाउने र अन्य दिन गाउँघर डुलेर छाता, कुकर, ग्यास चुलो मर्मत गर्ने गर्छन् ।

डुलेर चुरा बेच्ने चुरावाली र छाता, कुकर, ग्यास चुलो बनाउनेहरू ७/८ दिन पहिलेसम्म निर्वाध रूपमा आफनो काम गरिरहेका थिए । ‘चुरीवालीहरू गाउँघर डुलेर चुरा बिक्री गरिरहेका थिए,’ स्थानीय यदु ढकालले भने, ‘लकडाउन भए पनि ६/७ दिन पहिलेसम्म छाता मर्मत गर्नेहरू गाउँघर डुलेर आफ्नो काम गरिहेकै थिए ।’ त्यसैले तिनीहरूसँगै संक्रमण गाईघाटमा पनि आइपुग्यो कि भन्ने त्रास भइरहेको उनले बताए ।

चुरा बेच्ने र छाता मर्मत गर्नेको परिवारका सदस्य संक्रमित भएर अहिले आइसोलेसनमा छन् । त्यसैगरी गाईघाट बजारमा हरियो तरकारी बिक्री गर्नेको पनि परिवारका सदस्य कोरोना पोजिटिभ देखिएर अस्पतालमा छन् । चुरा बिक्री गर्नेले किन्नेको प्रत्यक्ष रूपमा हात समातेर चुराको साइज नाप्नेदेखि लगाइदिनेसम्म गर्ने गर्छन् । छापा, कुकर र ग्यास बनाउने पनि अन्यसँग प्रत्यक्ष सम्पर्कमा हुन्छ । त्यसै पनि सर्वसाधारणमा त्रास बढेको हो ।

कोरोना सक्रमण फैलिएको भुल्केको बस्तीमा नूरी मस्जिदसँगै मुस्लिम समुदायको ५२ परिवारको बसोबास छ । त्यहाँ करिब ६ सय २० जनसंख्या छ ।

पहिले कोराना संक्रमणको पुष्टि भएका १३ जनासहित १६ जनाको प्रारम्भिक ट्राभल हिस्ट्रीले उनीहरू गत चैत १ गते आएको देखाउँछ । उपचारमा संलग्न चिकित्सकहरूले उनीहरूलाई करिब १५ दिनभित्र संक्रमण भएको बताउँछन् । त्यसोभए नूरी मस्जिद र आसपासमा कसले र कहाँबाट संक्रमण ल्यायो भन्ने विषय पेचिलो बन्दै गएको छ ।

भुल्केको मुस्लिम बस्तीसँगै जोडिएको चौधरी र त्यसबाट थोरै फरकमा क्षत्री बाहुन, जनजाति मिश्रित बस्ती पनि छ । मास्क बाँड्ने, चुरा बेच्ने र छाता बनाउनेहरूमा संक्रमण पुष्टि हुनुपूर्वसम्म ती बस्तीमा धेरै आवतजावत गरेको स्थानीयले बताए ।

भुल्केमा सेनाको १८ नम्बर बाहिनी पनि छ । सुरुका १३ जना संक्रमित बसेको मस्जिदबाट ५ सय मिटरको दूरीमा बाहिनीको प्रवेशद्वार छ । संक्रमित बसेको स्थान नजिकै बाहिनी भएको र आउजाउ भएकाले जोखिम देखिएको हो । पहिलेदेखि नै सतर्कता अपनाएको र प्रत्यक्ष सम्पर्क नभएकाले बाहिनीमा जोखिमको सम्भावना कम रहेको बाहिनीपति कृष्ण सापकोटाले बताए । ‘सेना हिजो पनि सतर्क थियो,’ उनले भने, ‘आज पनि सतर्क भएकाले जोखिमको सम्भावना नहुनुपर्ने हो ।’

स्थानीयले संक्रमित व्यापारी गाउँ सिल हुनुपूर्व लकडाउनकै समयमा पनि गाईघाट आउजाउ गरेको बताउँछन् । गाईघाट बजार र नजिकैका बस्तीसमेत आउजाउ भएकाले संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि ती र तीसँग जोडिएका नजिकका बस्तीमा त्रास फैलिएको स्थानीयले बताए ।

‘अहिले बाहिर निस्कनुपर्ने अवस्था छैन,’ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाल मोहम्मद मियाँले भने, ‘सरकारले छिटोभन्दा छिटो थपको परीक्षण र औषधि उपचारको व्यवस्था गरी संक्रमण नियन्त्रण गरिदिए हुन्थ्यो ।’

प्रकाशित : वैशाख ११, २०७७ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×