कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा नुडल्स र रारा पुनः सञ्चालनमा

औद्योगिक क्षेत्रमा रहेका अन्य केही उद्योग पनि चलिरहेका छन्
लालप्रसाद शर्मा

पोखरा — लकडाउनपछि बन्द पोखरा नुडल्स प्रालि र रारा चाउचाउ उत्पादन गर्दै आएको हिमश्री फुड्स सोमबारबाट सञ्चालनमा आएका छन् । पोखरा नुडल्सले एक सिफ्ट मात्रै सञ्चालनका लागि ८५ मजदुरलाई बोलाएको छ । उनीहरूलाई आवासीय सुविधा दिइएको छ । ‘धेरै प्रकारका असहजताबीच उद्योग सञ्चालन थालेका हौं,’ उद्योगका कार्यकारी निर्देशक बाबुराम पन्तले भने, ‘उद्योगमा शारीरिक दूरी कायम गरेका छौं । मौज्दात कच्चापदार्थबाटै उद्योग सञ्चालनमा ल्याइएको हो ।’

उद्योगले प्रतिदिन रम्बा, बोनस, जोजो चाउचाउ २५ हजार कार्टुन उत्पादन गर्दै आएको छ । अब भने १२ प्रतिशत मात्रै उत्पादन गरिने पन्तले बताए । पोखरा औद्योगिक क्षेत्रभित्र रहेको उद्योगमा २ सय ७५ कामदार छन् ।

यसैगरी रारा चाउचाउ उत्पादन गर्ने हिमश्री फुड्स पनि सोमबारबाट सञ्चालनमा आएको छ । उद्योगले पनि नजिकैका ५० जना कामदार बोलाएर एक सिफ्टमा उत्पादन थालेको हो । ‘अधिकांश उद्योग नजिकै घर भएका हुनुहुन्छ । टाढाबाट कोही आएको भए आवासीय रूपमा राख्ने गरी उद्योग सञ्चालन गरेका हौं,’ उद्योगका महाप्रबन्धक अमित थापाले भने, ‘स्टक कच्चापदार्थबाट काम सुरु गरिएको छ ।’ यसअघि प्रतिदिन १०/१२ टनसम्म रारा चाउचाउ उत्पादन हुने गरेकोमा अहिले भने त्यसको १५ प्रतिशत उत्पादन तयारीमा उद्योग छ ।

कोरोना संक्रमण रोक्न लकडाउन सुरु भएसँगै बन्द पोखरा औद्योगिक क्षेत्रभित्रका उद्योग पछिल्लो समय सञ्चालन हुन थालेका छन् । चार दिनअघि मात्र पोखरा फुड्स र गौरीशंकर फुड्स सञ्चालनमा आएका थिए । केही उद्योग सञ्चालनको तयारीमा रहेको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिए ।

सुजल, पन्थी र फिस्टेल डेरी कम क्षमतामा भए पनि नियमित सञ्चालन भइरहेको उनले बताए । सुजलले पाउडर दूध बनाइरहको छ । अन्नपूर्ण र हिमालयन बेभरेज (पानी), दुईवटा अक्सिजन ग्यास उद्योग, प्लास्टिक बोतल र जार बनाउने सत्यं इन्डस्ट्रिज, सुजल प्लास्टिक र पीआर नेसनल पनि नियमित सञ्चालनमा छन् । विश्व दाना उद्योग (कुखुराको दाना) र फलामको सामान बनाउने हिलटेक आइरन उद्योग पनि नियमित सञ्चालन भएको कार्यालयले जनाएको छ । नियमित सञ्चालित शान्ति इन्जिनियरिङले कोरोना संक्रमण जाँचका लागि फाइबरबाट स्वाब संकलन बुथ बनाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको जनाएको छ । साथै कोरोना जाँच प्रयोगशालामा बायोमेट्रिक लक बनाइएको सञ्चालक वसन्त रेग्मीले बताए । अहिलेसम्म निरन्तर चलिरहेको गण्डकी टायल (ब्लक उद्योग) मा अब भने सिमेन्ट सकिएकाले समस्या पर्न थालेको छ । उपाध्यायका अनुसार ताजा पाउरोटी उद्योग सञ्चालनको तयारीमा छ ।

औद्योगिक क्षेत्रभित्र ७६ उद्योग छन् । त्यसमध्ये २७ उद्योग ८ देखि ५० प्रतिशत क्षमतामा चलेको कार्यालयले जनाएको छ । उत्पादन बिक्रीवितरणमा कठिनाइ र बजारमा कतिपय सामानको मागै नभएकाले पनि अन्य उद्योग बन्द भएको उपाध्यायको भनाइ छ । अहिलेसम्म पुरानै कच्चा पदार्थको स्टकले धानिरहेको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष बलभद्र नकर्मीले बताए ।

प्रकाशित : वैशाख ९, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?