कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी फलाउँछन्, आफैं बजार पुर्‍याउँछन्

तरकारी कुहिएर जानुभन्दा सस्तो मूल्यमा उपभोक्तालाई बेचौं भनेर किसानले थाले पहल
नुमा थाम्सुहाङ

काठमाडौँ — आफूले उत्पादन गरेको तरकारी लकडाउनका बेला बिक्री गर्न किसानले विभिन्न विकल्प अपनाउन थालेका छन् । उनीहरूले विभिन्न कृषि सहकारीसँग समन्वय गरेर आफैंले बजारसम्म पुर्‍याई तरकारी बेच्न सुरु गरेका छन् । बिक्रीका लागि ठिक्क भएको तरकारी त्यत्तिकै फाल्नुभन्दा उचित विकल्प खोजी उपभोक्तामाझ पुर्‍याउनु नै उचित रहेको किसान बताउँछन् ।

तरकारी फलाउँछन्, आफैं बजार पुर्‍याउँछन्

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित ग्रिनलाइन एग्रोपाली, च्याउ उत्पादक किसान संघ नेपाल, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमल्सिना च्याउ फार्मलगायतले यसैगरी च्याउ तथा अन्य तरकारी बेचिरहेका छन् । आफ्नै फार्म, संघ र कृषि सहकारीसँगको सहकार्यमा च्याउ तथा तरकारी बिक्री गरिरहेको ग्रिनलाइन एग्रोपालीका सञ्चालक दयाराम मच्चामसीले जानकारी दिए । तिमल्सिना च्याउ फार्मका सञ्चालक सीताराम तिमल्सिनाले भने आफैं बजार लगेर तरकारी एवं च्याउ बेचिरहेका छन् । किसानको बारीमा फलेको तरकारी जम्मा गरी जिल्ला कृषि सहकारी भक्तपुरसँगको सहकार्यमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकासँग सहयोगमा त्यहाँका वडावडा र टोलमा गएर बिक्री गर्ने काम गरिरहेको संघका अध्यक्ष्य प्रेमनारायण अधिकारीले बताए ।

‘संघले च्याउ मात्र नभई अन्य तरकारी र अन्डा पनि संकलन गरेर बिक्री गरिरहेको छ,’ उनले भने, ‘सामाजिक दूरी कायम गरेर, मास्क, पन्जाजस्ता सुरक्षाका उपाय अपनाएर उपभोक्तालाई तरकारी बिक्री गरिरहेका छौं ।’ संघले गोब्रे च्याउ प्रतिकिलो ३ सय ५० रुपैयाँ र कन्ये च्याउ प्रतिकिलो १ सय ३० रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । आलु प्रतिधार्नी १ सय रुपैयाँ, प्याज, टमटर, गोभी, काउली, साग, सिमी, मटरकोसा, काँक्रालगायत तरकारी प्रतिकिलो २० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बिक्री गरिरहेको बताएको छ । अन्डा प्रतिक्यारेड २ सय ५० रुपैयाँमा बिक्री गरिएको अधिकारीले जानकारी दिए ।

‘लकडाउन सुरु भएको दुई दिनपछि हामीले यसरी बिक्री सुरु गरेका हौं । दुईदुई वटा गाडी र मोटरसाइकलबाट बिक्री गरिरहेका छौं,’ उनले भने, ‘लकडाउन अगाडि आफ्नै फार्मको च्याउ खेर जाने अवस्था आएपछि सबैबाट तरकारी जम्मा गरेर बिक्री गर्ने सोच आएको हो । काम गर्ने ६/७ जना छौं । रातको २ देखि बिहानको ८ बजेसम्म तरकारी जम्मा गर्ने र सबै एकएक किलो प्याकेटमा तयार गर्ने काम गरिरहेका छौं ।’

ग्रिनलाइन एग्रोपालीका सञ्चालक मच्चामसीले ४० रोपनीको क्षेत्रफलमा च्याउ, कुरिलो र ब्रो काउली लगाएका छन् । उनले धनियाँ, काँक्रा, फर्सी, मुलालगायत तरकारी पनि लगाएका छन् । ‘लकडाउनमा मेरो १७ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । सब्जी कुहिएर जानुभन्दा कम भए पनि पैसा आउँछ भनेर बिक्रीको उपाय अपनाएको छु,’ उनले भने, ‘दैनिक ६ देखि ७ सय केजीसम्म तरकारी बिक्री गरिरहेको छु । कन्ये च्याउ पहिला सय रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेकामा अहिले ७० रुपैयाँ होलसेलमै दिनुपरेको छ ।’ फार्मबाट ५० प्रतिशत कालीमाटी बजार र बाँकी कृषि सहकारीले किन्ने गरेको उनले बताए ।

तिम्सिना च्याउ फार्मका सञ्चालक तिमल्सिनाले पनि १० लाख रुपैयाँ नोक्सान भएको दाबी गरे । कन्ये च्याउको मात्र खेती गर्दै आएका उनी भन्छन्, ‘फागुनमा १७ लाख रुपैयाँ लगानी गरेर आठ हजार प्याकेट च्याउ लगाएँ । च्याउ बिक्री गर्ने समयमा लकडाउन भयो । घाटामै भए पनि सके जति च्याउ धुम्बाराही र जोरपाटीका तरकारी बजार पुर्‍याएको छु ।’ उनले दैनिक तीन सयदेखि चार सय केजीसम्म च्याउ बिक्री गरिरहेका छन् । साथै उनले ७० केजी च्याउ सुकुटी बनाएर राखेका छन् । १०–११ केजी सुकाउँदा एक केजी सुकुटी बन्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ६, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?