पूर्वी नाकाबाट आयात ठप्प, पश्‍चिम बंगाल सरकारले रोक्यो भन्सार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी नाकाबाट आयात ठप्प, पश्‍चिम बंगाल सरकारले रोक्यो भन्सार

पर्वत पोर्तेल

झापा — भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाकाबाट एक सातायता आयात पूर्ण रूपमा ठप्प छ । कोरोना भाइरस संक्रमण त्रासका कारण भारत पश्चिम बंगालको भन्सार विभागको पत्राचारपछि आयात ठप्प भएको हो । भुटान र बंगलादेशबाट नेपालमा हुने वस्तुको आयात पनि रोकिएको छ । 

पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिस्नर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने जनाएका छन् । उनले नाकामा आएर थन्किएका वस्तुलाई अन्य नाकाबाट पठाउनसमेत भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएका छन् ।

मेची भन्सारका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार पश्चिम बंगाल भन्सार विभागको पत्राचारपछि आयात ठप्प भएको हो । विश्वकर्माले भने, ‘तेल, तरकारी र ग्याससमेत आयात हुन पाएको छैन ।’

विराटनगरको जोगवनी, वीरगञ्जको रक्सौल, भैरहवाको सुनौली, नेपालगंजको रुपैडिया र धनगढीको वनबासा नाकाबाट भने आयात जारी रहेको भन्सार प्रमुख विश्वकर्माले जनाए । उनका अनुसार आयात रोकिँदा हजारौं टन सामान भारतीय भन्सार क्षेत्रमा थन्किएका छन् ।

भन्सार एजेन्ट मित्र संग्रौलाले आयात हुन नसक्दा करोडौं मूल्यको वस्तु कन्टेनरमै कुहिन थालेको जनाए । उनले भने, ‘पश्चिम बंगाल सरकारलाई अनुरोध गरेर फलफूल, तरकारी, तेल, ग्यास आदि अत्यावश्यक वस्तु आयात गरिनुपर्छ ।’ तर, पश्चिम बंगाल सरकारले यस्तो अवस्थामा कुनै हालतबाट पठाउन नसक्ने भन्दै ‘रि–रुट’ गरी अन्य नाकाबाट पठाउन आग्रह गरिसकेको छ ।

भन्सारका अनुसार पश्चिम बंगालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । जसका कारण बंगाल सरकारले आगामी ३० अप्रिलसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ । ‘भारतीय भन्सार क्षेत्रमा थन्किएका सामान आयातका लागि अनुरोध गरिरहेका छौं’, भन्सार प्रमुख विश्वकर्माले भने, ‘तर, बंगाल सरकारले स्थिति सामान्य नहुन्जेल आयात इजाजत दिनेजस्तो छैन ।’

भारतबाट निर्वाध वस्तु आयात भएको र कोरोना संक्रमणको जोखिम बढेको भन्दै मेचीनगरका स्थानीयले आयात रोक्न भन्सारलाई आग्रह गरेका थिए । मेचीनगर नगरपालिका, भन्सार र प्रहरीबीच डेढ साताअघि सम्पन्न बैठकले तेल, ग्यास र तरकारीबाहेक अन्य वस्तु आयात गर्न नदिने निर्णय गरेका थिए । तर, निर्णयको भोलिपल्टै करिब एक सय १४ वटा मालवाहक ट्रक र कन्टेनर भित्रिएपछि स्थानीय थप आक्रोशित बनेका थिए । मेचीनगरका स्थानीय मिलनराज प्रसाईंले भने, ‘भारतबाट वस्तु आयात नहुँदा नेपाली जनता भोकै मदैनन्, कोरोनाको जोखिमको बेला आयात रोकिएको छ, यो राम्रो कुरा हो ।’ बंगाल सरकारले गरेको कडाइपछि भुटान र बंगलादेशसँगको व्यापार पनि ठप्प छ ।

११ चैतदेखि एकसाता अघिसम्म भारतबाट तरकारी, फलफूल, ग्यास र हवाइ इन्धन, कोइला, क्लिंकरलगायतका वस्तु आयात भएको थिए । लकडाउनको समयमा १५ लाख ६५ हजार ७ सय ४५ किलो तरकारीजन्य सामग्री भित्रिएको थियो । यस्तै, एक लाख १४ हजार २९३ किलो फलफूल, ग्यास १५ लाख ५९ हजार पाँच सय ८५ किलो र ४४ किलोलिटर हवाइ इन्धन आयात भएको थियो ।

प्रकाशित : वैशाख ३, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

भीआईपीका सुरक्षाकर्मी सीमामा किन नखटाउने ?

विशिष्टको सुरक्षामा सशस्त्रका मात्रै ५ सय ५५ जना परिचालन
भारतमा बढ्दो संक्रमणका कारण सीमा क्षेत्र सबैभन्दा बढी संवेदनशील छ । अनावश्यक सुरक्षा र सुविधा कटौती त्यस क्षेत्रमा परिचालन गर्नुपर्छ ।– शशि श्रेष्ठ, राज्यव्यवस्था समिति सभापति
कुलचन्द्र न्यौपाने

काठमाडौँ — निगरानी फिलतो हुँदा लकडाउनमा पनि सीमा क्षेत्रबाट मानिस लुकीछिपी भित्रिरहेका छन् । यस्तो बेला जतिसक्दो बढी सुरक्षाकर्मी सीमामा परिचालन गर्नुपर्ने देखिएको छ । तर केही सुरक्षाकर्मीलाई मापदण्डविपरीत ‘भीआईपी’ को व्यक्तिगत सुरक्षामा खटाइएको छ ।

संकटका बेला त्यस्ता सुरक्षाकर्मीलाई फिर्ता गरी सीमा क्षेत्रमा खटाउनुपर्ने आवाज पूर्वप्रशासक, राजनीतिक दलका नेता तथा नागरिक समाजबाट उठिरहेको छ ।

भीआईपी सुरक्षाका नाममा राजनीतिक दलका नेता तथा अवकाश प्राप्त प्रहरी अधिकृतका परिवारमा सशस्त्र प्रहरी बलबाट मात्रै ५ सय ५५ सुरक्षाकर्मी खटाइएको छ । तीमध्ये अधिकतरले मापदण्डविपरीत राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा पीएसओ, चालक र सहयोगीका रूपमा सुरक्षाकर्मी लिएका छन् ।

राज्य व्यवस्था समितिकी सभापतिसमेत रहेकी नेकपा नेतृ शशि श्रेष्ठले सुरक्षाकर्मीको दुरुपयोग रोकेर उनीहरूलाई सीमा सुरक्षामा खटाउनुपर्ने बताइन् । उनले राज्य व्यवस्था समितिबाटै सरकारलाई निर्देशन दिनसमेत चाहेकी थिइन् ।

लकडाउन लगत्तैदेखि समितिको बैठक राख्न धेरै प्रयत्न गरिन् । नसकेपछि अनलाइनबाटै बैठक राख्ने योजना अघि सारिन् । समितिका सदस्यहरूलाई जोड्न भाइबर ग्रुप तयार पारिन् । तर भाइबर ग्रुपमा आधा सदस्य पनि नजोडिएपछि अनलाइन बैठक राख्ने प्रयत्न सफल हुन सकेन । ‘भीआईपी सुरक्षा र स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयका विषयमा छलफल गराउने र सरकारलाई सुझाव दिने योजना मेरो थियो,’ उनले भनिन्, ‘तर सम्भव हुन सकेन ।’

अनावश्यक भीआईपी सुरक्षा कटौती गरेर सीमा क्षेत्र रक्षाका लागि खटाउनुपर्ने आफ्नो धारणा धेरैअघिदेखि रहेको र त्यसअनुसार गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखसँग पटकपटक छलफलसमेत भएको उनले खुलाइन् । ‘भारतमा बढ्दो संक्रमणका कारण सीमा क्षेत्र सबैभन्दा बढी संवेदनशील भएको छ । उच्च जोखिम भएको त्यस क्षेत्रमा थप सुरक्षा बल पठाउन आवश्यक छ,’ उनले थपिन्, ‘सरकारले तत्काल निर्णय गरेर अनावश्यक सुरक्षा र सुविधा कटौती गरेर जनताको सुरक्षामा परिचालन गर्नुपर्छ ।’

दीर्घकालीन रूपमा यस्तो दुरुपयोग रोक्न सुरक्षा खतराको वास्तविकता अध्ययन हुनुपर्ने उनको भनाइ छ । भीआईपीका नाममा अनावश्यक रूपमा दिइएका पछुवा गाडी फिर्ता लिएर स्वास्थ्य क्षेत्रमा लगाउनुपर्ने पनि उनले बताइन् ।

कसलाई कति सुरक्षाकर्मी ?

विशिष्ट व्यक्तिका नाममा सशस्त्र प्रहरीबाट सबैभन्दा बढी सुरक्षाकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा खटिएका छन् । पछुवा गाडीसहित उनको सुरक्षाका लागि सशस्त्र प्रहरीका ४६ सुरक्षाकर्मी छन् । दोस्रो नम्बरमा कांग्रेस सभापति शेरबहादुर देउवा पर्छन् । उनको निवासमा पनि पछुवासहित सशस्त्रका २१ प्रहरी खटाइएका छन् ।

पूर्वप्रधानमन्त्रीमा माधवकुमार नेपाल निवासमा पछुवासहित १५ सुरक्षाकर्मी छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पछुवा लिएका छैनन् । उनको सुरक्षाका लागि ८ जना सशस्त्र प्रहरी खटिएका छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछुवासहित १४, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पछुवासहित ९ सुरक्षाकर्मी लिएका छन् ।

एकपटक उपप्रधानमन्त्री भएका सबैजसोले पछुवा सहितको सुरक्षाकर्मी राखेका छन् । कांग्रेस नेताहरू रामचन्द्र पाडेल निवासमा १३, कृष्णप्रसाद सिटौला निवासमा १२, गोपालमान श्रेष्ठ निवासमा ७, प्रकाशमान सिंह निवासमा १२, विमलेन्द्र निधि निवासमा ९, विजय गच्छदार निवासमा १२ पछुवासहितका सुरक्षाकर्मी खटिएका छन् ।

नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ निवासमा ११, वामदेव गौतम निवासमा १३, भीम रावल निवासमा १४, पूर्वगृहमन्त्री जनार्दन शर्माको निवासमा १२ पछुवासहितका सुरक्षाकर्मी छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापाले पछुवासहित १२ सुरक्षाकर्मी लिएका छन् । पूर्वउपप्रधानमन्त्रीको हैसियतमा कम सुविधा लिनेमा कांग्रेस नेतृ सुजाता कोइराला पर्छिन् । उनले सशस्त्रका एक चालक मात्रै लिएकी छन् ।

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भइसके पनि उनको निवासको सुरक्षाका लागि सशस्त्रका २ जना र एउटा गाडी खटाइएको छ । त्रिशूलीमा गाडी पल्टेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको निवासमा पनि ३ सुरक्षाकर्मी खटाइएका छन् । पूर्वराजपरिवारको सुरक्षाका लागि ७१ सुरक्षाकर्मी परिचालित छ । सप्रवल नेपाल पूर्वराजपरिवार क्लोज प्रोटेक्सन सुरक्षा बेसका लागि ५७ र सप्रवल ज्ञानेन्द्र शाह निवास सुरक्षा बेस नागार्जुनका लागि गाडी सहित १४ सुरक्षाकर्मी खटाइएका हुन् ।

यस्तो सुविधा लिनेहरूमा पार्टीका कायकर्ता, पूर्वमन्त्री, पूर्वमहान्यायाधिवक्तासमेत छन् । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिमा गृहमन्त्रीलाई १०, पूर्वगृहमन्त्रीलाई २ सुरक्षाकर्मी दिने व्यवस्था छ । पहुँचका आधारमा मापदण्डविपरीत सुरक्षाकर्मी लिने प्रचलन रोगजस्तै बनेको छ ।

सशस्त्र प्रहरीमा पूर्वअधिकृतहरूका लागि १ सय ३० सुरक्षाकर्मी खटिएका छन् । कार्यविधिमा अवकाश प्राप्त महानिरीक्षकका लागि बडीगार्ड, परिचर र सवारी चालक गरी ३ जना लिन पाउने व्यवस्था छ । अतिरिक्त महानिरीक्षकका लागि सवारी चालक र परिचर १ गरी दुई जना चार वर्षका लागि, नायब महानिरीक्षकका लागि सवारी चालक वा परिचर एक जना ३ वर्षका लागि लिन पाउने व्यवस्था छ । तर, सबैजसो अवकाश प्राप्त अधिकृतले तोकिएको मापदण्ड भन्दा बढी सुरक्षाकर्मी लिएका छन् । एकपटक लिइसकेपछि आजीवन कायम राख्ने रोग प्रहरीभित्रै समेत देखिएको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले सोमबार नै भीआईपी निवासमा खटिएका अनावश्यक सुरक्षाकर्मी कटौतीका लागि निर्देशन दिएका छन् । तर, उनको निर्देशनअनुसार त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता होलान् त ? राज्य व्यवस्था समितिमा रहेका कांग्रेस नेता दिलेन्द्र बडुले राज्य स्रोतको अनावश्यक खर्चलाई कटौती गरेर संक्रमणका लागि परिचालन गर्नुपर्ने बताए । ‘भीआईपीको सुरक्षा र सुविधा मात्रै होइन, निर्वाचन क्षेत्रका लागि सांसदलाई छुट्याइने बजेटसमेत कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा परिचालन गर्नुपर्छ,’ बडुले भने, ‘आज (मंगलबार) भएको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यिनै सुझाव मैले दिएको छु ।’

पूर्वगृहसचिव मोदराज डोटेलले विशिष्ट व्यक्तिका नाममा बीसौं वर्षदेखि सुविधा लिने प्रचलन गलत भएको बताए । ‘कसलाई कति सुरक्षा चाहिएको हो, अध्ययन गरेर आवश्यकताअनुसार दिनुपर्छ, तर एउटै व्यक्ति बीसौं वर्षसम्म खतरामा हुँदैन,’ उनले भने, ‘यही मौकामा यस्ता दुरुपोग रोक्नुपर्छ । अहिले सुरक्षाकर्मी निवासमा होइन, सडकमा चाहिएको छ । निवासबाट तिनलाई सडकमा ल्याउनुपर्छ ।’

प्रकाशित : वैशाख ३, २०७७ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×