कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राेकिएको छैन अत्यावश्यक वस्तु आयात

१७ दिनमा साढे १३ अर्बको आयात
भारतबाट फलफूल आयात बन्द गरिँदै
राजु चौधरी

काठमाडौँ — सरकारले लकडाउन गरेयता साढे १३ अर्ब रुपैयाँ बराबरको अत्यावश्यक वस्तुको आयात भएको छ । चैत ११ यता बिहीबारसम्म १३ अर्ब ६८ करोड ४५ लाख रुपैयाँका विभिन्न वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । १७ दिनमा ३७ हजार ३ सय ३३ मेट्रिक टन खाद्यान्न र २१ हजार ६ सय २५ टन तरकारी आयात भएको विभागले बताएको छ ।

राेकिएको छैन अत्यावश्यक वस्तु आयात

यो अवधिमा १४ हजार ५३ टन गेडागुडी तथा दलहन र ६९ टन दुग्धपदार्थ आएको छ । ‘दिनदिनै उपयोग हुने वस्तुको आयात रोकिएको छैन,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘आपूर्ति सहज नै छ ।’ खाद्यान्नबाहेक औषधिजन्य वस्तुको आपूर्ति पनि नरोकिएको उनले बताए । विगत १७ दिनमा औषधिका लागि चाहिने कच्चापदार्थ १० करोड ८७ लाख रुपैयाँ बराबरको आयात भएको उनले जनाए । तयारी औषधि पनि ५६ करोड ९७ लाख २८ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । राजस्व बढी असुल हुने वस्तु (सवारी साधन) भने आएका छैनन् ।

दैनिक एक सय करोड राजस्व उठ्ने गरेकोमा १५–२० करोड हाराहारीमा मात्र राजस्व उठेको महानिर्देशक दाहालले बताए । १७ दिनमा ५ हजार ९ सय ६० टन फलफूल आयात भएको विभागको तथ्यांक छ । फलफूल आयात भने बिस्तारै घटेको छ । चैत २५ मा ८ सय १३ टन भित्रिएको फलफूल चैत २६ मा ६ सय ५१ टन र २७ गते १ सय ९३ टन भित्रिएको थियो । चीनमा कोरोना भाइरसको प्रकोप बढेपछि त्यहाँबाट फलफूल आएको छैन ।

व्यवसायीले भारतबाट मात्रै फलफूल आयात गरिरहेका छन् । भारतमा पनि संक्रमण बढ्न थालेपछि बल्खु फलफूल व्यवसायी संघले आयात बन्द गर्ने निर्णय गरेको छ । ‘भारतमा संक्रमण बढ्दो छ । फलफूल आयात गर्दा ट्रकमा चालक/सहचालक पनि आउँछन्,’ संघका अध्यक्ष अमर बानियाँले भने, ‘अहिले विशेष परिस्थिति भएकाले आयात बन्द गर्ने निर्णय गरेका छौं ।’ व्यवसायीका अनुसार होलसेलमा करिब एक सातालाई पुग्ने फलफूल छ । जसले गर्दा मूल्यमा कुनै असर नपुग्ने उनको दाबी छ ।

तीन दिनयता भारतबाट फलफूलको लोड नभएको उनले जानकारी दिए । ‘भैरहवालगायत तराई क्षेत्रका लागि सामान्य रूपमा भित्रिएको छ,’ बानियाँले भने, ‘उपत्यकाका लागि भित्रिएको छैन ।’ व्यवसायीले आयात नगर्ने निर्णय गरे पनि सरकारी निकायबाट भने बन्द गर्ने निर्णय भएको छैन । बल्खु बजारमा भीड बढेकाले पनि रोक्ने निर्णय गरिएको उनले बताए । सरकारले खुला गरिरहे पनि आफूहरूले आयात नगर्ने उनको भनाइ छ ।

मुलुकभित्र पर्याप्त उत्पादन नहुँदा बर्सेनि करोडौं रुपैयाँको फलफूल आयात भइरहेको छ । बल्खुमा भित्रिने फलफूलले उपत्यकाको माग धान्छ । व्यवसायीमा कोरोनाको त्रास बढेकाले केही समस्या भएको विभागका महानिर्देशक दाहालले बताए । अहिले देखिएका समस्या समाधान गर्न भन्सारमा स्प्रे गरेर मात्रै भित्र्याउन दिइएको उनले बताए । ‘सामान आयात गर्दा स्प्रेसँगै केही समयका लागि भन्सारमा होल्ड पनि गरेका छौं,’ उनले भने ।

तरकारी, खाद्यान्नसँगै इन्धन आयात पनि पर्याप्त भएको छ । लकडाउनयता खाना पकाउने एलपी ग्यास २२ हजार ९ सय ४३ टन भित्रिएको विभागको तथ्यांक छ । साथै ४ हजार ४ किलोलिटर पेट्रोल र ५ हजार ७ सय ८० किलोलिटर डिजेल भित्रिएको छ । सामान्य दिनको अवधिमा डिजेल र पेट्रोलको आयात भने थोरै हो । ‘आयात हुने वस्तुमध्ये डिजेल एक नम्बरमा हुन्थ्यो,’ विभागका एक अधिकारीले भने, ‘अहिले डिजेलको आयात भने घटेको छ ।’ हाल इन्धनको माग छैन । निगमसँग भएको भण्डार पनि सबै भरिएको छ । भण्डारण सबै भरिएपछि पेट्रोलियम पाइपलाइनबाट गरिने आपूर्ति बन्द गरिएको नेपाल आयल निगमले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि अत्यावश्यक वस्तुको आयात नियमित हुने व्यवस्था मिलाएको बताएको छ । ‘नेपाल–चीन सीमाको तातोपानी नाका सञ्चालनमा आएको छ । भारत सरकारले चैत २४ देखि लागू हुने गरी २४ वटा औषधिजन्य पदार्थ निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ,’ आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘औषधि, औषधिजन्य सामग्री, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आयात नियमित हुने व्यवस्था मिलाइएको छ । सार्क राष्ट्रहरूबीच साफ्टाअन्तर्गतको व्यापार सहज बनाउन सबै सदस्य राष्ट्रबीच भिडियो कन्फरेन्समार्फत वार्ता भएको छ । व्यापारलाई थप सहज पनि बनाइएको छ ।’

तरकारी तथा फलफूलको थोक बिक्रीस्थलमा भीड हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग समन्वय गरी उपत्यकाका विभिन्न ११ स्थानबाट तरकारी तथा फलफूलको थोक बिक्री गरिएको छ ।

खाद्यान्नका उद्योग ४१ प्रतिशत क्षमतामा मात्रै सञ्चालन

लकडाउनका कारण खाद्यान्न उद्योग ४१ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको पाइएको छ । औद्योगिक कोरिडोरहरूमा रहेका खाद्यान्न उद्योग उक्त क्षमतामा मात्र सञ्चालन भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । तेलहन उद्योग ६४ र खानेपानी उद्योग ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको मन्त्रालयको भनाइ छ । यस्तै दुध उद्योग ५०, पशुपन्छीको दाना उद्योग ३३, औषधि उद्योग ७३ र इँटा उद्योग ४८ प्रतिशत क्षमतामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

चैत ११ देखि २७ गतेसम्म आयात भएका वस्तु

खाद्यान्न : ३७ हजार ३ सय ३३ टन

तरकारी : २१ हजार ६ सय २५ टन

गेडागुडी/दलहन : १४ हजार ५३ टन

फलफूल : ५ हजार ९ सय ६० टन

दुग्ध पदार्थ : ७९ टन

औषधिको कच्चा पदार्थ : १० करोड ८७ लाख

तयारी औषधि : ५६ करोड ९७ लाख २८ हजार रुपैयाँको

एलपी ग्यास : २२ हजार ९ सय ४३ टन

डिजेल : ५ हजार ७ सय ८० किलोलिटर

पेट्रोल : ४ हजार ४ किलोलिटर

कुल आयात (रकममा) : १३ अर्ब ६८ करोड ४५ लाख ९८ हजार रुपैयाँ

०००

एक सातामा कति रुपैयाँको वस्तु आयो ?

चैत २१ : ६७ करोड ८९ लाख रुपैयाँ

चैत २२ : ३५ करोड ९ लाख ८९ हजार रुपैयाँ

चैत २३ : ९४ करोड ४३ लाख ५४ हजार रुपैयाँ

चैत २४ : ४३ करोड ७५ लाख ४ हजार रुपैयाँ

चैत २५ : १ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ

चैत २६ : ९७ करोड ४ लाख ८४ हजार रुपैयाँ

चैत २७ : १ अर्ब ६५ करोड ६५ लाख ६४ हजार रुपैयाँ


स्रोत : भन्सार विभाग

प्रकाशित : चैत्र २९, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?