कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थतन्त्रमा कोरोना असरबारे राष्ट्र बैंककाे अध्ययन

कार्यदलले कोरोना संक्रमणले वित्तीय क्षेत्रमा परेको असर र निदानका लागि गर्नुपर्ने नीतिगत सुझावसहितको प्रतिवेदन बनाउनेछ

काठमाडौँ — अर्थतन्त्रमा कोभिड–१९ को असर पत्ता लगाउन राष्ट्र बैंकले अध्ययन थालेको छ । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कार्यभार सम्हालेपछि पहिलो निर्णयका रूपमा एक कार्यदल गठन गरी अध्ययन सुरु गरेका हुन् । राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक संयोजक रहेको कार्यदलमा सोही विभागका निर्देशक सदस्य सचिव रहनेछन् ।

अर्थतन्त्रमा कोरोना असरबारे राष्ट्र बैंककाे अध्ययन


कार्यदलमा राष्ट्र बैंक नियमन, सुपरभिजन, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणाली विभागबाट एक/एक जना र बैंकर्स एसोसिएसनका अध्यक्ष सदस्य छन् । ‘कोभिड–१९ भाइरसको संक्रमणले नेपाली अर्थतन्त्रमा पर्न सक्ने असर र आवश्यक नीतिगत उपायका सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल’ नाम दिइएको समितिले वैशाखभित्र प्रतिवेदन बुझाउन कार्यनिर्देश पाएको छ । सरोकारवालासँग छलफल गरी कोरोनाले अर्थतन्त्रमा पारेको असर र निदानका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिने कार्यदलका संयोजक एवं राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । कार्यदलले खासगरी कोरोना संक्रमणले वित्तीय क्षेत्रमा परेको असर र निदानका लागि गर्नुपर्ने नीतिगत सुझाव समेटेर प्रतिवेदन तयार पारिने उनले बताए । सुझावका आधारमा कोरोना प्रभावितलाई राहतका लागि आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।


कोरोना भाइसरले नेपाली अर्थतन्त्र पनि प्रभावित हुने आँकलन राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै गरेको थियो । अहिले त्यसबारे औपचारिक अध्ययन थालेको हो । ‘कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


आँकलन गरिएअनुसार नै नेपाली पर्यटन क्षेत्र अहिले नराम्ररी प्रभावित भइसकेको छ । अर्थतन्त्रका विविध क्षेत्रमध्ये पर्यटन सबैभन्दा धेरै समस्याग्रस्त बनेको बताइएको छ । यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी पनि धेरै बढाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि माघसम्म यो क्षेत्रमा साढे १६ अर्ब रुपैयाँ थपिएको छ । यो हवाई तथा पार्टपुर्जा, होटल, सार्वजनिक यातायात, ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, र्‍याफ्टिङलगायत पर्यटन क्षेत्रमा भएको लगानी हो । माघसम्म यो क्षेत्रमा निजी क्षेत्रको कुल १ खर्ब ५४ अर्ब रुपैयाँ लगानी भएको छ । ७ महिनामा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब १२ प्रतिशत बढेको छ । गत आवमा भने पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब ३८ अर्ब रुपैयाँ थियो ।


यो क्षेत्रमा प्रवाह भएको बैंक तथा वित्तीय संस्थाको कर्जामध्ये हवाईजहाज तथा पार्टपुर्जामा ७ अर्ब, ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, र्‍याफ्टिङलगायतमा २ खर्ब ६७ अर्ब, होटलमा १ खर्ब ३ अर्ब र सार्वजनिक यातायात १६ अर्ब ६० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।


अर्धवार्षिक समीक्षामा समग्र मागबाट सिर्जना हुने मूल्य र बाह्य क्षेत्र दबाबलाई व्यवस्थापन गर्दै उत्पादन, रोजगारी र उद्यमशीलता विकासमा वित्तीय साधनको उपलब्धतालाई प्रोत्साहन गर्ने, ब्याजदर स्थायित्व प्रवर्द्धन गर्ने र वित्तीय पहुँच अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहेको बताइएको थियो । ‘मौद्रिक नीतिको उद्देश्यअनुरूप बाह्य क्षेत्र सन्तुलनमा छ,’ प्रतिवेदनमा भनिएको छ, ‘व्यापार घाटामा कमी आएको, शोधनान्तर स्थिति बचतमा र वित्तीय साधन परिचालनमा सन्तुलन कायम भएको छ ।’


वित्तीय क्षेत्र सुदृढीकरणको दिशामा अगाडि बढेको छ । वित्तीय सेवाको पहुँच अभिवृद्धि भएको छ । ‘मूल्यवृद्धि नियन्त्रणमा केही दबाब देखिएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘पछिल्लो समय छिमेकी मुलुकमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपालमा पनि परेको छ ।’

प्रकाशित : चैत्र २७, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?