कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंबाट शनिबार चार चार्टर उडान, ७ सय ६४ विदेशी फर्किए 

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशी र पर्यटकलाई जहाजबाट उद्धार गर्ने क्रममा शनिबार पनि जारी रह्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, काठमाडौंबाट शनिबार कतार एयरवेजका दुइटा वाइडबडी विमानले पेरिस र फ्रयांकफर्टका लागि चार्टर उडान गरे । त्यस्तै मलेसियन र सिंगापुरका नागरिकका लागि मालिन्दो एयरले चार्टर उडान गरेको थियो ।

काठमाडौंबाट शनिबार चार चार्टर उडान, ७ सय ६४ विदेशी फर्किए 

अर्को चौथो उडान दिउँसो ५ बजे चेक एयरलाइन्सले युरोपको चेक रिपब्लिकका नागरिकका लागि गरेको थियो । यी चारवटै विमानमा ७ सय ६४ विदेशी स्वदेश फर्केका छन् ।


विमानस्थलका अनुसार, कतार एयरवेजले पेरिसका लागि गरेको उडानमा ३ सय ३ यात्रु थिए । त्यस्तै जर्मनको फ्रयांकफर्टका लागि पनि ३ सय ३ यात्रु थिए । काठमाडौंबाट कतारको वाइडबडी विमानबाट गएका ती सबै दोहाबाट चार्टर विमान नै चढेर फ्रान्स र फ्रयांकफर्ट जाने छन् । मालिन्दोले ६६ जना मलेसियन र सिंगापुरका नागरिक लिएर फर्केको थियो ।


त्यसैगरी चेक एयरलाइन्सको जहाज श्रीलंकामा रहेका ४० जना चेक रिपब्लिकन नागरिक बोकेर काठमाडौंबाट उडेको थियो । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, कोलम्बो हुँदै अपराह्न आइपुगेको उक्त विमानले काठमाडौंबाट ९२ थप चेक नागरिक राखेर उडेको थियो ।


पहिलोपटक नेपाल आएको चेक एयरलाइन्सको उक्त एयरबस ३२० चार्टर विमान अर्मानियाको येरवानमा इन्धन भरेर चेकको राजधानी प्राग पुग्ने छ ।


शनिबार भएका चारवटामध्ये तीन उडान काठमाडौंमा रहेका फ्रान्स, जर्मन र मलेसियन दूतावासले गरेका थिए । चेकको उडान काठमाडौंमा रहेको उक्त मुलुकको वाणिज्यदूतावासले गरेको विमानस्थलले जनाएको छ ।


यसैबीच काठमाडौंमा रहेका अमेरिकी र ग्रिनकार्डवाहक नेपालीसहित ३ सय ३ जनालाई कतार एयरवेजको चार्टर विमानले आइतबार दोहा हुँदै वासिङ्टन लैजाँदै छ ।

लकडाउनयता सर्वाधिक चार्टर उडान गर्ने मुलुकमा जर्मनले तीन र फ्रान्सले दुइटा गरेका छन् । महाप्रबन्धक केसीका अनुसार लकडाउन सुरु भएयता १२ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भए । जस्मा नेपालमा अलपत्र परेका २४ सय हाराहारी विदेशी स्वदेश फर्केका छन् ।


प्रकाशित : चैत्र २२, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?