कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् प्राधिकरण बन्यो, सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकाय बनेको छ ।

विद्युत् प्राधिकरण बन्यो, सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान

नेपाल फाइनान्सियल रिपोर्टिङ मापदण्डअनुसार तयार भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणको नाफा १० अर्ब ६६ करोड ७९ रुपैयाँ देखिएको छ । प्राधिकरणले गत भदौमा आफ्नो नाफा ७ अर्ब २० करोड हुने प्रक्षेपण गरेको थियो ।


महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव ०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । योसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ ।


प्राधिकरणको जगेडा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव ०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो ।


प्राधिकरण आव ०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा सञ्चित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा थियो । प्राधिकरणले आव ०७३/७४ र २०७४/७५ मा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख खुद नाफा आर्जन गरेको थियो ।


विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरूसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि, प्राधिकरणका जलविद्युत् आयोजनाहरूको उत्पादनमा वृद्धि जस्ता कारण तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आव ०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव ०७५/७६ मा आइपुग्दा १५.३२ प्रतिशतमा झरेको छ ।

‘अमेरिकी डलरमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरिएको ६० मेगावाट खिम्ती–१ विद्युत् आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आउँदै छ । पीपीए दर पनि नयाँ तय हुने भएकाले प्राधिकरणलाई ठूलो राहत मिल्छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पीपीए दर सस्तो भएकाले यसबाट प्राधिकरणको वित्तीय स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पर्छ । तर यसका लागि मुलुकभित्र विद्युत् खपत बढाउन र बढी भएको विद्युत् निकासीको बन्दोबस्ती गर्नु भने चुनौतीपूर्ण छ,’ घिसिङले भने ।


विद्युत् चुहावट घट्दा यसको सकारात्मक प्रभाव प्राधिकरणको विद्युत् बिक्रीबाट प्राप्त गर्ने आम्दानीमा परेको छ । प्राधिकरणले आव ०७५/७६ मा ३८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ भने विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ । आव ०७२/७३ मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । एक प्रतिशत विद्युत् चुहावट घटाउँदा करिव ७० करोड रुपैयाँ प्राधिकरणलाई फाइदा हुने अनुमान छ ।


प्रकाशित : चैत्र २१, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?