कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनका तीन दिनमा ग्राहकले बैंकबाट साढे ३ अर्ब झिके

यज्ञ बञ्जाडे

काठमाडौँ — सरकारले पहिलो पटक ‘लकडाउन’ घोषणा गरेपछिका तीन दिन (गत मंगलबार, बुधबार र बिहीबार) सर्वसाधारणले करिब साढे ३ अर्ब रुपैयाँ बैंकबाट झिकेका छन् ।

लकडाउनका तीन दिनमा ग्राहकले बैंकबाट साढे ३ अर्ब झिके

कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न सरकारले नागरिकलाई घरमै बस्न निर्देशन दिएपछि एटीएम र बैंकको काउन्टरबाट निकालिएको रकम हो यो । उक्त रकम वाणिज्य बैंकहरूबाट मात्र झिकिएको हो ।


लकडाउनको समयमा आवश्यक सामग्री खरिद गर्न, आपत्कालीन अवस्थालगायत कामका लागि ग्राहकले पैसा निकालेका हुन् । सो अवधिमा ग्राहकले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट पनि रकम निकालेका छन् । उक्त तथ्यांक यहाँ समावेश छैन । उक्त रकम पनि जोड्दा ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट निकालेको रकम धेरै हुन आउँछ ।


सरकारले पहिलो चरणमा गत मंगलबार (चैत ११ देखि १६ सम्म) लकडाउन घोषणा गरेको थियो । लकडाउन सुरु भएपछिका तीन दिनमा एटीएमबाट १ अर्ब १७ करोड २६ लाख र चेकमार्फत २ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ नगद निकालिएको राष्ट्र बैंकको तथ्यांक छ । बैंकबाट झिकिएको रकम काठमाडौं उपत्यकाभन्दा मोफसलमा धेरै छ । एटीएमबाट झिकिएको रकममध्ये काठमाडौं उपत्यकाभित्र ५५ करोड ७४ लाख रुपैयाँ छ । बाँकी ६१ करोड ५१ लाख रुपैयाँ मोफसलका ग्राहकले निकालेका छन् ।


यसैगरी चेकबाट पनि काठमाडौं उपत्यकाभन्दा मोफसलमा धेरै रकम निकालिएको छ । तीन दिनमा काठमाडौं उपत्यकाभित्रका बैंकका काउन्टरबाट ७३ करोड ६ लाख रुपैयाँ र उपत्यकाबाहिरबाट १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ नगद झिकेको देखिन्छ ।

यो अवधिमा ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पोओएसलगायत विद्युतीय माध्यमबाट पनि ठूलो कारोबार गरेका छन् । ती माध्यमबाट ठूलो परिमाणमा कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ ।


प्रकाशित : चैत्र १७, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?