कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक किस्ता बुझाउने म्याद स्थगन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ — यातायात व्यवसायीले नियमित रूपमा बैंकलाई बुझाउनुपर्ने साँवा, ब्याज (किस्ता) स्थगन गर्न माग गरेका छन् ।

बैंक किस्ता बुझाउने म्याद स्थगन गर्न यातायात व्यवसायीको माग

कारोना (कोभिड–१९) भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि सार्वजनिक यातायात बन्द भएकाले बैंकको सावा ब्याज तिर्न नसक्ने भन्दै स्थगनको माग गरेका हुन् । व्यवसायीले आइतबार अर्थसचिव शिशिर ढुङ्गानालाई भेटेर आफ्ना माग राखेका हुन् ।

‘व्यवसायीले सवारी साधन चलाउन पाएका छैनन्,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘यस्तो अवस्थामा व्यवसायीले बैंकको किस्ता तिर्न सक्ने अवस्था छैन ।’

नेपालका यातायात व्यवसायीले लाखौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गरेको अवस्था छ । लकडाउनका कारण काम गर्न नपाएपछि व्यवसायीको आयआर्जन रोकिएको छ । यसकारण सरकारले तत्काल यातायात व्यवसायीको किस्ता स्थगन गर्दै सबै खाले परिस्थितिको अन्त्य नभएसम्म ब्याज मिनाहाको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछौं,’ उनले भने । 



कोरोना सङ्क्रमणको असरसँगै देशभर सञ्चालित सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाएकाले यो क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएको उनले बताए । ‘यस विषम परिस्थितिका कारण कतिपय यातायातका साधनले समयमा राज्यलाई कर तिर्न सकिरहेको अवस्था छैन, बिमा रकम भुक्तानी गर्न सकेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई तत्कालका लागि कागजपत्रमा जरिवाना नगर्ने व्यवस्था र बिमा फेलको अवस्थालाई यथावत् गर्दै सम्पूर्ण सवारी कागजातमा लाग्ने जरिवना नलाग्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ’



लकडाउनको समयमा अत्यावश्यक सामग्री ढुवानी गर्ने कर्मचारी, चालक सहचालकले बाटोका पसल बन्द हुँदा खानासमेत खान नपाएको अवस्था छ । यातायात मजदूर कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न माग व्यवसायीले माग गरेका छन् ।


प्रकाशित : चैत्र १६, २०७६ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?