कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पपीडितले पहिलो किस्ता लिने समय थप्दै प्राधिकरण  

विमल खतिवडा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन थालेको र देश लकडाउन भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितले पहिलो किस्ता लिने थप्ने भएको छ ।

भूकम्पपीडितले पहिलो किस्ता लिने समय थप्दै प्राधिकरण  

यसअघि पहिलो किस्ता लिने समय चैत मसान्तसम्म तोकिएको थियो । तर यही समयमा कोरोना त्रास बढेपछि समय सार्न लागिएको हो ।

समय सार्नेबारे आन्तरिक रूपमा छलफल भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । 
उनका अनुसार दोस्रो र तेस्रो किस्ता सम्झौताका सम्बन्धमा भने पहिला तोकिएकै समय कायम राखिनेछ । ‘चैत मसान्तभित्र पहिलो किस्ता, गुनासो सुन्ने, बस्ती स्थानान्तरणका लागि जग्गा किन्नेलगायत कुरा टुंगो लगाउने भन्ने थियो, कोरानाले गर्दा भने जस्तो भएन,’ उनले भने, ‘त्यसैले कति समयसम्म यसले प्रभाव पार्छ, त्यसका आधारमा केही समय सार्छौं ।’ प्राधिकरणको निर्देशक समितिको बैठक लकडाउन खुला भएपछि बस्ने उनले जानकारी दिए । 

बैठकबाट प्राधिकरणको समयावधि कति, अबको कार्ययोजना के र वित्तीय व्यवस्थापन योजना केकसरी अगाडि बढाउने भन्ने सम्बन्धमा खाका बन्नेछ । प्राधिकरणको समयावधि ०७७ पुससम्म मात्र छ । ‘अब बस्ने निर्देशक समिति बैठकमा यसबारे छलफल हुनेछ, समयावधिको विषय पनि टुंगो लाग्नेछ,’ उनले भने ।

निर्देशक समितिबाट निजी आवासको समयावधि, समग्र वित्तीय व्यवस्थापनको अबको अवस्था र त्यसका आधारमा प्राधिकरणको अवधि कति कायम गर्ने टुंगो लाग्नेछ ।

भूकम्प प्रभावित, जनप्रतिनिधिको अनुरोध र सुझावका आधारमा प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण अनुदान लिने समय सीमा फागुन अन्तिममा विस्तार गर्ने निर्णय गरेको थियो । यसअनुसार चैत मसान्तसम्ममा अनुदान सम्झौता गरी पहिलो किस्ता, ०७६ माघ मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले ०७७ असार मसान्तसम्म दोस्रो किस्ता र सम्पूर्ण लाभग्राहीले निजी आवास पुनर्निर्माणको तेस्रो एवं अन्तिम किस्ता ०७७ मंसिर मसान्तसम्ममा लिइसक्न समय सीमा तोकिएको थियो । 



भूकम्प प्रभावित पुनर्निर्माण लाभग्राहीले निजी आवास बनाउन तीन किस्तामा तीन लाख रुपैयाँ र प्रबलीकरण लाभग्राहीले आंशिक क्षति पुगेको घर प्रबलीकरण गर्न दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँछन् । अहिलेसम्म निजी आवास निर्माण ६३ प्रतिशत सकिइसकेको छ । २५ प्रतिशत भने निर्माणका क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।


प्रकाशित : चैत्र १६, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?