कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी क्षेत्रले सुरु गर्‍यो ‘घरघरमै डेलिभरी’, सरकारको भने तयारी छैन

भाटभटेनी सुपरमार्केट र सेल्सबेरीले डेलिभरी दिन थाले
सरकारी स्वामित्वका खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङले कार्यान्वयन गरेनन् प्रतिबद्धता
राजु चौधरी

काठमाडौँ — चैत १२ मा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले ठूला खाद्य स्टोर तथा पसलले आवश्यक खाद्यवस्तु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गर्‍यो ।

निजी क्षेत्रले सुरु गर्‍यो ‘घरघरमै डेलिभरी’, सरकारको भने तयारी छैन

बैठकमा गृह मन्त्रालयले सीमित संख्याका सवारीसाधनलाई अनुमति दिने निर्णय पनि गर्‍यो । चैत १३ मा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी व्यवसायी तथा सुपरमार्केट र महानगरपालिकाका पदाधिकारीसँग छलफल भयो । छलफलमा पनि गृहले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन निर्देशन दिएको थियो ।



तर अहिलेसम्म सरकारको उक्त निर्देशन त्यति कार्यान्वयनमा आउन सकेको छैन । भाटभटेनी सुपर मार्केट र सेल्सबेरीबाहेक अन्यले होम डेलिभरी गरेका छैनन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सेवा सञ्चालन गर्न सकेका छैनन् । लकडाउनका क्रममा खाद्यवस्तुको अभाव हुन नदिने भन्दै आपूर्ति मन्त्रालयले टोल फ्री नम्बर र सामाजिक सञ्जालबाट गुनासो सुनुवाइ गर्ने भन्यो । सोहीअनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा टोल फ्री नम्बर पनि सञ्चालन गरिएको छ । त्यसमा सर्वसाधारणले खाद्यान्नको माग गरिरहेका छन् । ‘सर्वसाधारणले ५ किलो दाल, १० किलो चामल, २ किलो नुन चाहियो भन्छन्,’ विभागका एक अधिकारीले भने, ‘तर होम डेलिभरीको व्यवस्था छैन । बाध्य भएर सुपथ पसल काउन्टरको नम्बर दिनुपरेको छ ।’ 




सरकारी स्वामित्वका संस्थानले घुम्ती सेवा सञ्चालन गरे पनि घरघरमै खाद्यान्न पुर्‍याउन नसकेको ती अधिकारीले बताए । साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले पनि होम डेलिभरी गर्न नसकिएको बताए । ‘होम डेलिभरीको कुरा चलेको छ,’ उनले भने, ‘तर, कार्यान्वयनमा आइसकेको छैन ।’ सबै अनलाइनमार्फत गर्नुपर्ने हुँदा कार्यविधि बनाएर मात्रै सञ्चालन गरिने उनको भनाइ छ । तर त्यसो गर्न तत्काल सम्भव नरहेको उनी बताउँछन् ।

‘घरघरमा पुर्‍याउन सम्भव पनि छैन । कुन विधिबाट बिक्री गर्ने विषयमा भने छलफल भइरहेको छ,’ उनले भने । होम डेलिभरी नभए पनि ३ वटा भ्यान र सुपथ पसल भने सञ्चालन गरिरहेको उनले जानकारी दिए । भ्यानबाट विभिन्न क्षेत्रमा चिनी, नुन बिक्री गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहमहाप्रबन्धक श्रीमणिराज खनालको भनाइ पनि उस्तै छ । होम डेलिभरीका लागि प्राविधिकसँग छलफल भइरहेको उनले बताए । ‘अनलाइनबाट पेमेन्ट गर्ने भएपछि बैंक प्रणालीसँग पनि सहकार्य गर्नुपर्छ । यो हाम्रा लागि नयाँ प्राक्टिस हो,’ उनले भने, ‘सम्भवतः अर्को साताबाट होम डेलिभरी सुरु गर्छौं ।’ खाद्यले दुई भ्यानबाट घुम्ती सेवा सञ्चालन गरिरहेको उनले बताए । ‘घुम्ती सेवाबाट चामल, दाल र इन्डक्सन चुलो बिक्री भएको छ,’ उनले भने । घुम्ती सेवा सञ्चालन गरे पनि चामल उल्लेख्य रूपमा बिक्री नभएको उनको भनाइ छ ।



३० भ्यानबाट होम डलिभरी सुरु गरिएको भाटभटेनीका सीओओ पानु पौडैलले बताए । ‘शुक्रबार ६ सय र शनिबार ७ सयभन्दा बढी परिवारलाई डेलिभरी गरिएको उनले जानकारी दिए । ‘भाइबर तथा ह्वाट्स एपबाट अर्डर लिएका थियौं । शनिबारदेखि इन्स्टाग्रामबाट सुरु गरेका छौं,’ उनले भने, ‘सरकारको आग्रहमा क्रइसिस म्यानेजमेन्ट गर्न खोजेका छौं ।’


होम डेलिभरी सुरु गरेपछि उपत्यकामा भाटभटेनी बन्द गरिएको छ । जिल्लाको हकमा भने खुला रहेको उनले जानकारी दिए । बिग मार्टका फाइनान्स प्रमुख विवेक देवले पनि व्यवस्थित बनाएर मात्रै होम डेलिभरी गरिने बताए । दराज अनलाइनसँगको सहकार्यमा होम डेलिभरीको व्यवस्था गरिने उनको भनाइ छ । ‘व्यवस्थित तरिकाबाट गर्न खोजिरहेका छौं,’ उनले भने, ‘सोमबारदेखि होम डेलिभरी सेवा सञ्चालन हुन्छ ।’


सरकारले खाद्य वस्तुका पसल सञ्चालन गर्न दिने बताए पनि अधिकांश बन्द छन ।

लकडाउनका कारण आंशिक रूपमा खोलिएका पसलमा भीड देखिन्छ । कोरोना संक्रमण रोक्न भीड गर्न नदिने नीतिसहित लकडाउन गरिएको छ । सर्वसाधारणको भीड देखिएपछि भने सरकारले होम डेलिभरीको सुविधा दिने जनाएको थियो । कार्यान्वयन भने फितलो देखिएको हो ।



प्रकाशित : चैत्र १६, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?