कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा औषधिसहित अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा

बलराम बानियाँ

काठमाडौँ — लकडाउनका क्रममा समेत औषधिसहित अत्यावश्यक वस्तु उत्पादन गर्ने मुलुकभरका सबै उद्योग यथावत् रूपमा सञ्चालन गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

लकडाउनमा औषधिसहित अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा

मुलुकमा औषधि, स्वास्थ्य सामग्री, खाद्यान्न, खाना पकाउने ग्यास तथा खानेपानीको अभाव हुन नदिन ती अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति गर्ने देशभरका उद्योग सञ्चालन गरिएको जानकारी उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरेले दिए ।


घिमिरेका अनुसार गृह मन्त्रालयसित समन्वय गरी लकडाउनका क्रममा समेत ती उद्योगलाई पूर्ववत् रूपमा सञ्चालन गरिएको हो । ती उद्योग विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य प्रोटोकल अपनाउन लगाई सञ्चालन गरिएको छ ।

‘औषधिसहित अत्यावश्यक वस्तु उत्पादन गर्ने देशभरका सबै उद्योग गृह मन्त्रालय र मातहतका निकायसित समन्वय गरी लकडाउनका बेलासमेत सुचारु रूपमा सञ्चालन गरिएको छ,’ सचिव घिमिरेले कान्तिपुरसित भने, ‘ती उद्योग स्वास्थ्य प्रोटोकल पालना गर्न लगाई सञ्चालन गरिएको छ । ती उद्योगका मजदुर आवतजावत, कच्चा पदार्थको ढुवानी र उत्पादित सामान बजारमा पुर्‍याउने क्रममा दिनहुा पटकपटक आउने समस्या हाम्रो मन्त्रालयले सम्बन्धित निकायसित समन्वय गरी समाधान गरिदिने गरेको छ ।’ देशभर अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योग तीन हजारभन्दा बढी छन् ।

ती उद्योगमा स्वास्थ्य प्रोटोकलअनुसार सबै श्रमिक, कर्मचारीलाई अनिवार्य रूपमा मास्क लगाउने, नियमित रूपमा स्वास्थ्य जााच तथा ज्वरो नाप्ने र स्यानिटाइजरबाट हात धुने व्यवस्था मिलाइएको छ । कुनै श्रमिक र कर्मचारीलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि तुरुन्त अस्पताल लाने व्यवस्थासमेत मिलाइएको जानकारी घिमिरेले दिए । सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत ती उद्योगमा स्वास्थ्य प्रोटोकल पालना भए/नभएको नियमित स्थलगत अनुगमन गर्ने गरिएको छ । स्वास्थ्य प्रोटोकल पालना नभएको पाइएमा कारबाही गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

घिमिरेका अनुसार स्वास्थ्य प्रोटोकलअनुरूप ती उद्योगमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, काम गर्दा कम्तीमा तीन फिटको दुरी कायम गर्नुपर्नेलगायतको व्यवस्थासमेत मिलाइएको छ ।

मन्त्रालयले ती उद्योग सुचारु राख्न लकडाउनका क्रममा परिचयपत्रका आधारमा श्रमिक र कर्मचारीलाई आवतजावत गर्ने व्यवस्था मिलाइएको र कहीा आउजाउमा समस्या आएको पाइएमा तत्काल सम्बािन्धत जिल्ला प्रशासन र प्रहरीसित समन्वय गरी समाधान गर्ने गरिएको जनाएको छ ।

घिमिरेका अनुसार ती उद्योगका लागि निर्वाध कच्चा पदार्थको आपूर्ति र तिनका उत्पादनलाई बजार र उपभोक्तासम्म लैजाने व्यवस्था मिलाइएको छ । कतै समस्या या अवरोध आएमा मन्त्रालयले उद्योग सञ्चालकबाट तुरुन्तै जानकारी पाउने र तत्काल जिल्ला प्रशासन तथा प्रहरीको सहयोग लिई समाधान गर्ने गरिएको जानकारी घिमिरेले दिए ।

औषधि र स्वास्थ्यजन्य सामग्रीको मुलुकमा हुने कुल खपतको ४० देखि ५० प्रतिशत स्वदेशी उद्योगका उत्पादनले धान्ने गरेका छन् । ग्यास बाहिरबाट आयात हुने गरे पनि सिलिन्डरमा फिलिङ (भर्ने काम) नेपाली उद्योगमा मात्र हुने गर्छ । तयारी खाद्यान्नमा समेत नेपाली उद्योगको ठूलो योगदान रहेको जानकारी मन्त्रालयले दिएको छ । जार र बोत्तलमा उपलब्ध हुने खानेपानी स्वदेशी उद्योगले नै धान्दै आएका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?