कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तामाकोसीबाट साउनदेखि ७६ मेगावाट बिजुली

दोलखा — स्वदेशी लगानीमा निर्मित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने मिति चारपटक संशोधन भइसकेको छ । ४ सय ५६ मेगावाटमध्ये पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन भने साउन १५ देखि हुने आयोजनाले जनाएको छ ।

तामाकोसीबाट साउनदेखि ७६ मेगावाट बिजुली

आयोजना निरीक्षणका लागि पुगेका ऊर्जामन्त्री वर्षमान पुन, महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, प्राधिकरणका अध्यक्ष कुलमान घिसिङसहितको टोलीलाई ब्रिफ्रिङ गर्दै आयाजना प्रमुख विज्ञान श्रेष्ठले साउन १५ सम्म आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन हुनेमा विश्वस्त गराए ।


केही दिनअघि आयोजनाले बाँधमा पानी हाली परीक्षण गरेको थियो । गत सोमबारदेखि आयोजनाको बाँधमा पानी जम्मा सुरु गरिएको हो । आयोजना सम्पन्न गर्न पेनस्टक पाइप जडानको काम मात्रै रहेको उल्लेख गर्दै आयोजना प्रमुख श्रेष्ठले दुवै ठेकेदार कम्पनीलाई कामको गति बढाउन निर्देशन दिएको बताए । राष्ट्रिय गौरवको आयोजना भए पनि प्रक्रियागत झन्झटका कारण कतिपय काममा ढिलाइ हुने गरेको आयोजना व्यवस्थापनको गुनासो छ ।


डलर सटही र भन्सार प्रक्रियामा अझै पनि ढिलाइ हुने गरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । आयोजनाको निर्माण मिति पटकपटक पर धकेलिएको भन्दै अब भने समयमै काम सक्न निर्देशन दिए । आयोजनामा सरकारको मात्रै नभई लाखौं जनताको पनि सेयर लगानी रहेकाले ढिलाइ गर्न नहुने मन्त्री पुनले बताए । आयोजनाले भोगेका प्रक्रियागत ढिलाइ मन्त्रालयले समाधान गर्ने उनको आश्वासन छ । आयोजनाको ९९ प्रतिशत काम सकिए पनि पेनस्टक पाइप जडानमा भएको ढिलाइले निर्माण सकिने मिति पटकपटक संशोधन गर्नुपरेको छ ।

प्रकाशित : चैत्र १०, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?