कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्यत्र सुनसान, खाद्यान्न पसलमा भीड

नुमा थाम्सुहाङ

काठमाडौँ — साँझ परेपछि काठमाडौंका सुन्धारा, आरएनएसीलगायत स्थानमा मानिसको भीड बढ्थ्यो । फुटपाथका पसलेहरू फुटपाथमा सामान फिँजाउन हतार गर्थे । कामबाट छुटेर आफ्नो घरतर्फ जान गाडी चढ्ने र फुटपाथ पसलबाट सामान किन्नेको भीड छिचोल्न सकस हुन्थ्यो तर एक महिनायता न सामान किन्नेको भीड छ, न गाडी चढ्नेहरूकै ।

अन्यत्र सुनसान, खाद्यान्न पसलमा भीड

सिन्धुलीकी अनिता मगरले ९ वर्षदेखि सुन्धाराको फुटपाथमा पसल राख्दै आएकी छन् । कोभिड–१९ ले गर्दा मानिसको चहलपहल कम भएको उनले बताइन् । ‘एक महिनादेखि व्यापार सुस्ताएको छ,’ उनी भन्छिन्, ‘३/४ घण्टाको व्यापार हो । यो समयमा दैनिक ९ हजार रुपैयाँको व्यापार हुन्थ्यो, अहिले हजार रुपैयाँ हुन पनि समस्या छ ।’


सुन्धारामै १० वर्षदेखि एसके मोबाइल पसल सञ्चालन गर्दै आएका रोक थापाको भनाइ पनि उस्तै छ । ‘भाइरसको त्रासले मानिस बाहिर निस्किएका छैनन्,’ उनले भने, ‘मानिस बाहिर आए व्यापार गर्ने हो । पछिल्लो १५ दिनदेखि मानिसको भीड झन् कम हुँदै गएको छ ।’ अहिले व्यवसाय चलाउनै समस्या परेको उनले बताए ।


कपडा, मोबाइल पसलको मात्र नभई खाजा पसल, रेस्टुरेन्टमा समेत मानिस कम आउन थालेको व्यवसायीको भनाइ छ । भीडबाट टाढा रहनुपर्ने भएकाले सबै सचेत भएको आरएनएसीमा १३ वर्षदेखि खाजा पसल राख्दै आएका व्यापारी निमा लामाको भनाइ छ ।


कोभिड–१९ को डरले गर्दा फुटपाथका बजार नभई काठमाडौंको व्यापारिक केन्द्र इन्द्रचोक, असन र न्युरोडका पसलमा समेत मानिसको चहलपहल कम छ । आवश्यक पर्ने र नभई नहुने मानिस मात्र बाहिर किनमेलका लागि निस्कने गरेको व्यवसायी बताउँछन् । नयाँ बानेश्वरकी सबु बस्नेत इन्द्रचोकमा बिहेका लागि साडी किन्न आएकी थिइन् ।


‘बाहिर निस्कँदा जोखिम हुन्छ नै । तर काम परेपछि बाहिर निस्कनैपर्‍यो,’ उनले भनिन् । वैशाखमा लगन हुने भएकाले त्यसको किनमेल चैतमा गर्नुपर्ने भए पनि किन्ने ग्राहक नभएको इन्द्रचोकस्थित मित्र इम्पेरियर्सका चन्द्रमान श्रेष्ठको भनाइ छ । ‘ग्राहक छैनन्, कारोबार शून्यप्रायः छ,’ उनले भने । मानिसको बढी चहलपहल हुने ठाउँ असन नै अहिले सुनसान बन्दै गएको मोनिका कस्मेटिक स्टोरका सञ्चालक मानदीप दास राजभण्डारीले बताए । ‘होलीदेखि मानिसको चहलपहल कम हुँदै गएको छ,’ उनले भने, ‘अहिले दसैंमा जस्तै मानिस कम हुँदै गएका छन् ।’


अरू बेला ग्राहकले फुर्सद नपाउने इन्द्रचोकका पसलमा अहिले व्यापारीहरू सेवाग्राही कुर्दै बस्नुपरेको छ । ‘दिनभरमा एउटा ग्राहक आउँछन्,’ आकाश जिमा ब्रास ट्रेडर्सका सञ्चालक दीपक बानीयाँले भने, ‘व्यापार गर्न नसकेर पसलको बाहाल र कामदारलाई तलब दिन समस्या भइसक्यो । यसले व्यवसाय नै धरापमा पर्ने चिन्ता छ ।’


बजारमा मानिसको भीड कम भएसँगै कार, मोटरसाइकल, स्कुटरलगायत साधन पार्किङ गर्नेहरू पनि घटेका छन् । दुई सातादेखि पार्किङ खालीखाली भएको न्युरोड विशालबजारस्थित शुक्रपथमा रहेको स्मार्ट पार्किङका इन्चार्ज सुसन दाहालले बताए । पहिले एक दिनमा १ हजार बाइक, स्कुटी पार्किङ हुन्थ्यो । अहिले चारपाँच सयमा झरेको छ ।’


कोभिड–१९ को संक्रमण फैलिने त्रासले उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गर्न थालेका छन् । जसकारण खाद्यान्न पसलमा उपभोक्ताको भीड बढेको छ भने अन्य सामान बेच्ने पसल सुनसान छन् ।


अत्यावश्यक सामग्री आपूर्तिमा समस्या आउन सक्ने डरले उपभोक्ताले घरायसी रासन जोहो गर्न थालेको व्यवसायी बताउँछन् । एक महिनायता प्रशस्त मात्रामा चामल, दाल, चिनी र नुन किन्ने बढेको असनका व्यवसायी सञ्जय तुलाधारले बताए । ‘ग्राहक उनै हुन्, सामानको परिमाण मात्र बढाएका छन्,’ उनले भने, ‘५ केजीको ठाउँमा १० केजीसम्म खाद्यान्न किन्ने गरेका छन् । एक महिनामा २५ प्रतिशत व्यापार बढेको उनको भनाइ छ ।


आकस्मिक रूपमा नयाँ केही निर्णय भइहाल्ने हो कि भन्ने डरले करिब एक महिनालाई पुग्ने रासन मौज्दात राख्न लागेको काठमाडौं नयाँ बजारका डम्बर पौडेलले बताए ।


एकीकृत टोलीबाट अनुगमन


सरकारले खाद्यवस्तुलगायतको आपूर्ति सहज बनाउन दुईवटा कार्यदल गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समन्वय समिति र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयका सम्बन्धित महाशाखाको सहभागिता रहेको आपत्कालीन आपूर्ति व्यवस्थापन कार्यदलले आपूर्ति व्यवस्थापन गर्नेछन् ।


‘कार्यदलले अवस्थाको आपूर्तिको तथ्यांक दैनिक रूपमा अद्यावधिक गरी हरेक दिन सार्वजनिक गर्नेछ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खाद्यान्न मौज्दातलाई दोब्बर पार्ने जनाएका छन् । यसका लागि आवश्यकताअनुसार साविक नेसनल ट्रेडिङ लिमिटेडको टेकुस्थित गोदाम उपयोग गरिने विज्ञप्तिमा उल्लेख छ ।


दुर्गममा खाद्यान्न अभाव हुन नदिन र पहाडी जिल्लामा सम्भावित खाद्य संकट आउन नदिन समयमै आवश्यक खाद्यवस्तु ढुवानी गर्ने मन्त्रालयले जनाएको छ । बजार अनुगमनका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा एकीकृत टोली निर्माण गरी परिचालन गरिनेछ ।

प्रकाशित : चैत्र ८, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?