कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोल पम्पमा किन छ भीड ?

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि यहाँ पनि मूल्य घट्‍न सक्‍ने व्यवसायीको अनुमान
कोरोना सन्त्रासले इन्धनको खपत करिब ४० प्रतिशतले बढ्यो
राजु चौधरी

काठमाडौँ — इन्धन ढुवानीमा कुनै अवरोध नभए पनि उपत्यकाका अधिकांश पेट्रोल पम्प आइतबार र सोमबार बन्द थिए । इन्धन वितरण भइरहेका पम्पमा उपभोक्ताको भीड थियो । मंगलबार पनि बिहानैदेखि अधिकांश पम्प बन्द रहे । अपराह्‍नबाट केही पम्पले इन्धन वितरण गरे पनि उपभोक्ताको लाइन बाक्लै देखियो ।

पेट्रोल पम्पमा किन छ भीड ?

किन भए बन्द ?

हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको छ । भारतीय आयल निगमले प्रत्येक १ र १५ तारिखमा नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाउँछ । आयल निगमले पनि स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक गिरावट आएपछि यहाँ पनि मूल्य घट्ने व्यवसायीले अनुमान गरे । सोही अनुसार व्यवसायीले कम मात्रामा इन्धन उठाए । ठूला पम्पले इन्धन उठाए पनि करिब २५ पम्पले पुरानै स्टक बिक्री गरे । थप इन्धन लिन थानकोट डिपो पुगेनन् ।

‘पुरानै स्टक भएकाले करिब २५ पम्पले नयाँ उठाएनन,’ वागमती पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष अच्युत खड्काले भने, ‘अलिअलि सोच्नै पर्छ । व्यापारीहरु जोगी बन्नलाई बसेका छैनन् ।’ इन्धनको आपूर्ति बढेकाले एकदुई दिनमै लाइन हट्ने उनले दाबी गरे । बन्द पम्प र सञ्चालन भइरहेका पम्पमा लाइन बढेपछि सरकारले मंगलबार केही पम्पमा अनुगमन गरेको थियो । त्यसक्रममा पनि पम्प व्यवसायीले मूल्य घट्ने अनुमानले इन्धन कम उठाएको स्पष्टिकरण दिएका थिए ।

‘इन्धनको मूल्य १५ रुपैयाँसम्म घट्ने हल्ला रहेछ,’ वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागका सहायक सूचना अधिकारी दिपक पोखरेलले भने, ‘४ वटा पम्पमा अनुगमन गर्दा ती पम्प सञ्चालकहरुले इन्धन कम उठाएको जनाए ।’ उनका अनुसार पम्प व्यवसायीले पेट्रोल र डिजेल उठाउने पर्नेमा पेट्रोल मात्रै कि त डिजेल मात्रै ढुवानी गरेका थिए ।

‘जसले गर्दा पम्पमा लाइन देखियो,’ उनले भने । स्वचालित मूल्य प्रणाली अनुसार निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाइसकेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर साढे ४ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि भने पम्प व्यवसायीले ढुवानी माग अनुसार नै सुरु गरेका छन् ।

पेट्राेल पम्पमा घन्टाैं लाइन [तस्बिरहरु]

यी बाहेक कोरोना प्रकोपका कारणले पनि माग बढेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार इन्धनको खपत करिब ४० प्रतिशतले बढेको छ । ‘कोरोनाका कारण भारतले ४ नाका मात्रै खुला गर्ने समाचार सार्वजनिक भएपछि इन्धनको खपत ह्वातै बढेको छ,’ पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘अहिले माग ४० प्रतिशत बढेको छ । परिस्थिति रहेर निगमले शनिबार पनि इन्धन बितरण गरेको भए लाइन लाग्ने अवस्था सिर्जना हुने थिएन ।’

निगमका थानकोट डिपो प्रमुख विनितमणि उपाध्यायले पनि इन्धनको माग २५ प्रतिशत बढेको जानकारी दिए । ‘दैनिक ६ सय ५० किलोलिटर माग हुने पेट्रोल अहिले थप २५ प्रतिशत बढेको छ,’ उनले भने, ‘व्यवसायीको माग अनुसार आपूर्ति बढाएका छौं ।’

निगमका अनुसार फागुन २५ गते ७ सय ६ किलोलिटर, २७ गते ७ सय ७७ किलोलिटर, २८ गते ५ सय ७६ किलोलिटर बिक्री भएको थियो । फागुन २९ गते ६ सय १७ किलोलिटर, ३० गते ९ सय ३३ किलोलिटर, चैत २ गते ८ सय ३२ किलोलिटर, ३ गते ७ सय २९ किलोलिटर बिक्री भएको थियो ।

इन्धनको आपूर्ति पर्याप्त भएपनि बजारमा भने उपभोक्ताको लाइन कायमै छ । अध्यक्ष प्रधानका अनुसार इन्धनको माग बढेपछि व्यवसायीले शनिबार डिपो खोल्न निगमलाई आग्रह गरेका थिए । तर, निगमले थानकोट डिपो खोलेन । ‘चापकै कारण उपभोक्ताको लाइन बढ्दै गयो,’ उनले भने । उनका अनुसार ट्राफिक व्यवस्थानममा कठिनाइ आएको जनाउदै केही पम्पलाई ट्राफिकले बन्द गरेका थिए । त्यसले पनि उपभोक्ताहरु आत्तिएर मौज्दात गरेको अध्यक्ष प्रधानले बताए ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले मंगलबार १२ सय किलोलिटर पेट्रोल बिक्री भएको अभाव हट्ने दाबी गरे । ‘२/३ बजेदेखि पम्पमा इन्धन पुगेको छ,’ उनले भने, ‘बुधबारदेखि लाइन बस्नु पर्ने अवस्था आउँदैन ।’

प्रकाशित : चैत्र ४, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?