कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असर दूरसञ्चारको रोमिङमा पनि

काठमाडौँ — बर्सेनि आम्दानी गुमाइरहेका नेपाली टेलिकम कम्पनीमा पनि कोरोना भाइरस (कोभिड–१९) को असर देखिन थालेको छ । पर्यटकको आवागमन घट्दा टेलिकम कम्पनीले रोमिङ सेवाबापत प्राप्त गर्ने आम्दानी गुमाउने भएका हुन् । पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपाल आएर रोमिङ सेवा प्रयोग गर्नेको संख्या ८० प्रतिशत घटेको नेपाल टेलिकमले जनाएको छ ।

नेपालबाट विदेशमा गरिने कल र विदेशबाट नेपाल आउने कलको दर उस्तै रहे पनि रोमिङ सेवा लिएर नेपाल आउने ग्राहकको संख्या ८० प्रतिशत घटेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । रोमिङ सेवा टेलिकम कम्पनीको आम्दानीको राम्रो स्रोत हो ।


फेब्रुअरीमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पर्यटकको आगमन २१ प्रतिशत घटेको अध्यागमन विभागले जानकारी दिएको छ । यो हवाई यातायातमार्फत नेपाल भित्रिने पर्यटकको मात्रै तथ्यांक हो । फ्रेब्रुअरीभर ७७ हजार पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल आएका थिए । मार्चको १५ दिनमा भने करिब ९ हजार पर्यटक नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्यांक छ । कोभिड–१९ विश्वका धेरै देशमा फैलिन थालेलगत्तै सरकारले अप्रिल ३० सम्म सबै विदेशी र गैरआवासीय नेपालीलाई समेत प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा बन्द गरेको छ । टेलिकम कम्पनीका रोमिङ सेवाका ग्राहक घटे पनि इन्टरनेट सेवा प्रदायकको ब्यान्डविथ खपत भने केही बढ्ने संकेत देखिएको छ ।


कोभिड–१९ का कारण धेरै मानिस घरमै बस्न थालेपछि अफ टाइममा पनि ब्यान्डविथ खपत बढ्न थालेको वर्ल्ड लिंक कम्युनिकेसनका प्रमुख प्राविधिक अधिकृत समित जैनले बताए । सेवा प्रदायकले बिहान १० देखि बेलुकी ८ बजेसम्मको अवधिलाई अफटाइम मान्ने गरेका छन् । बेलुकी ८ देखि साढे ११ बजेसम्म ब्यान्डविथ खपत बढी हुने गरेको उनले बताए ।

प्रकाशित : चैत्र ४, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?