बढेन टेलिकम बजार

खुम्चिँदै भ्वाइस, विस्तार हुँदै इन्टरनेट 
विजय तिमल्सिना

काठमाडौँ — नेपाली दूरसञ्चार बजार विगत तीन वर्षदेखि विस्तार हुन सकेको छैन । केही वर्षयता दूरसञ्चार बजार एक खर्ब वरपर रोकिएको छ । दूरसञ्चार बजार केही वर्ष यस्तो देखिए पनि आगामी वर्ष डाटा सेवाको विस्तारका कारण बढ्दै जाने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको टिप्पणी छ । 

बढेन टेलिकम बजार

‘अहिले भ्वाइसको आम्दानी बढ्ने र डाटाको आम्दानी बढ्ने क्रममा छ,’ उनी भन्छन्, ‘डाटाको प्रयोग बढ्दै जाँदा टेलिकम बजार पनि विस्तार हुन्छ ।’ सरकारी सेवासमेत अटोमेसनमा जान थालेको, हरेक काम इन्टरनेटमा जोडिँदै गएकाले डाटा प्रयोग भविष्यमा व्यापक हुने र टेलिकम बजारको आय पनि यसैमा निर्भर हुने उनको बुझाइ छ । ‘डाटा प्रयोग बढेसँगै टेलिकमको बजार पनि विस्तार हुन्छ,’ उनी भन्छन्, ‘यो उत्कर्ष अवस्था होइन ।’


पाँच वर्षअघि साढे ८७ अर्ब रुपैयाँ रहेको नेपाली दूरसञ्चार बजार तीन वर्षयता १ खर्ब रुपैयाँ वरपर अड्किएको छ । पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा दूरसञ्चार सेवा प्रदायकहरूको भ्वाइस सेवाबाट हुने आम्दानी घटिरहेको छ भने डाटाबाट हुने आम्दानी केही बढेत्तरीको छ । इन्टरनेट सेवा प्रदायकहरूको आम्दानी भने बिस्तारै बढिरहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।


आर्थिक वर्ष ०७३/७४ मा नेपालका दूरसञ्चार कम्पनी र इन्टरनेट सेवाप्रदायकहरूले १ खर्ब २ अर्ब ६५ करोड आम्दानी गरेकोमा गत आवमा यी कम्पनीले १ खर्ब २ अर्ब रुपैयाँ आम्दानी गरे । नेपालका दुई ठूला दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको आम्दानी विश्लेषण गर्ने हो भने दुवै कम्पनीको आय घट्दो छ । इन्टरनेट सेवा प्रदायकहरूको आम्दानी भने उकालो लागिरहेको प्राधिकरणको तथ्यांक छ । गत वर्ष इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ५ अर्ब १३ करोड आम्दानी गरेको थियो । आम्दानीका हिसाबले नेपाल टेलिकम र एनसेलपछि वर्ल्डलिंक तेस्रो ठूलो सेवाप्रदायक हो ।


आव ०७४/७५ मा ३९ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको नेपाल टेलिकमले आव ०७५/७६ मा ३६ अर्ब ८३ करोड रुपैयाँ मात्रै आम्दानी गर्‍यो । यस अवधिमा विदेशमा हुने कल आदानप्रदानबाट हुने आम्दानीमध्ये नेपाल टेलिकमले मात्रै करिब ३ करोड गुमाएको छ । आव ०७४/७५ मा ५९ अर्ब ७० करोड आम्दानी गरेको एनसेलले ०७५/७६ मा ५५ अर्ब २८ करोड मात्रै आम्दानी गर्‍यो ।

प्राधिकरणलाई दुई ठूला दूरसञ्चार सेवा प्रदायकले बुझाएको तथ्यांक हेर्दा नेपाल टेलिकमको आम्दानी आव ०७२/७३ देखि आरालो लागेको छ । उक्त वर्ष ४० अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको टेलिकमको आय त्यसपछि कम हुँदै गएको छ ।


आव ०७५/७६ मा टेलिकमले ३६ अर्ब ७३ करोड रुपैयाँ मात्रै आम्दानी गरेको थियो । एनसेलले भने आव ०७५/७६ सम्म आफ्नो आम्दानी निरन्तर बढाइरहे पनि यो वर्ष आएर करिब ४ अर्ब आम्दानी गुमाएको छ । आव ०७०/७१ मा ४८ अर्ब ४१ करोड आम्दानी गरेको एनसेलले त्यसयता आफ्नो आयलाई ५५ अर्बमुनि झर्न दिएको छैन ।


नेपाल टेलिकम र एनसेल दुवैले आफ्नो वित्तीय विवरणमा भ्वाइसतर्फको आयमा आएको कमी र डाटा सेवामा भएको प्रतिस्पर्धालाई आय नबढ्नुको कारण मानेका छन् । योबाहेक ओभर दी टप सेवा (ओटीटी) का कारण पनि आफ्नो आम्दानी घट्न थालेको दुवै कम्पनीको विश्लेषण छ । केही वर्षअघिसम्म टेलिकम कम्पनीहरूको आम्दानीको ठूलो हिस्सा एकबाट अर्को देशमा हुने कल (इन्टरनेसनल लङ डिस्टेन्स) थियो । तर केही वर्षयता यस्ता कलबाट हुने आम्दानी उल्लेख्य घटेको छ ।


नेपाल टेलिकमले तीन वर्षअघि विदेशमा हुने कलबाट वार्षिक ९ अर्ब रुपैयाँभन्दा बढी कमाएको थियो । गत वर्ष यो आम्दानी पौने ६ अर्बमा सीमित भयो । एनसेलको पनि अवस्था उस्तै छ । विदेशमा हुने कलबाट एनसेलले ३ वर्षअघि १७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । तर गत आवमा ५ अर्ब रुपैयाँ कम हुँदै ११ अर्ब ७३ करोडमा झरेको छ ।


विदेशमा सोझै कम गर्दा महँगो पर्ने भएकाले प्रयोगकर्ताले निःशुल्क कल गर्न मिल्ने भाइबर, म्यासेन्जर, ह्वाट्सएप, स्काइप जस्ता एप प्रयोग गर्न थालेपछि विदेशमा कलको आदानप्रदानबाट हुने आम्दानी घटेको हो । प्राधिकरणलाई सेवा प्रदायकले उपलब्ध गराएको वित्तीय विवरणअनुसार दूरसञ्चार कम्पनीहरूको डाटा सेवातर्फबाट हुने आम्दानी भने बढ्दै गएको छ ।


डाटा सेवातर्फ एनसेलले ३ वर्षअघि १० अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेकोमा गत वर्ष १२ अर्ब २१ करोड कमाएको छ । तर नेपाल टेलिकमको हकमा भने यो अस्थिर छ । तीन वर्षअघि टेलिकमले डाटा सेवातर्फ ७ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेकोमा गत वर्ष ७ अर्ब २६ करोड रुपैयाँ आम्दानी मात्रै गरेको छ । तीन वर्षयता डाटातर्फ टेलिकमले गरेको आम्दानी पनि बिस्तारै घट्दै गएको छ ।

एनसेलले देशभर फोरजी सेवा विस्तार गरी डाटातर्फको ग्राहक संख्या बढाए पनि टेलिकमले गत वर्षदेखि फोरजी विस्तार थालेको थियो । यो वर्ष माघ मसान्तमा सक्ने लक्ष्य लिएर फोरजी विस्तार थालिए पनि आधाभन्दा कम काम मात्रै काम सकिएको छ ।

प्रकाशित : चैत्र ३, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?