कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्स्याङ्दीमा र्‍याफ्टिङ गर्ने घटे

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी नदीमा जलविद्युत् आयोजना निर्माण भएपछि र्‍याफ्टिङ र कायकिङ गर्ने घटेका छन् । दशकअघि यो सिजनमा दिनदिनै र्‍याफ्टिङ हुने गरेकामा हिजोआज मेला महोत्सवमा मात्रै सीमित बनेको हो । 

मर्स्याङ्दीमा र्‍याफ्टिङ गर्ने घटे

बेंसीसहर–८ दनाइँफाँटमा सञ्चालित दोस्रो आदिवासी जनजाति लमजुङ सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक एवं आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष हरिजङ तामाङका अनुसार र्‍याफ्टिङ रुचाउने पर्यटकलाई लक्षित गरी एउटा र्‍याफ्टिङ ल्याएर चलाइएको छ ।


सुइमा एडभेन्चर प्रालि काठमाडौंका र्‍याफ्टिङ गाइड जमानसिंह तामाङले यसअघिका महोत्सवमा पनि र्‍याफ्टिङ लिएर आएको बताए । ‘मर्स्याङ्दीमा जलविद्युत् बनेपछि कहीँकतै मात्रै र्‍याफ्टिङ भयो, पर्यटकले रुचाएनन्,’ उनले भने, ‘अब त राम्रोसँग र्‍याफ्टिङ कुदाउने ठाउँ पनि भएन ।’


हिमालयन रिभर गाइड एसोसिएसन नेपालका पूर्वअध्यक्ष युवराज अधिकारीका अनुसार अक्टोबर, नोभेम्बर र डिसेम्बर साथै मार्च, अप्रिल र मे महिना जलयात्राका लागि उपयुक्त मौसम हो । जनवरी, फेब्रुअरीमा पनि गर्न सकिन्छ । उनका अनुसार कायाकिङका प्रतियोगिता कहिलेकाहीँ हुने गरेकामा यस पटक देखिएको छैन । ‘पछिल्लो समय कहिलेकाहीँ मेला महोत्सवमा ल्याएर र्‍याफ्टिङ चलाइएको छ । स्वतस्फूर्त चलाउन छाडे । मर्स्याङ्दीमा आउने पर्यटक अन्यत्रै जान थाले,’ उनले भने ।


उनका अनुसार पहिले जलयात्री बेंसीसहरबाट भुलभुले, ङादी पुग्थे र त्यहाँबाट र्‍याफ्टिङ गर्दै फर्कन्थे । बेंसीसहर–चामे सडक बन्नुअघि बेंसीसहरबाट भुलभुलेसम्म डुंगाहरू बोकाएर लगिने हुँदा रोजगारीको पनि राम्रै अवसर जुट्थ्यो । केहीले स्याँगेसम्म पुगेर लामो दूरीको र्‍याफ्टिङ गर्थे । अहिले मनाङसम्म मोटर गुड्न थालेपछि नदीमा ठूलाठूला ढुंगा खसाइएकाले पनि जलयात्री आउन छाडेका उनले बताए ।


ङादीबाट सुरु भएर र्‍याफ्टिङ वा कायाकिङ चितवनको नारायणगढ पुग्थे । पाँचदेखि सात दिनेको प्याकेज हुन्थ्यो । अधिकारीका अनुसार तनहुँमा मर्स्याङ्दी, लमजुङमा मध्यमर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना बनेपछि जलयात्रा हुन छाडेको हो ।

प्रकाशित : फाल्गुन ३०, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?