१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सुस्तायो सुन बजार

नुमा थाम्सुहाङ

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै घरेलु बजारमा पनि कारोबार सुस्त देखिएको छ । बजारमा आत्यवश्यक परेको अवस्थाबाहेक सुन किन्न ग्राहक आएका छैनन् । यसकारण बजारमा दैनिक सुनको माग घटेको व्यवसायी बताउँछन् । 

सुस्तायो सुन बजार

‘सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँसम्म हुँदा कारोबार राम्रो थियो,’ न्युरोडथित धरान गहना गृहका सञ्चालक मंगास श्रेष्ठले भने, ‘मूल्यमा घटबढ हुँदा कारोबार सुस्त छ ।’ मूल्यवृद्धि भएका बेला सुन किन्नेभन्दा पनि बेच्ने ग्राहक बढी भएको उनले बताए ।


एक साताअघि सुनको मूल्य प्रतितोला ७८ हजार रुपैयाँ थियो । आइतबारसम्म मूल्य बढेर ८२ हजार ५ सय रुपैयाँ पुगेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८४ अमेरिकी डलरसम्म पुगेको थियो ।


मूल्य क्रमश: बढ्न थालेपछि ग्राहक भने सुन पसलमा घटिरहेका छन् । बिहेको सिजन भए पनि ग्राहक त्यति नआएको व्यवसायी बताउँछन् । ‘ग्राहकहरू अहिले पर्ख र हेरको अवस्थामा छन्,’ न्युरोडस्थित सम्पूर्ण ज्वेलर्सका सञ्चालक रोमी शाक्यले भनिन् । आफ्नो पसलबाट दिनमा औसत दुई तोला सुनको मात्र कारोबार भइरहेको उनको भनाइ छ । मूल्यकै कारण विगतमा पाँच तोला सुन किन्न सक्ने ग्राहकले अहिले दुई–तीन तोलामा चित्त बुझाएको उनले बताइन् । ‘मूल्य घटेको बेला ग्राहकले अर्डर दिन्छन् । तर सुनको स्टक नै हुँदैन,’ उनले भनिन्, ‘अहिले सुन छ, किन्ने ग्राहक छैनन् ।’


न्युरोडस्थित विष्णु ज्वेलर्सका रामचन्द्र बराइलीको भनाइ पनि उस्तै छ । सुन किन्नेभन्दा पुराना गहना सफा गर्ने र बेच्न खाज्नेहरू बढी आउने गरेको उनको भनाइ छ । ‘मूल्यकै कारण यति बेला एक तोला व्यापाार गर्न पनि धौधौ छ । यस्तै अवस्था रहिरहे व्यवसाय नै कसरी चलाउने डर लाग्न थालेको छ,’ उनले भने । सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य निरन्तर बढिरहँदा ग्राहकमा किन्ने क्षमता पनि घटेको छ । ‘नकिनी नहुनेहरूले मात्र अहिले सुन किनिरहेका छन्,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने ।


न्युरोडकै पसलमा गहना खरिद गरिरहेकी धुम्बाराहीकी वविता ज्ञवालीको भनाइ भने बेग्लै छ । आवश्यक परे जति महँगो भए पनि किन्नपर्ने उनको भनाइ छ । आफूले उपहार दिनका लागि औंठी किनेको उनले बताइन् । ‘महँगो भनेर हुँदैन रछ,’ उनले भनिन्, ‘मूल्य घटबढ भइरहन्छ ।’ न्युरोडस्थित गोल्ड एन्ड सिल्भर हाउसका म्यानेजर तेजरत्न बास्तोलाले पनि कारोबार बढेको जानकारी दिए । ‘मूल्यमा भइरहेको घडबढका कारण केही ग्राहकलाई लाख पुग्ने डर भएकाले सकेसम्म अहिले किनौं भन्ने पनि छ,’ उनले भने ।


चीनबाट सुरु भएको कोरोना भाइरस विभिन्न राष्ट्रमा फैलिएपछि आर्थिक गतिविधि घटेको र त्यसले सुनको मूल्य पनि अकासिएको रूपमा विश्लेषण गरिएको छ । कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्रमा प्रभाव पारेपछि लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा मूल्य अकासिएको व्यवसायीहरूको भनाइ छ ।


यसअघि पनि चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका र इरानबीच देखिएको द्वन्द्वलगायत कारण सुनको मूल्य उकालो लागेको थियो । चीन ठूलो अर्थतन्त्र हुनुका साथै धेरै राष्ट्रमा व्यापारिक सञ्जाल रहेकाले कोरोना भाइरसको असर विश्वव्यापी व्यापारमा पनि परेको व्यवसायीहरूको भनाइ छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सेयर बजार पनि ओरालो लागेका छन् । सेयर बजारको गिरावटलाई पनि कोरोना भाइरसकै कारणका रूपमा विश्लेषण गरिएको छ ।


सेयर बजारमा जोखिम बढेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएको सुनमा लगानी बढेकाले सुनको मूल्य निरन्तर उकालो लागेको जानकारहरूको तर्क छ । लगानीका अन्य क्षेत्र राम्रो हुन नसकिरहेको अवस्थामा सुन सुरक्षित विकल्प भएकाले यसमा लगानीकर्ताको आकर्षण बढ्नु स्वाभाविक भएको उनीहरूको भनाइ छ ।

प्रकाशित : फाल्गुन २७, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?