कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘विदेश नजाऔं, बाख्रा पालौं’

४० बाख्राबाट सुरू भएको व्यवसाय दुई वर्षमा १ सय २० बाख्रा हुँदै अघि बढेको छ
कान्तिपुर संवाददाता

(ओखलढुंगा) — सिद्धिचरण नगरपालिका–१० रुप्सेका घनश्याम बाँस्तोला घरको दुःखले गर्दा पाँच वर्ष खाडी मुलुक बसे । तर खाडी मुलुकमा बस्दा सोचे जस्तो कमाइ भएन । त्यहाँ खटिनुपर्ने समयमा उनले यत्तिको दुःख गाउँमै गरे सुन फल्ने कल्पना गरे ।

‘विदेश नजाऔं, बाख्रा पालौं’

०६९ सालमा घर फर्किए । लगत्तै उनले ४० वटा स्थानीय जातका बाख्रा किनेर पाल्न थाले । त्यसयता उनको सफलता जारी छ । पाठापाठी जन्मिएर दुई वर्षमै बाख्राको संख्या १ सय २० भयो । उनले बोयर र जमुनापारि बोका किने । स्थानीय जातका बाख्रामा ती बोका लगाएपछि नश्ल सुधार भएका राम्रा पाठापाठी जन्मिए । घरमै खसी, बोका, बाख्रा, पाठापाठी किन्ने ग्राहक आउन थाले ।


बाख्रापालन गर्न थालेपछि उनलाई थाहा भयो– घाँस खेती आवश्यक रहेछ । त्यसपछि घाँस खेती थाले । अहिले १७ रोपनीमा यसको खेती गरिरहेका छन् । एक रोपनीमा घाँसको बिरुवा नर्सरी छ । उनले नेपियर, सुपर नेपियर, जै घाँस, इपिलइपिल, मेन्दोला, भटमासेलगायत २० भन्दा बढी जातका घाँस लगाएका छन् । ‘खर्च कटाएर पनि वर्षमा चारदेखि साढे ४ लाख रुपैयाँ कमाउँछु,’ बाँस्तोलाले भने, ‘त्यही पैसाले घर खर्च धान्नेसँगै छोराछोरी पढाइरहेको छु ।’


त्यसैले देशमै बसेर बाख्रापालन गरे पनि मनग्गे कमाइ गर्न सकिने उनको भनाइ छ । ‘म त भन्छु, विदेश नजाऔं, यहीँ बाख्रा पालौं,’ उनले भने । कृषि र पशुपालन पेसा छोराछोरीले पनि अपनाउन् भनेर उनले छोरा र छोरी दुवैलाई कृषि र पशु जेटीए पढाइरहेका छन् । छोराछोरी प्राविधिक भएपछि कृषि फार्म सञ्चालन गर्न सहज हुने उनको आशा छ ।


घनश्यामको नमुना बाख्रा फार्ममा अहिले ६० वटा बाख्रा–पाठा छन् । बिक्रीका लागि समस्या नभए पनि स्थानीय बजारमा बाख्राका लागि आवश्यक दाना नपाइँदा उनलाई दुःख लाग्छ । रोगव्याधी लाग्दा तत्काल उपचारका लागि प्राविधिक उपलब्ध नहुने समस्या पनि उत्तिकै रहेको उनले बताए । उनले बाख्रापालक किसानको समूह पनि गठन गरेका छन् । समूहमा १६ जना किसान आबद्ध छन् ।


तौलेर खसीबोका किनबेच

जिल्लाका बाख्रापालक किसान र व्यापारीबीच खसीबोका तौलेर खरिदबिक्री सुरु भएको छ । केही दिनअघि घनश्याम बास्तोलाकै फार्मबाट पहिलो पटक तौलेर खसीबोका बिक्री सुरुवात गरियो । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले यो कामको समन्वय गरेको हो ।


अनुमानमा खसीबोका बेच्दा किसान ठगिन सक्ने भएकाले तौलेर बेच्न सुरु गरिएको हो । शुक्रबार मात्रै घनश्यामको फार्मबाट व्यवसायी ऋषिकुमार धमलाले २ लाख ८ हजार ६ सय रुपैयाँमा १९ वटा खसीबोका खरिद गरे । बाँस्तोलाले खरी जातका नौवटा बोका, जमुनापारि जातका पाँचवटा खसी र बोयर जातका ५० प्रतिशत क्रसका ५ वटा खसीबोका तौलेर बेचेको हुन् ।


प्रकाशित : फाल्गुन २५, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?