सक्रिय हुँदै चिनियाँ औद्योगिक क्षेत्र

लक्ष्मी लम्साल

(बेइजिङ) — आकस्मिक रूपमा देखापरेको कोरोना भाइरसका कारण शिथिल बनेको चिनियाँ औद्योगिक एवं व्यापारिक क्षेत्र होसियारीपूर्वक पुनः सक्रिय हुन थालेको छ । आन्तरिक एवं बाह्य व्यापारिक गतिविधि प्रभावित हुन थालेपछि एक महिना नपुग्दै चीनले पुनः निरन्तरता दिन थालेको हो । यसका लागि चिनियाँ उद्योगलाई स्वास्थ्य सुरक्षा प्राथमिकतामा राखी कार्यस्थललाई पूर्णतया भाइरसमुक्त बनाउनुपर्ने सर्त राखिएको छ ।

चीनले सक्रिय रूपमा विभिन्न स्वदेशी, विदेशी उद्यम तथा संस्थाको उत्पादन पुनः सुरु गरिरहेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले बताए । ‘चीनले विदेशी उद्यमहरूको लगानी, उत्पादन र सञ्चालनमा भोगेका व्यावहारिक समस्या पनि समाधान गरिरहेको छ,’ उनले भने । चिनियाँ अर्थव्यवस्थामा महामारीको प्रभाव अस्थायी प्रकृतिको भएको र विश्व आपूर्ति शृंखलामा असर पर्ने सोचेर चीनबाट विस्थापित हुन खोजेका विदेशी कम्पनी चीनमै यथावत् रहने उनले बताए । यसअघि मंगलबार चीनको राज्य परिषद्को महामारी रोकथाम तथा नियन्त्रणसम्बन्धी पत्रकार सम्मेलनमा राष्ट्रिय स्वामित्वको सम्पत्ति अनुगमन तथा व्यवस्थापन आयोगले केन्द्रीय उद्योग व्यवसायहरूको मातहतका २० हजार वटा मुख्य उत्पादनमूलक उद्योग व्यवसायले काम सुरु गर्ने जानकारी दिएको छ । योसँगै चीनमा उत्पादन उद्योगको पुनः सुरु दर ८० प्रतिशतभन्दा बढी भएको छ । आयोगले रोकथाम तथा नियन्त्रणका पूर्वसर्तसहित उत्पादन पुनः सुरु गर्न निर्देशन दिएको पनि जनाएको छ । कोरोना संक्रमणसँगै चीनले आफ्नो अर्थतन्त्रलाई धरमर हुन नदिन महामारी नियन्त्रण र उद्योगहरूको पुनः सञ्चालनबीच सन्तुलन राख्ने बताएको छ ।


चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले हुबेईबाहेक देशका ३० प्रान्तस्तरीय क्षेत्रले उद्योगका काम तथा उत्पादन क्षमतालाई पुनः सुरु गरेका छन् । आयोग अधिकारी छन ताले भनिन्, ‘उत्पादन तथा कार्यालय पुनः सुरु गर्नुपूर्व नै

भाइरस रोकथाम तथा नियन्त्रण संयन्त्रलाई चुस्त दुरुस्त राख्न अगाडि नै सूचित गरिएको छ ।’


कोरोनाको कहरकै बीच चीन–युरोप मालबाहक रेल गत सोमबार नानछानबाट रसिया तथा बेलारुसका लागि छुट्यो । रेलमा लादिएका सामग्रीमा अटो पार्ट्स, मेकानिकल सामग्री, लत्ता कपडालगायत गरी पाँच मिलियन डलर बराबरका छन् । निर्यातका लागि हिँडेको चिनियाँ रेलवेका स्टाफको पहिला स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरू स्वस्थ रहेको पुष्टि भएपछि काममा खटाइएको थियो भने रेललाई पूर्णतया भाइरसमुक्त बनाएपछि मात्रै विदेशका लागि पठाइएको हो ।


गत मंगलबार राति रेल चीनको सान्तोङ प्रान्तस्थित छिङ्ताउ तटवर्ती सहरबाट केन्द्र एसियाका लागि प्रस्थान गरेको छ । कोरोना महामारीपछि यसले एसियातिरको व्यापारिक गतिविधिलाई पुनः सुरु भएको संकेत गरेको छ । जापान, दक्षिण कोरिया र केन्द्रीय एसियाली मुलुक कजाकस्तान पुगेर रेलले सामग्री निर्यात गर्नेछ । चीनका प्रायः अटो कम्पनी यतिखेर मास्क उत्पादनमा सक्रिय छन् । कोरोना संक्रमणसँगै बजारको माग बुझेर उनीहरूले आफ्नो उत्पादन क्षमतालाई त्यसतर्फ मोडेका हुन् । चिनियाँ उद्योग तथा सूचनाप्रविधि मन्त्रालयका अनुसार दैनिक २० मिलियन मास्क उत्पादन भइरहेको छ । त्यसमध्ये २.२ मिलियन मास्क सर्जिकल प्रयोग तथा ६ लाख मास्क एन–९५ छन् । चिनियाँ वसन्त पर्वको बिदा अवधिमा मास्कको उत्पादन तथा सप्लाई रोकिएकाले अझै पनि चीनमा मास्कको अभाव छ । अटो मोबाइलमा प्रयोग हुने ध्वनि प्रतिरोधी उपकरण नै मास्क बनाउन प्रयोग हुने पोलिप्रोपिलेन फाइबरका लागि मिल्ने भएकाले कार उत्पादक कम्पनीलाई मास्क उत्पादक कम्पनीमा रूपान्तरण हुन समस्या छैन । चीनमा गत फेब्रुअरी २ देखि नै मास्क उत्पादनको क्षमता बढ्दै गएको छ । तर पनि अझै यसको माग बढ्दो छ ।


चीनका मुख्य २२ प्रान्तको गत साताको तथ्यांकअनुसार बिजुली, ग्यास र पेट्रोलको आपूर्तिका साथै नागरिक उड्डयन, रेल तथा जलपरिवहन पुनः सुरु भइसकेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने पोसाक उत्पादन पुनः सुरु दर ७७, खाद्यान्न उत्पादनको दर ९४.६ तथा कोइला खानी उद्योगको उत्पादन दर ५० प्रतिशत पुगेको छ । कोरोना भाइरसविरुद्ध सम्बन्धित उद्योग व्यवसायबाट सेवासुविधा प्राथमिकतासाथ उपलब्ध गराउने, भाइरस संक्रमणका कारण पृथकीकरणको नीतिबाट प्रभावित परिवहन व्यवसायलाई पुनः उकास्ने मध्यम र साना उद्योग व्यवसायका साथै निजी व्यवसायलाई वित्तीय समर्थन दिने कुरा चीनले प्राथमिकतामा राखेको जनाएको छ । वित्तीय प्रणालीको डिजिटल प्रवर्द्धन र वित्तीय अनलाइन सेवा तथा सञ्चालन क्षमता बलियो बनाउनुपर्नेमा चीनले जोड दिएको छ । प्रकाशित : फाल्गुन १३, २०७६ ०७:४२

प्रतिक्रिया
पठाउनुहोस्

संकटमा चिनियाँ नेतृत्व

लक्ष्मी लम्साल

वर्तमान चिनियाँ संकटको घडीमा सबैभन्दा अग्रपंक्तिमा देखिएका तीन पात्र हुन्— राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ परराष्ट्र प्रवक्ता । यी तीन पात्रहरू निरन्तर बैठक गर्ने, अत्यावश्यक निर्देशन दिने र भएका सूचना विश्वमाझ फैलाउने क्रममा व्यस्त छन् ।

चिनियाँ राष्ट्रपति पद यहाँको राजनीतिक मियो हो र उनकै वरिपरि सारा संयन्त्र घुमिरहेको हुन्छ भने दोस्रो तहमा प्रधानमन्त्री । दुवै नेताहरू कोरोना भाइरसको विपत्तिमा हौसला थप्ने, समन्वय गर्ने, मातहतका निकायहरू चुस्त–दुरुस्त राख्ने, उपलब्धिहरू अद्यावधिक गर्ने, अभिभावकीय भरोसा दिने र परराष्ट्र मन्त्रालयका प्रवक्ताहरू विश्व समुदायमा जारी संकटबारे सूचनाहरू आदान–प्रदान गर्ने काममा लागिपरेका छन् । बाँकी निकायको आआफ्ना जिम्मेवारी त छँदैछन् ।

मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे विच्याट वा अन्य इन्टरनेट कन्फ्रेन्समार्फत विश्व समुदायलाई सूचित गर्नु चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वय ह्वा छुनयिङ र कङ श्वाङको जिम्मेवारीभित्र पर्छ । वुहानमा भेटिएको नयाँ खाले कोरोना भाइरसबारे निष्ठापूर्वक प्रतिरोधको प्रस्ताव तयार पारेको जानकारी परराष्ट्र प्रवक्ता कङ श्वाङले जनवरी २० मा दिएका थिए । प्रथम प्रहरमै विश्व स्वास्थ्य संगठनलाई नयाँ खाले कोरोना भाइरसको जीन शृंखलाबारे पनि जानकारी गराए । चीनले २१ मा विश्व स्वास्थ्य संगठनसँग र विशेषज्ञहरूसँग मिलेर नयाँ कोरोनाबारे जिम्मेवारीपूर्वक कदम चाल्ने घोषणा गर्‍यो र अन्य मुलुकलाई यस बारेमा जानकारी गरायो ।

नयाँ खाले कोरोना भाइरसबाट वुहानमा २२४ र जापान तथा कोरियामा १–१ तथा थाइल्यान्डमा २ जना प्रभावित भेटिएको समाचार सार्वजनिक भएसँगै जनवरी २० मा चिनियाँ राष्ट्रपति सीले एउटा बैठक बोलाएर यस अवस्थालाई उच्च महत्त्व दिनुपर्ने, भ्याएसम्म प्रतिरोध गर्नुपर्ने, विकसित घटनाक्रम अद्यावधिक गर्नुपर्ने र विश्व सहयोग मजबुत पार्नुपर्ने जस्ता निर्देशन दिए । जनवरी २१ मा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अढानोम घेब्रेयेससले जेनेभामा आपत्कालीन बैठक बोलाएर विश्व स्वास्थ्यमा ध्यानाकर्षक गर्दै समस्या देखापरेको भन्दै सचेत गराए । जनवरी २३ मा वुहानले विमानस्थल, रेलस्टेसन लगायत सबै खालका सार्वजनिक यातायात अस्थायी रूपमा बन्द गर्‍यो । सरुवा रोगको विश्लेषणपछि फैलावट रोक्न भन्दै स्थानीयलाई वुहान नछोड्न अनुरोध गरियो । चीनको मध्यभागमै अवस्थित वुहान सहर सबैभन्दा ठूलो यातायात सञ्जाल हो, जुन ठप्प पार्नु निर्मम छनोट थियो ।

जनवरी २४ चीनको परम्परागत पात्रो अनुसार नववर्षको पूर्वसन्ध्या अर्थात् १ अर्ब ४० करोड चिनियाँको पुनःमिलनको पर्व थियो । वसन्त चाडको ढुवानी अवधि जनवरी १० देखि नै सुरु भएको घोषणा गरिएको थियो । तर त्यतिन्जेलसम्म चीनका २९ प्रान्तमा फैलिएर संक्रमितको ग्राफ हजार आसपास पुग्न लागेपछि चिनियाँ सर्वसाधारणका लागि भिडियो, टेलिफोन वा इन्टरनेटका अनेक तरिकामार्फत वसन्त चाड मनाउनुको विकल्प भएन । यहाँ राज्यको अनुरोधसँगै सर्वसाधारणको एकताको भावना छचल्किएको देख्न सकिन्छ ।

कोरोना आतंक फैलिन थालेदेखि चिनियाँ राष्ट्रपतिको सक्रियता अझै तीव्र भएको छ । यसै पनि उनी परिश्रमी नेता मानिन्छन् । त्यसमाथि यस्तो संकटको घडीमा उनका अनेकन अभिभावकीय जिम्मेवारीहरू थपिए । मातहतका बैठक डाक्नु, अन्तर्राष्ट्रिय जगतमा टेलिफोन वा भेटमार्फत समन्वय गर्नु, चीनमा आएका पाहुनासँग सत्य–तथ्य केलाउनु, सकेसम्मका क्षेत्रमा स्थलगत भ्रमण गरेर संक्रमण नियन्त्रणका लागि जनतालाई जागरुक गराउनु उनको हालको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ । जनवरी २६ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक ब्युरो, स्थायी परिषदको अध्यक्षता गरेका राष्ट्रपति सीले महामारी रोकथाम र नियन्त्रण युद्धलाई पराजित गर्नुपर्ने अठोट दिलाए । सोही दिन प्रधानमन्त्री एवं कोरोना भाइरस प्रतिरोध केन्द्रीय कार्यदलका नेता ली खछ्याङले पनि मृत्युदर घटाउने र पारदर्शिता अपनाउने कुरामा यथोचित निर्देशन दिए । लीले युरोपेली संघका अध्यक्ष उर्सुला भोनडर लेएनलाई टेलिफोन गरेर युरोपेली मुलुकबाट चिकित्सा सामग्री खरिद गर्ने बारेमा परामर्श गरे । फेब्रुअरी २ मा फेरि लीले आफू मातहत बैठक बसालेर केही प्रान्तमा महामारीको प्रतिरोध, बजार आपूर्तिको निर्देशन दिए । ४ तारिख फेरि अर्को बैठक बोलाएर लीले चिकित्सक तथा चिकित्सा सामग्री वुहान पठाउनेबारे निर्देशन दिए ।

जनवरी २८ तारिख विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस बेइजिङमा उत्रिएपछि सी र परराष्ट्रमन्त्री वाङ यीले भेटे अनि महामारी रोकथाममा चीनको दृढता प्रस्तुत गरे । फेब्रुअरी ७ मा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महामारीको प्रतिरोध सम्बन्धी वार्ता गरे । फेब्रुअरी ५ मा सीले पार्टी केन्द्रीय समितिको राष्ट्रिय चौतर्फी कानुनी शासन परिषदको तेस्रो बैठक बोलाएर शारीरिक स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्ने औंल्याए । फेब्रुअरी १० मा पेइचिङस्थित तिथान अस्पतालमा पुगेर बिरामीहरूको औषधोपचार अवस्थाको अवलोकन गरेर भिडियोमार्फत वुहानका बिरामीहरूसँग साक्षात्कार गरे । अहिले पनि घरआवास क्षेत्रमा पुगेर रेखदेख गर्ने काममा सी नै खटिएको देखिन्छ ।

भाइरसको फैलावट हुन नदिन चीनका हरेक निकाय तत्काल सक्रिय भएको देख्दा जोकोहीलाई अचम्म लाग्छ । कुनै त्यस्ता निर्णय छैनन्, जुन अनुमानका भरमा एकछिन लागू गर्ने र तुरुन्तै तोड्ने गरियोस् । यसबाट नेतृत्वमा दूरदृष्टियुक्त ‘भिजन’ भएको झल्किन्छ । एक समय फेक न्युजका कारण निकै अफवाह फैलिए । सम्बन्धित निकायले तत्काल लोगो भएको वा आधिकारिक सूचना पठाउने एप वा निकाय बाहेक अन्यमा भर नपर्न सुझाए । चिनियाँ अर्थतन्त्र सम्बन्धी निकायले वर्तमान उतार–चढाव अस्थायी प्रकृतिको भएकाले दीर्घकालीन अर्थतन्त्रमा असर नपर्ने भनेर चीनका लगानीकर्ता र आफ्नो वैदेशिक लगानी तथा विश्व अर्थतन्त्रमा देखिएको आशंका निवारणको प्रयास गरे ।
चीनमा एकपछि अर्को संयन्त्रले परिपक्व ढंगले काम गरेको देखेपछि चिनियाँ नेतृत्वको क्षमतामाथि जोकोहीमा जिज्ञासा जाग्छ । ३ प्रमुख पात्रले १ अर्ब ४० करोड जनसंख्या भएको आपत्कालीन घडीलाई संयमित ढंगले काबुमा लिइरहेका छन् र आफूहरू मातहतका निकायलाई जिम्मेवारीपूर्वक खटाएका छन् । जो विपत्तिका बेलामा ब्युँझिँदैनन्, उनीहरूलाई मिनेटभरमै कारबाही गरेर तत्कालै अर्कोलाई जिम्मेवारी दिने ल्याकत राख्छन्, उनीहरू । र दुःखको घडीमा हिलो छ्याप्न खोज्ने अन्तर्राष्ट्रिय समुदायको सामना पनि एकसाथ गरिरहेका छन् । सहयोग गर्न खोज्ने विश्वसँग हातेमालो पनि गर्न भ्याएका छन्, अनि चीनमा रहेका विदेशी वा विश्वका जनताको स्वास्थ्यप्रति उत्तिकै संवेदनशीलता देखाएका छन् । यी सारा संकटको घडीमा नेतृत्वको कार्यक्षमताले चिनियाँमात्रै होइन, विश्वलाई नै यतिखेर चकित बनाएको हुनुपर्छ ।

स्मरणीय छ, नेपाली नेताहरू पनि सी विचारधारा अध्ययन गरिरहेका छन्, चिनियाँ नेताबाट प्रशिक्षण लिइरहेका छन् । छिमेकी मुलुक चीनबाट हाम्रा नेताहरूले धेरै कुरा सिकिसकेको पनि भन्छन् । संकटको बेला चिनियाँ नेतृत्व कसरी अडिग भएर निर्णय गर्छ भन्नेचाहिँ कहिले सिक्ने होलान् ?

लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, बेइजिङमा कार्यरत छन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×