कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे तीन सय बिघामा लगाएको मकैमा दाना लागेन

राजु चौधरी

काठमाडौँ — बारा जिल्लामा किसानले लगाएको मकैमा दाना नलाग्ने समस्या देखिएको छ । ६ हजार हेक्टर मकै खेतीमध्ये साढे ३ सय बिघा खेतीमा दाना नलागेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

साढे तीन सय बिघामा लगाएको मकैमा दाना लागेन

‘सिमरा उपमहानगरपालिकामा ३ सय बिघा, कलैया उपमहानगरपालिकामा करिब २० बिघा र प्रसौनी गाउँपालिकामा २० बिघामा समस्या देखिएको छ,’ ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले भने, ‘कर्मचारी फिल्डमा खटाएका छौं । तथ्यांक थप बढ्न सक्छ ।’

मकैमा घोगा नलाग्ने समस्या देखिएपछि केन्द्रले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई बोधार्थ गरी कृषि विकास निर्देशनालय धनुषालाई समेत पत्र पठाएको छ । पत्रमा हाइब्रिड जातका मकैको घोगामा दाना नलागी धान चमरमा दाना लागेको उल्लेख छ । ‘हाइब्रिड जातको मकैको घोगामा दाना नलागी मकैको धान–चमरमा दाना लागेर समस्या देखापरेको छ । तसर्थ त्यहाँ कार्यालयबाट विज्ञहरूको टोली खटाई सो समस्याको कारण पत्ता लगाउन तथा किसानलाई आवश्यक प्राविधिक परामर्श प्रदान गर्न सहयोग गरिदिनहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

किसानले ती क्षेत्रमा आठ जातका मकै लगाएको केन्द्र प्रमुख यादवले बताए । जसमध्ये दुई जात मात्रै सूचीकृत छन् । भन्सार छली गरी आयात गरिएका जातका कारण पनि समस्या भएको हुन सक्ने केन्द्रले जनाएको छ । यीबाहेक वातावरण परिवर्तनले पनि केही समस्या भएको हुन सक्ने जानकार बताउँछन् । ‘किसानले लगाएका केही जात सूचीकृत छैनन् । भन्सार छलेर ल्याएका पनि छन्,’ यादवले भने, ‘यीबाहेक अहिले मकैमा देखिएको समस्या मौसमका कारण पनि हुन सक्छ ।’ थप अध्ययनका लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद्लाई आग्रह गरेको उनले बताए ।

अवलोकन गरेपछि मात्रै यकिन तथ्यांक आउने बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र प्रमुख मदन थापाको भनाइ छ । मकैबारे अध्ययन गर्न अर्को साता टोली खटाइने उनले बताए । ‘बीउबिजन केन्द्रका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबाट प्रारम्भिक अध्ययन भइरहेको छ,’ उनले भने, ‘अर्को साता केन्द्रबाट पनि जान्छौं ।’

मकैका ८५ जात स्वीकृत छन्, तीमध्ये २७ जात नेपालमै उत्पादित छन् । ५८ जात बाहिरबाट आयात हुँदै आएका छन् । खुला सीमाका कारण सूचीकृत नभएका जात पनि प्रशस्त भित्रिने गरेको छ । बाराका किसानले एनएमएच (श्रेष्ठा) र ९५१ सुपर जातका मकै लगाएका थिए । सरकारले सूचीकृत गरेको ती जातमा पनि समस्या देखिएको केन्द्रको भनाइ छ । श्रेष्ठा ०६९ सालमा सूचीकृत भएको थियो । यो जातको मकै १ सय १५ दिनमा पाक्ने केन्द्रले जनाएको छ । यसको उत्पादन क्षमता प्रतिहेक्टर ७.९२ टन हो । श्रेष्ठा जात नारायणी नदीपूर्वका भित्री मधेस तथा तराईमा सिफारिस गरिएको छ ।

९५१ सुपरलाई ०७४ सालमा स्वीकृति दिइएको थियो । यसको पाक्ने अवधि १ सय ५५ देखि १ सय ६० दिन हो । केन्द्रले यो जातलाई समुद्री सतहदेखि ७ सय मिटर उचाइसम्मको नारायणी नदीपूर्वका तराई र भित्री मधेसमा हिउँदे सिजनका लागि सिफारिस गरेको छ । दुवै बीउ पञ्जीकृत हुन् । यी जातका मकैको बीउ नेपालमा उत्पादन नभएकाले आयातमै भर पर्नुपरेको केन्द्रले जनाएको छ । ‘कम्पनीहरू जात सूचीकृत गरेपछि दायित्व सकियो भन्ने सोच्छन्,’ बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी रमेश हुमागाईंले भने, ‘मौसम परिवर्तनले पनि समस्या हुन सक्छ । गत वर्ष शीतलहर थिएन । यो वर्ष करिब एक महिना चल्यो ।


यसले पनि समस्या पारेको हुन सक्छ ।’ कृषि अनुसन्धान परिषद्का प्रवक्ता मनोज ठाकुरले पनि मकैमा समस्या देखिएको स्विकारे । खुला सिमानाकै कारण अवैध रूपमा भित्रिँदा किसान मर्कामा परेको उनको बुझाइ छ । खुला सीमाकै कारण साइकल, ट्र्याक्टरमा पनि सूचीकृत नभएका मकैको बीउ आयात हुने गरेको उनले बताए । औपचारिक र अनौपचारिक गरेर वार्षिक ३ अर्बको आयात हुन्छ । व्यवसायीले बिल जारी नगर्ने र किसानसँग पनि बिल नहुँदा कारबाहीमा पनि समस्या भएको केन्द्र प्रमुख थापाको भनाइ छ ।

खुला सीमाका कारण नक्कली बीउ आयात भए पनि नियामक निकायले भने अनुगमनमा चासो दिएको छैन । बीउबिजनबारे अनुगमन एवं अध्ययन नार्क र केन्द्रले नै गर्नुपर्ने हो । तर यी निकायकै बेवास्ताका कारण नक्कली बीउ भित्रिने गरेको सरोकारवाला बताउँछन् । जसको मारमा किसान परेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?