गौतम बुद्धमा प्राविधिक न उपकरण

कोरोना भाइरसका कारण चीन गएका प्राविधिक नफर्किंदा विमानस्थल निर्माणले अपेक्षित गति लिन सकेको छैन 
माधव ढुंगाना

(भैरहवा) — चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भैरहवामा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रभावित बनेको छ । द्रुत गतिमा अघि बढिरहेको आयोजना निर्माण अन्तिम चरणमा पुगे पनि एक महिनायता त्यति काम हुन सकेको छैन । चीनबाट आयोजनाका उपकरण र प्राविधिक जनशक्ति आउन सकेका छैनन् ।

‘चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर आयोजनालाई धेरै परेको छ,’ निर्माणाधीन विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने । आयोजनाको मुख्य चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले टर्मिनल भवनमा जडान हुने ब्यागेज ह्यान्डलिङ सिस्टम (कन्भेयर बेल्ट) र धावनमार्गका लाइट ल्याउन सकेको छैन । यसले आयोजनास्थलमा गरिनुपर्ने प्राविधिक निर्माणतर्फका काम सुस्त गतिमा छन् । प्राविधिक पनि आयोजनास्थलमा न्यून संख्यामा मात्रै छन् ।


यसअघि आयोजनास्थलमा विभिन्न उपकरण जडानका लागि चीनबाट प्राविधिकसहितको टोली आउने–जाने क्रम चलिरहेको थियो । टर्मिनल भवनभित्र चाहिने एयरकन्डिसन, एक्सरे, विमान उडानबारे यात्रुलाई सूचना दिने, टेलिफोन, इन्टरनेट, सीसीटीभी, आगलागी (वारुणयन्त्र) सम्बन्धी सूचना दिने उपकरण चिनियाँ ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याइसके पनि जनशक्तिको कमीले द्रुत गतिमा जडान हुन सकेको छैन ।


आयोजनाका लागि चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट ल्याइनुपर्ने उपकरण चीनको वुहान सहर नजिक छन, जुन सहर कोरोना भाइरसबाट बढी संक्रमित छ । ५०–५५ जना चिनियाँ प्राविधिक टोली आयोजनास्थलमा हुनुपर्नेमा मुस्किलले २० जना मात्रै छन् । चिनियाँ नयाँ वर्ष मनाउन डेढ महिनाअघि चीनतर्फ गएका आयोजनास्थलमा कार्यर्रत प्रायः चिनियाँ प्राविधिक फर्किएका छैनन् । उनीहरू आउनेबारे कुनै टुंगो छैन ।


चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट आयोजनास्थलमा गर्नुपर्ने मुख्य काममा टर्मिनल भवनमा विभिन्न उपकरण जडान र फिनिसिङसँग सम्बन्धित काम बाँकी रहेको आयोजनाले जनाएको छ । चिनियाँ ठेकेदारका तर्फबाट गर्नुपर्ने कामको भौतिक प्रगति ९० प्रतिशत हाराहारीमा छ । ब्यागेज ह्यान्डलिङ सिस्टम र रनवे लाइटका सबै उपकरण आएपछि पनि ब्यागेज ह्यान्डलिङ सिस्टम जडान गर्न १५–२० दिन र रनवे लाइट जडान गर्न एक महिनाभन्दा धेरै समय लाग्छ ।


कोरोना भाइरसको संक्रमण नभएको भए यतिबेलासम्म ती उपकरण ७५ प्र्रतिशत आइसक्ने थिए । सबै उपकरण एकै पटक नल्याएर ठेकेदार कम्पनीले ससानो मात्रामा ल्याउँदै जडान गर्दै थियो । एकै पटक ल्याउँदा उत्पादन र सामुद्रिक जहाजबाट ढुवानीमा समस्या थियो । अर्डरअनुरूपका उपकरण उत्पादन र निर्माण कार्य सँगसँगै लैजान खोजिएको थियो । कतै आयोजना फेरि पनि निर्धारित समयमा सम्पन्न नहुने त होइन भन्ने शंका उब्जिएको छ । ‘यति बेला सबैभन्दा बढी उपकरण जडान गरिनुपर्ने समय हो,’ आयोजना प्रमुख अधिकारीले भने । डिसेम्बर २०१७ मा निर्माण सम्पन्न गर्ने भनिए पनि चौथो पटक म्याद थपेर ३१ मार्च २०२० मा सम्पन्न गर्ने पछिल्लो कार्यतालिका छ ।


एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनको उपकरणसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र २ (आईसीपी टु) लाई पनि चीनमा फैलिएको कोरोना संक्रमणले अप्रत्यक्ष रूपमा प्रभाव पारेको छ । यसका लागि थाइल्यान्डको एरो थाई कम्पनीले ठेक्का लिएको हो । आईसीपी टुतर्फका आयोजना व्यवस्थापक प्रवीन न्यौपानले एरो थाई कम्पनीले गर्नुपर्ने कतिपय काम चिनियाँ ठेकेदार कम्पनीले पूरा गर्नुपर्ने भएकाले प्रभावित हुन लागेको बताए ।


‘चिनियाँ ठेकेदार कम्पनीले काम फिनिसिङ नगरेसम्म हामीले केही गर्न सक्दैनौं,’ न्यौपानेले भने, ‘धमाधम काम गर्न पाए हुने हो तर वातावरण बनेको छैन ।’ चिनियाँ ठेकेदार कम्पनीले घर गएका आफ्ना प्राविधिक तथा कामदार फर्किन नपाएकाले सोचेअनुरूपको काम गर्न नसकिएको जनाउँदै पत्राचार गरिसकेको उनले जनाए । ‘एरो थाई कम्पनीलेल आफ्ना उपकरण ९० प्रतिशतभन्दा धेरै ल्याइसकेको छ,’ न्यौपानेले भने । प्रकाशित : फाल्गुन ९, २०७६ ०८:२४

प्रतिक्रिया
पठाउनुहोस्

सुनमा दिनदिनै रेकर्ड

यज्ञ बञ्जाडे

काठमाडौँ — अहिले विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । यसअघि चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका र इरानबीच देखिएको द्वन्द्वलगायत कारण उकालो लागेको सुनको मूल्य अहिले कारोना भाइरसद्वारा प्रभावित भएको बताइएको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित बनेपछि पछिल्ला दिनमा विश्व बजारमा सुनको मूल्य उकालो लागेको राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । 

चीन ठूलो अर्थतन्त्र हुनुका साथै धेरै राष्ट्रमा व्यापारिक सञ्जाल रहेकाले कोरोना भाइरसको असर विश्वव्यापी व्यापारमा पनि परेको उनको भनाइ छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सेयर बजार पनि ओरालो लागेका छन् । सेयर बजारमा जोखिम बढेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएको सुनमा लगानी बढेकाले सुनको मूल्य निरन्तर उकालो लागेको मानन्धरको भनाइ छ । ‘कोरोना भारसरका कारण विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने निश्चितजस्तै छ,’ उनले भने, ‘यसकारण लगानीकर्ता सुनतिर होम्मिए ।’ लगानीका अन्य क्षेत्र राम्रो हुन नसकिरहेको अवस्थामा सुन सुरक्षित विकल्प भएकाले यसमा लगानी बढ्ने उनले बताए ।

घरेलु बजारमा बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भयो । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार प्रतितोला ७७ हजार १ सयमा किनबेच भएको सुनको मूल्य बिहीबार ५ सय रुपैयाँ बढेर कारोबार भएको हो । विश्व बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय १० अमेरिकी डलर पुगेपछि नेपाली बजारमा पनि मूल्य साढे ७७ हजारभन्दा माथि पुगेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ५ सय ८७ र बिहीबार १ हजार ६ सय २ अमेरिकी डलर थियो । घरेलु बजारमा सुनको मूल्य घट्ने सम्भावना कम रहेको जानकारहरू बताउँछन् । सुनको मूल्य अकासिएको मौका पारेर गैरकानुनी बाटोबाट सुन भित्रिने क्रम बढेको स्रोतले बताएको छ । सोही सुन बजारमा आएपछि बैंकहरूको सुन बिक्री हुन छाडेको उनीहरूको भनाइ छ ।

फागुनमा बिहेको सिजन भए पनि उच्च मूल्यका कारण नेपाली बजारमा सुनको कारोबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘हाल दैनिक औसत १० देखि १५ किलोका दरले सुन कारोबार भएको छ,’ उनले भने, ‘रहरले सुन किन्ने ग्राहक छैनन् भन्दा पनि हुन्छ ।’ फागुनमा विवाहको लगन भए पनि कारोबार निराशाजनक रहेको उनको भनाइ छ । ‘यसअघि मंसिर र पुसमा सुन किनबेच घटेको थियो,’ उनले थपे, ‘धेरै विवाह भएकाले होला, माघमा एक्कासि माग बढ्यो । तर फागुनमा सुनको कारोबार फेरि सुस्ताएको छ ।’ रोजगारीका लागि कम्तीमा छ महिना विदेशमा बसेका नागरिकले प्रतिव्यक्ति ५० ग्राम सम्म काँचो सुन (बिस्कुट) ल्याउन पाउने व्यवस्था छ । अन्ततः त्यो सुन पनि बजारमै आउने हो । केही मात्रामा सुनको कालोबजारी पनि हुने गरेको मानन्धरको भनाइ छ ।

बजारमा सुनको कारोबार घटेपछि बैंकहरूको सुन बिक्री पनि घटेको छ । फागुन २ सम्म बैंकहरूसँग ५ सय ४५ किलो सुन थुप्रिएको बैंकर्स संघले बताएको छ । बैंकहरूमा करिब साढे ५ सय किलो सुन थुप्रिएपछि माघ अन्तिम सातादेखि कुनै पनि बैंकले सुन आयात नगरेको संघका कार्यकारी निर्देशक अनिल शर्माको भनाइ छ । ‘स्टकमा करिब साढे पाँच सय किलो थुप्रिएपछि सुन आयात भएको छैन,’ उनले भने । विवाहको सिजनमा सुनको माग बढ्नुपर्नेमा झन् घट्दै गएकाले गैरकानुनी रूपबाट सुन आएको छ कि भन्ने शंका उत्पन्न भएको उनले बताए । संघको तथ्यांकअनुसार गत जेठ २० मा पनि सुन बिक्री नभएर बैंकहरूमा ६ सय ७२ किलो सुन स्टकमा थियो ।

गत आवको तुलनामा यो वर्ष सुन आयात घटेको छ । अघिल्लो आवको माघसम्म बैंकहरूले ४ हजार ३ सय ५० किलो सुन आयात गरेका थिए । चालु आवको सोही अवधिमा २ हजार ५० किलो मात्र सुन आयात भएको संघले जनाएको छ । हाल वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ  । सोही व्यवस्थाअनुसार २२ वटा वाणिज्य बैंकले पालोअनुसार दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ । अनौपचारिक माध्यमबाट भित्रिएको सुन बजारमा छ्यापछ्यप्ती भएपछि बैंकको सुन नबिकेको जानकार बताउँछन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×