सुनमा दिनदिनै रेकर्ड

यज्ञ बञ्जाडे

काठमाडौँ — अहिले विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । यसअघि चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका र इरानबीच देखिएको द्वन्द्वलगायत कारण उकालो लागेको सुनको मूल्य अहिले कारोना भाइरसद्वारा प्रभावित भएको बताइएको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित बनेपछि पछिल्ला दिनमा विश्व बजारमा सुनको मूल्य उकालो लागेको राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । 

चीन ठूलो अर्थतन्त्र हुनुका साथै धेरै राष्ट्रमा व्यापारिक सञ्जाल रहेकाले कोरोना भाइरसको असर विश्वव्यापी व्यापारमा पनि परेको उनको भनाइ छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सेयर बजार पनि ओरालो लागेका छन् । सेयर बजारमा जोखिम बढेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएको सुनमा लगानी बढेकाले सुनको मूल्य निरन्तर उकालो लागेको मानन्धरको भनाइ छ । ‘कोरोना भारसरका कारण विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने निश्चितजस्तै छ,’ उनले भने, ‘यसकारण लगानीकर्ता सुनतिर होम्मिए ।’ लगानीका अन्य क्षेत्र राम्रो हुन नसकिरहेको अवस्थामा सुन सुरक्षित विकल्प भएकाले यसमा लगानी बढ्ने उनले बताए ।


घरेलु बजारमा बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भयो । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार प्रतितोला ७७ हजार १ सयमा किनबेच भएको सुनको मूल्य बिहीबार ५ सय रुपैयाँ बढेर कारोबार भएको हो । विश्व बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय १० अमेरिकी डलर पुगेपछि नेपाली बजारमा पनि मूल्य साढे ७७ हजारभन्दा माथि पुगेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ५ सय ८७ र बिहीबार १ हजार ६ सय २ अमेरिकी डलर थियो । घरेलु बजारमा सुनको मूल्य घट्ने सम्भावना कम रहेको जानकारहरू बताउँछन् । सुनको मूल्य अकासिएको मौका पारेर गैरकानुनी बाटोबाट सुन भित्रिने क्रम बढेको स्रोतले बताएको छ । सोही सुन बजारमा आएपछि बैंकहरूको सुन बिक्री हुन छाडेको उनीहरूको भनाइ छ ।


फागुनमा बिहेको सिजन भए पनि उच्च मूल्यका कारण नेपाली बजारमा सुनको कारोबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘हाल दैनिक औसत १० देखि १५ किलोका दरले सुन कारोबार भएको छ,’ उनले भने, ‘रहरले सुन किन्ने ग्राहक छैनन् भन्दा पनि हुन्छ ।’ फागुनमा विवाहको लगन भए पनि कारोबार निराशाजनक रहेको उनको भनाइ छ । ‘यसअघि मंसिर र पुसमा सुन किनबेच घटेको थियो,’ उनले थपे, ‘धेरै विवाह भएकाले होला, माघमा एक्कासि माग बढ्यो । तर फागुनमा सुनको कारोबार फेरि सुस्ताएको छ ।’ रोजगारीका लागि कम्तीमा छ महिना विदेशमा बसेका नागरिकले प्रतिव्यक्ति ५० ग्राम सम्म काँचो सुन (बिस्कुट) ल्याउन पाउने व्यवस्था छ । अन्ततः त्यो सुन पनि बजारमै आउने हो । केही मात्रामा सुनको कालोबजारी पनि हुने गरेको मानन्धरको भनाइ छ ।


बजारमा सुनको कारोबार घटेपछि बैंकहरूको सुन बिक्री पनि घटेको छ । फागुन २ सम्म बैंकहरूसँग ५ सय ४५ किलो सुन थुप्रिएको बैंकर्स संघले बताएको छ । बैंकहरूमा करिब साढे ५ सय किलो सुन थुप्रिएपछि माघ अन्तिम सातादेखि कुनै पनि बैंकले सुन आयात नगरेको संघका कार्यकारी निर्देशक अनिल शर्माको भनाइ छ । ‘स्टकमा करिब साढे पाँच सय किलो थुप्रिएपछि सुन आयात भएको छैन,’ उनले भने । विवाहको सिजनमा सुनको माग बढ्नुपर्नेमा झन् घट्दै गएकाले गैरकानुनी रूपबाट सुन आएको छ कि भन्ने शंका उत्पन्न भएको उनले बताए । संघको तथ्यांकअनुसार गत जेठ २० मा पनि सुन बिक्री नभएर बैंकहरूमा ६ सय ७२ किलो सुन स्टकमा थियो ।


गत आवको तुलनामा यो वर्ष सुन आयात घटेको छ । अघिल्लो आवको माघसम्म बैंकहरूले ४ हजार ३ सय ५० किलो सुन आयात गरेका थिए । चालु आवको सोही अवधिमा २ हजार ५० किलो मात्र सुन आयात भएको संघले जनाएको छ । हाल वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ  । सोही व्यवस्थाअनुसार २२ वटा वाणिज्य बैंकले पालोअनुसार दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ । अनौपचारिक माध्यमबाट भित्रिएको सुन बजारमा छ्यापछ्यप्ती भएपछि बैंकको सुन नबिकेको जानकार बताउँछन् । प्रकाशित : फाल्गुन ९, २०७६ ०८:२२

प्रतिक्रिया
पठाउनुहोस्

खस्किँदै घरेलु गलैंचाको बजार

कान्तिपुर संवाददाता

दार्चुला — नेपालमै प्रसिद्ध मानिएको दार्चुलामा उत्पादित गलैंचाको माग पछिल्लो समय खस्किएको छ । परम्परादेखि यहाँका स्थानीयले तानबाट बुनेर गलैंचा उत्पादन गर्दै आएका छन् । 

‘हातले ऊन कातेर तानमा बुनेको गलैंचाको उत्पादन र बिक्री घट्न थालेको छ,’ महाकाली नगरपालिका–४ बंगाबगडका सहदेव बोहराले भने, ‘बजारमा पाइने रेडिमेड गलैंचाले स्थानीय उत्पादनलाई विस्थापित गर्न थालेको हो ।’ कम लागत र राम्रो सजावटका गलैंचा बजार र ग्रामीण क्षेत्रमा पुग्न थालेपछि स्थानीय गलैंचाले मूल्य नपाएको हो ।

गलैंचा तयार गर्न बाहिरबाट कच्चापदार्थ ल्याउनुपर्ने र मिहिनेत पनि उत्तिकै पर्ने भएपछि स्थानीय प्रविधिबाट बुनेका गलैंचाको लागत बढी हुन्छ । एक महिनामा दुईभन्दा बढी बुन्न नसकिने स्थानीय बताउँछन् । करिब ४ हजार रुपैयाँ बराबरको कच्चापदार्थ र धेरै समय अनि श्रम बढी लाग्ने भएकाले अहिले बजारमा आउने गलैंचाभन्दा मूल्य बढी हुनु स्वाभाविक रहेको पारभती बुढाथोकीको भनाइ छ ।

दार्चुलामा मात्र बसोवास रहेको सौका समुदायका प्रत्येक घरमा गलैंचा बुन्ने मेसिन भेटिन्छन् । तान भएका घर भने बिरलै छन् । ७७ वर्षीया पारभती भने तानबाटै गलैंचा बुन्छिन् । रेडिमेड गलैंचा बजारमा नआउँदासम्म दार्चुलाको गलैंचा देशमै प्रख्यात रहेको उनले सम्झिइन् । त्यस बेला गलैंचा खोज्दै ग्राहक घरघरमै पुग्ने गरेको उनले बताइन् । अहिले त आफैंलाई चाहियो भने पनि भारतीय बजारमा खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

घरमा खाली बस्नुपर्ने हुँदा समयको सदुपयोग हुने र आफ्नो पेसाको पनि जगेर्ना हुने हुँदा तान बुन्ने गरेको उनले बताइन् । तानलाई स्थानीय भाषामा ‘राज’ भन्ने गरिएको व्यासी सौका समाजकी अध्यक्ष यशोदा तिंकरीले बताइन् । तानमा गलैंचा, राडी पाखी, स्विटर, टोपीलगायत न्याना लुगा बुन्ने गरिन्छ । दार्चुलामा सौका समुदायको बसोवास उत्तरी व्यास, राप्ला र सितोला गाउँमा छ ।

जिल्लामा अन्य जिल्लाबाट घुम्न आउनेहरूले प्रायः कोसेलीका रूपमा दार्चुलाको गलैंचा लैजाने चलन रहेको स्थानीय गंगोत्री बुढाथोकीले बताइन् । यहाँ उत्पादित सानो आकारको गलैंचाको मूल्य ७ हजार र ठूलोको मूल्य १५/२० हजार रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×