कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुध्रिएनन् राजमार्गका होटल

राजु चौधरी

काठमाडौँ — राजमार्गमा सञ्चालित प्रायः होटल सरकारी मापदण्डबाहिर रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मलेखु, मुग्लिङ र रामनगरका होटलमा गरेको अनुगमनमा होटल तथा रेस्टुरेन्ट स्तरीकरण गर्दा अनुगमन भएकामध्ये ३२ प्रतिशतभन्दा बढी होटल दर्ता नभएको भेटिएको छ । 

सुध्रिएनन् राजमार्गका होटल

सरसफाइमा ध्यान नदिई कानुनी प्रक्रिया पनि पूरा नगरी ती होटलले सञ्चालन भइरहेको विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले बताए । खाद्य स्वच्छताका आधारमा ११ होटलले मात्रै हरियो स्टिकर पाएका छन्, जसमध्ये एउटा होटलले दुई स्टारसहितको हरियो स्टिकर पाएको उनको भनाइ छ । ‘३७ होटल अनुगमन गर्दा एउटा होटलले दुई तारासहित हरियो स्टिकर पायो । एउटा तारासहित हरियो स्टिकर पाउने होटलको संख्या १० मात्रै रह्यो,’ सुवेदीले भने, ‘घ’ वर्गसहित सामान्य लेखिएको पहेंलो स्टिकर १४ होटलले पाए भने १२ होटलले स्टिकर नै पाएनन् ।’ खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशका–०७४ अनुसार होटल वर्गीकरण गर्न ५० वटा प्रश्नावली छन् ।


वर्गीकरण गर्दा होटलको बाहिरी परिधि सफा तथा फोहोरमुक्त भए/नभएको, भुइँ, भित्ता र सिलिङ सोस्ने/नसोस्ने, सजिलै सफा गर्न सकिने किसिमले बनाइएको/नबनाइएको र तिनीहरू ठीक अवस्थामा रहे/नरहेको लगायत आधारमा मूल्यांकन हुन्छ ।


यी विविध आधारमा अति उत्तम (तीन तारासहित हरियो), उत्तम (दुई तारासहित हरियो), सन्तोषजनक (एक तारासहित हरियो) र सामान्य (पहेंलो स्टिकर) लगाइन्छ । वर्गीकरणका क्रममा कम मात्र होटल, रेस्टुरेन्टको अवस्था सन्तोषजनक भेटिएको हो । वर्गीकरण गरिएका होटलले नियम उल्लंघन गरे एक महिनाभित्र सुधार गर्नुपर्छ । छ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार भएको नपाइए स्तरीकरण लोगो एक तह घटाउने वा खारेज हुन सक्छ । ‘सोही कार्यविधिअनुसार सुधार गर्न निर्देशन दिएका छौं,’ सुवेदीले भने । तर विभागबाट स्टिकरको अनुगमन प्रभावकारी भएको छैन । यसअघि विभागले निर्देशका जारी भएपछि राजमार्गका होटलको वर्गीकरण गरेको थियो । त्यस बेला मलेखु, रामनगर, मुग्लिङ, मकवानपुर, इटहरी, कोहलपुर, सिन्धुली, खुर्कोटलगायत राजमार्गमा स्टिकर वितरण गरिएको थियो ।


त्यसपछि पुनः फलोअप नभएको विभागका अधिकारी नै बताउँछन् । गत साता विभागको संयोजकत्वमा प्रहरी र उपभोक्ताकर्मीसहितको अनुगमनले पुनः होटलको वर्गीकरण गरेको हो । ‘चार वर्षको तुलनामा केही सुधार देखिए पनि सन्तोषजनक देखिएन,’ सुवेदीले भने, ‘सुधार गर्नुपर्ने पक्ष धेरै छन् ।


धाक्रेमा सञ्चालित होटलको अवस्था सबैभन्दा खराब रहेको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ती होटलले उपभोक्तासँग चर्को मूल्य असुलिरहेका छन् । ती क्षेत्रमा स्टिकर पनि वितरण नभएको तिमिल्सिनाको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि अनुगमनमा चासो दिएको छैन । उसले कहिलेकाहीँ उपत्यकाका होटलमा फाट्टफुट्ट अनुगमन गरे पनि राजमार्गमा चासो दिएको पाइँदैन । ‘चाडबाडमा अनुगमन भए पनि त्यसपछि कसैको चासो जाँदैन,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘उपभोक्ता ठगिनुमा आपूर्तिसँगै खाद्य प्रविधिको पनि गल्ती छ । राजमार्गमा अनुगमन निरन्तर हुनुपर्छ ।’


होटल सञ्चालकले बस चालकलाई खानासहित भत्ता पनि दिने र उपभोक्तालाई बिक्री गर्ने खाद्य वस्तुको गुणस्तरमा भने कम्प्रोमाइज गरेको अनुगमनमा संलग्न अधिकारी बताउँछन् । विभागले कफी सप एवं किराना पसलमा पनि अनुगमन गरेको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?