कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

डेढ अर्बका पुल अलपत्र

मोहन बुढाऐर

(धनगढी) — सुदूरपश्चिममा १ अर्ब ५० करोडभन्दा बढी लागतका १६ पक्की पुल निर्माण अलपत्र छन् । सरकारले हालै पास गरेको सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनले निर्माण कम्पनीलाई ०७७ फागुनसम्म पूरा गर्नुपर्ने मौका दिएको छ । त्यसै प्रावधानमा टेकेर उनीहरू योजनाको म्याद थप्न लागिपरेका छन् ।

डेढ अर्बका पुल अलपत्र

संशोधित नियमावलीमा समयमै नसकिएका ठेक्काको अन्तिम म्याद ०७७ फागुनसम्म समयसीमा तोकिएको छ ।


संघीय सडक डिभिजन कार्यालयले ०६६ देखि ०७२ को अवधिमा ठेक्का सम्झौता भएका निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले निर्धारित समयभित्र सम्पन्न हुन नसकेको बताएको छ । कार्यालयका अनुसार डोटी र डडेल्धुरामा सात, कैलाली–कञ्चनपुरमा चार, बाजुरामा दुई र बैतडीमा तीन वटा मोटरेबल पुल अलपत्र छन् ।


डोटी/डडेल्धुराका नौ पुलमध्ये सात वटा अधुरै रहेको डिभिजन कार्यालय डोटीका इन्जिनियर वीरेन्द्र चन्दले बताए । डडेल्धुराको भागेश्वर गाउँपालिकाको खुल्लाखेत र परशुराम नगरपालिकाको नाउली खोलाको पुल माघमा सम्पन्न भएको उनको भनाइ छ । ‘ती दुई पुल पनि म्याद सकिएपछि निर्माण सकिएकाले भुक्तानी फर्छ्योट हुन बाँकी छ,’ उनले भने । अन्य सात वटा निर्माणाधीन पुल निर्माण कम्पनीको लापरबाहीले समयमै सम्पन्न हुन नसकेको इन्जिनियर चन्दले बताए । डडेल्धुराको रडुवा खोलामा २ करोडमा सम्झौता भएको पुल अलपत्र रहेको उनको भनाइ छ । जागृति निर्माण सेवाले ६० प्रतिशत काम पनि पूरा नगर्दै अलपत्र छाडेको हो । त्यस्तै डोटी जोरायल गाडपुल कमरेली गाडको पुल निर्माणको काम ०६६ देखि अलपत्र छ । दुई वर्षभित्र काम सक्ने सर्तमा एसबीए, चन्द्रा एन्ड वसन्ता जेभीले २ करोड रुपैयाँभन्दा बढीमा ठेक्का सम्झौता गरेको थियो ।


डिकोई बिल्डर्स निर्माण कम्पनीले डडेलधुराकै सेरा गाड पुलको निर्माण अन्तिम चरणमा पुगेर रोकेको छ । दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त पुल कम्पनीले ०७१ मा ५ करोडमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भने ९० प्रतिशत प्रगति गरेको दाबी गरेको छ ।


सडक डिभिजन पाटनले दार्चुलाको धौली गाड, बैतडीको गौरी खोला र सुर्नाय गाडमा पुल निर्माण अलपत्र परेको जनाएको छ । दार्चुला धौली गाड पुल निर्माणको काम छ वर्षमा ३० प्रतिशत मात्रै भएको छ । उक्त पुलको ठेक्का आशिष कन्स्ट्रक्सनले २ करोड ३२ लाखमा ०७१ मा लिएको थियो । निर्माणको समयावधि १५ महिना तोकिएको थियो ।


बैतडी सुर्नाय गाडमा ०७१ मा पुल निर्माणको ठेक्का भए पनि काम अघि बढ्न सकेको छैन । ‘एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो,’ पाटन डिभिजनका इन्जिनियर हरीश जोशीले भने, ‘हालसम्म ४५ प्रतिशत काम भएको छ ।’ उनका अनुसार बैतडीको गोइडा खोलामा ०७४ मा सम्पन्न गरिसक्नुपर्ने पुल पनि अलपत्र पारिएको छ । रबिना कन्स्ट्रक्सनले २ करोड ७० लाखमा पुल निर्माण ठेक्का लिएको थियो । पुलमा हालसम्म ४६ प्रतिशत मात्रै काम भएको छ ।


बाजुराको बढी गंगामा काष्ठमाण्डौं मसिनादेवीले ५ करोडमा ०७१ मा ठेक्का सम्झौता गरेको थियो । हालसम्म ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन नसकेको साँफेबगर सडक डिभिजनका इन्जिनियर दमन विष्टले बताए ।


कैलाली र कञ्चनपुरमा चार वटा पुलको निर्माण काममा समस्या रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर लक्षमणदत्त जोशीको भनाइ छ । कञ्चनपुरको दोदा नदीको कालभकुन्डा, मोहना, दैजीको बल्मा नदी र कैलालीको गजुवा खोलमा पुल निर्माणमा ढिलासुस्ती भइरहेको उनले बताए । ०७१ मा ठेक्का सम्झौता भएको कञ्चनपुरको दोदा नदी पुल निर्माणको ५० प्रतिशत मात्र प्रगति भएको उनको भनाइ छ । शर्मा थेगिन नागार्जनु जेभीले तीन वर्षमा सम्पन्न गर्ने गरी २६ करोड ७१ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । दैजी सडक खण्डमा पर्ने बल्मा नदीमा ७ करोडको पुलको ठेक्का पनि एस एडभन्चर कम्पनीले अधुरै छाडेको छ । उक्त पुलको निर्माण ७० प्रतिशत रहेको इन्जिनियर जोशी बताउँछन् । थपिएको म्याद पनि गुज्रिसकेको छ ।


धनगढी र कञ्चनपुरलाई जोड्ने मोहना पुल निर्माण पूरा गर्न गत असारमा थप गरिएको म्याद पनि सकिइसकेको छ । उक्त पुलमा हालसम्म ६५ प्रतिशत मात्रै प्रगति भएको छ । पुलको ठेक्का ०७१ मा एलाइट एडभेन्चर कम्पनीले ८ करोड ४२ लाख रुपैयाँमा लिएको थियो । कैलालीको गजुवा नालामा पनि पुल बन्न सकेको छैन । गजुवा नालाको पुल योजनाको म्याद ०७५ माघमा सकिएको जोशीको भनाइ छ । त्यहाँ हालसम्म ८० प्रतिशत काम भएको छ । उक्त पुलको कुल बजेट २ करोड ६६ लाख हो । पुल नबन्दा बर्खामा डुँगा, नाउ तथा हिउँदमा काठे पुल हाल्दै आएको स्थानीयले बताए ।


कञ्चनपुरको दोदा नदीमै पर्ने अर्को ठूलो दुई सय मिटर लामो देखलभुती पुलको निर्माण सम्पन्न गर्नुपर्ने म्याद पनि सकिएको छ तर काम सकिएको छैन । लुम्बिनी, राजेन्द्र, कुमार श्रेष्ठ कम्पनीले ०७२ मा २४ करोडमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको छ ।


पप्पु र मेयरका ठेक्कामा झन् बढी समस्या

डडेलधुराको परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउद सञ्चालक रहेको राजेन्द्र निर्माण सेवा र कालोसूचीमा परेको पप्पु कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेका पुलमा बढी समस्या देखिएको छ ।


राजेन्द्र पप्पु जेभीले ०७१ मा २६ करोडमा ठेक्का लिएको डोटीको सेती नदी बान्डुरसैनी पुल निर्माण ठेक्का अलपत्र छ । ‘तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम हालसम्म २० प्रतिशत मात्रै भएको छ,’ इन्जिनियर चन्दले भने, ‘पुल निर्माणको म्याद ०७४ असारमै सकिइसकेको छ ।’ निर्माण कम्पनीले अहिले नवौं संशोधनमा टेकेर म्याद थपको प्रक्रिया अघि बढाएको छ । ‘नवौं संशोधनको सुविधा पाए पनि ०७७ फागुनसम्म निर्माण सक्न मुस्किल छ,’ इन्जिनियर चन्दले भने । डडेलधुराकै रंगुन नदीमा पुल निर्माणको ठेक्का लिएको अर्को योजना पनि समयमा सकिएको छैन । राजेन्द्र पप्पु, कुमार श्रेष्ठ जेभीले ०७१ मा १० करोडभन्दा बढी रुपैयाँमा रंगुन नदीमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त पुलले नगर प्रमुख साउदको परशुराम नगरपालिकाको वडा नम्बर १२ र ४ लाई जोड्छ । यो पुलको काम करिब ९० प्रतिशत सकिएको उनले बताए ।


राजेन्द्र चाँदनी जेभीले ०७२ मा ठेक्का सम्झौता गरेको डडेल्धुराको परछेटा गाड पुल पनि अधुरै छ । २ करोडमा ठेक्का सम्झौता भएको उक्त पुलको ५० प्रतिशत जति मात्रै काम भएको छ । राजेन्द्र चाँदनी जेभीले ०७२ मै ४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको डडेल्धुराको डाँडाबाघ पुल पनि अलपत्र छ । डिभिजन कार्यालयका अनुसार उक्त पुलमा हालसम्म ४५ प्रतिशत मात्रै काम भएको छ ।

मेयर साउदकै राजेन्द्र निर्माण सेवाले ठेक्का लिएको बाजुराको गुई गाड स्टिल ट्रस ब्रिजमा पनि समस्या देखिएको अछाम–बाजुरा सडक डिभिजन कार्यालय साँफेबगरका इन्जिनियर दमन विष्टले बताए । ‘सम्झौताअनुसार प्राविधिक समस्या देखिएकाले ठेकेदार कम्पनीले पुनर्निर्माण गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?