कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिस्टम डाउन हुँदा तेल आयात असहज

कान्तिपुर संवाददाता

झापा — पेट्रोलियम निर्यातमा भारतले लागू गरेको नयाँ अनलाइन प्रणालीका कारण आयातमा आएको कठिनाइले झापालगायत मेचीका जिल्लामा पेट्रोलियम अभाव भएको छ । 

अनलाइन सिस्टम डाउन भएका कारण भारतीय भन्सारमा भएको ढिलासुस्तीले चार दिनदेखि तेल आयातमा समस्या भएको नेपाल आयल निगम चारआली डिपोले जनाएको छ । समयमै आयात नहुँदा झापासहित मेचीका धेरै पम्पमा तेल अभाव भएको हो । यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ ।


नयाँ सिस्टमका कारण आयातमा समस्या भोग्नुपरेको आयल निगम चारआली डिपोका प्रमुख विपिनकुमार श्रेष्ठले जनाए । यद्यपि बुधबारबाट झापासहितका जिल्लामा तेल आपूर्ति सहज बन्ने उनको दाबी गरे । ‘मंगलबार साँझ २३ वटा गाडी पास भएका छन्, बुधबारदेखि सबैतिर सहज रूपमा तेल पाइन्छ,’ उनले भने ।


झापाका केही पम्पले मात्रै मंगलबार तेल वितरण गरे । धेरैजसो पम्पले ‘तेल छैन’ लेखेको सूचना टाँसेका थिए । उपभोक्ताले भने नेपाल आयल निगमले तेलको मूल्य घटाएका कारण पम्पहरूले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन् । ‘तेलको मूल्य घट्नेबित्तिकै पम्पहरूमा तेल छैन,’ बिर्तामोडका स्थानीय प्रभुनारायण साहले भने, ‘हिजोसम्म पाइएको तेल आज किन छैन ?’


नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइरालाले व्यवसायीका कारण तेल अभाव नभएको दाबी गरे । ‘व्यवसायीका कारण नभएर भारतीय भन्सारले लागू गरेको अनलाइन सिस्टमका कारण तेल अभाव भएको हो,’ उनले भने । मेचीका चार जिल्लामा दैनिक पेट्रोल सय केएल र डिजेल अढाइ सय केएल खपत हुने गरेको चारआली डिपोको भनाइ छ । सोमबार राति इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाइएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?