कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

पेट्रोलियम पाइप लाइनको रेखांकन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन विस्तारका लागि प्रारम्भिक रेखांकन सुरु गरिएको छ । भारत, पश्चिम बंगालको सिलिगुडी–चारआली (झापा) सम्मको पाइप लाइनका लागि भारतीय टोलीले प्रारम्भिक रेखांकन थालेको हो । 

पेट्रोलियम पाइप लाइनको रेखांकन

माघ २९ मा भारतीय आयल निगमको प्रतिनिधिमण्डलले पाइप लाइनका लागि सम्भावित क्षेत्रको भ्रमण गरेको नेपाल आयल निगम चारआली डिपोका प्रमुख विपिनकुमार श्रेष्ठले जानकारी दिए । टोलीले सीमावर्ती भारतीय बजार बतासी र नेपालीतर्फ सतिघट्टा एवं ज्यामिरगढी क्षेत्रमा सम्भाव्यता अध्ययन गरेको थियो । टोलीले पाइप लाइन विस्तारका क्रममा मेची, निन्दा र हडिया तीन नदीको समेत अध्ययन गरेको उनको भनाइ छ । कतिपय स्थानमा भूमिगत रूपमा पाइप लाइन विस्तार गर्न सकिने भारतीय अधिकारीको अनुमान थियो । ‘फिल्ड भ्रमणको प्रतिवेदन भारतीय आयल निगमलाई बुझाइनेछ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै श्रेष्ठले भने, ‘त्यसपछि बजेट निकासालगायत अन्य कामसँगै पाइप लाइन निर्माणको काम सुरु हुनेछ ।’


भारतीय आयल निगम सिलिगुडी डिपोदेखि झापाको चारआलीसम्मको दूरी करिब ५० किमि हो । यो दूरी अझै कम गरेर पाइप लाइन सुरु गर्न सकिने भारतीय अधिकारीले जनाएका थिए । ‘दूरी सक्दो कम गरेर पाइप लाइन ल्याउने योजना छ,’ श्रेष्ठले भने । पुस २७ र २८ मा नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालले सिलिगुडी–चारआली दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइप लाइनको सम्भावता अध्ययनका लागि भारतलाई आग्रह गरेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्रकुमार गोइतले बताए ।


यस विषयमा नेपाल–भारत वाणिज्य तथा आपूर्ति सचिवस्तरीय छलफल भइसकेको छ । भारतीय आयल निगमको टोलीले सरकारलाई प्रतिवेदन बुझाएपछि काम सुरु हुने संकेत देखिएको छ । ‘सिलिगुडी–झापा पाइप लाइन विस्तारले हामीलाई फाइदा छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?